धनगढीमा पनि ट्रियो इलेक्ट्रिक अटो- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनगढीमा पनि ट्रियो इलेक्ट्रिक अटो

कान्तिपुर संवाददाता

काठमाडौँ — महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक तीन पांग्रे विद्युतीय अटो धनगढीमा सार्वजनिक गरेको छ । लिथियम–आइओन ब्याट्रीमा सञ्चालित यो अटो शुक्रबार धनगढीमा सार्वजनिक गरिएको हो । 

यसअघि बुटवल, चितवन, हेटौंडा लगायतका शहरमा ट्रियो अटो गुड्न थालिसकेका छन् । अटो ‘सफ्ट टप’ भेरियन्टको मूल्य ८ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

अग्नी इनर्जीको धनगढीका लागि आधिकारिक बिक्रेता सेन्ट्रल अटो जोन प्रालिका प्रबन्ध निर्देशक बीएण्डए अटोमोटिभ्स प्रालिका प्रबन्ध निर्देशक अभिनाश चौधरी, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, महिन्द्रा एलएमएमका निर्यात प्रमुख हिमांशु अग्रवाल तथा अग्नी इनर्जीका वरिष्ठ कार्यकारी व्यवस्थापक प्रमोद पोखरेलका साथै धनगढी उपमहानगरपालिका वडा सदस्यहरुको उपस्थितिमा धनगढीमा अटो सार्वजनिक गरिएको हो ।


प्रकाशित : मंसिर १२, २०७८ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्

सौराहाको पर्यटनमा तरंग

रमेशकुमार पौडेल

सौराहा, चितवन — एमालेको १० औं महाधिवेशनले सौराहाको पर्यटन क्षेत्रमा तरंग ल्याएको छ । नारायणगढमा भएको उद्घाटन कार्यक्रम सकिए लगत्तै २० किलोमिटर पर रहेको बन्दसत्र स्थल पुग्न शुक्रबार साँझ प्रतिनिधिहरुलाई हम्मेहम्मे पर्‍यो । भीडका कारण राजमार्गमा लागेको जामले घन्टौं लगाएर प्रतिनिधिहरु मध्यराततिर सौराहा पुगे ।

‘तर होटलमा राम्रो सत्कार पाइयो । हिजो मात्रै हैन सौराहा बस्ने भनेर अस्ति पनि रातमा साथीहरु आएका रहेछन् । रात परे पनि नरिसाएरै सेवा दिने होटल सञ्चालकहरु रहेछन्,’ झापाबाट महाधिवेशन प्रतिनिधि रहेकी विद्यार्थी नेता अनिता कन्दङ्वाले भनिन् । झन्डै २२ सय प्रतिनिधि र त्योभन्दा धेरै संख्यामा आएका पार्टीका समर्थक शुभेच्छुकका कारण सौराहा अहिले भरीभराउ छ ।

सौराहामा अहिले एमालेको महाधिवेशनसँग सम्बन्धित बाहेकका व्यक्तिहरु अत्यन्तै न्यून मात्रामा आएको व्यवसायीहरु बताउँछन् । सौराहाका हरेक होटल भरिभराउ छन् । यहाँका सवा सय होटलहरुमा झन्डै साढे ६ हजार बेड छन् । ती कुनै खाली नरहेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले बताए । महाधिवेशनमा आएकाहरु घुमघाम र खानपानमा पनि रमाइरहेका भेटिन्छन् ।

सौराहामा वन्यजन्तु अवलोकनका लागि चितवन निकुञ्ज घुम्न आउने पर्यटकहरु बास बस्ने ठाउँ हो । कोरोना संक्रमण फैलिएपछि पर्यटक नआउँदा दुई वर्षयता सौराहा सुनसान बनेको थियो । ‘कोरोनापछि सौराहाका होटलहरु भरिभराउ भएको यही बेला हो,’ क्षेत्रीय होटल संघ सौराहाका वरिष्ठ उपाध्यक्ष राममणि खनालले भने । व्यवसायीहरु होटलको कोठा भरिभराउ भएपनि अन्य क्षेत्रको कारोबार त्यो अनुरुपको नभएको बताउँछन् ।

‘यो राजनैतिक कार्यक्रम हो । मुख्य दलकै महाधिवेशनमा अन्य खानपान त्यो विधि छरपस्ट नहुने भएको हुँदा रुम भरिभराउ भएपनि रेष्टुरेन्टको कारोबार त्यो अनुरुपको छैन । तर समग्रमा अवस्था उत्साहजनक नै छ,’ खनालले भने । बन्दसत्रका कारण महाधिवेशनमा आएकाहरु खुलेर घुमघाममा निस्केका छैनन् । ‘हात्ती सफारी र जीप सफारी चलेको छ । रुम बुक भएको तुलानामा सफारीमा चाप भने कमै छ,’ हात्ती सफारी सञ्चालन गर्ने युनाइटेड हात्ती सञ्चालक सहकारी संघ लिमिटेडका अध्यक्ष ऋषि तिवारीले भने ।

बन्दसत्र स्थल होटल सेभेन स्टार बाहिर बनेको डोमदेखि अन्य होटल र सडकसम्म मान्छे नै मान्छे भरिएका देखिन्छन् । साँझपख सूर्यास्तको रौनक नियाल्दै खानपान गर्न पाइने राप्ती किनारको पबका कुर्सी पनि खाली हुन पाएका छैनन् । प्रतिनिधिहरु मात्रै हैन प्रतिनिधि र अन्य नेताका साथ लागेर आएका समर्थकहरुको ओहोरदोहर चलिरहेको छ । सौराहा क्षेत्रमा ट्राफिक जाम हुन नदिन प्रहरी खटेका छन् ।

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रहेका भगवान थापाका अनुसार सौाराहामा ४० जना ट्राफिक प्रहरी यातायात व्यवस्थापनका लागि खटेका छन् । यति नै संख्याका प्रहरीले अरु बेला पूरा चितवन धान्ने गर्दथे । जिल्लामा ट्राफिक प्रहरीले अपुग हुने भएपछि बाहिरी जिल्लाबाट ल्याइएको छ । कोरोनाले लामो समय ठप्प भएको व्यवसायमा यो जमघटले धार लगाउने काम गरेको व्यवसायी बताउँछन् ।

‘कोरोनाका कारण समग्र सौराहामा होटलका पकाउने भाँडाकुँडामा खिया पो लाग्ने हो कि, रुममा कमिला धमिरा सल्कने पो हुन् कि भन्ने अवस्था थियो । तर, अधिवेशनको यो माहौलले सवैलाई भाँडा र कोठा सफा गर्ने अवसर दियो,’ होटल मोनालिसाका सञ्चालक केशव खनालले भने । सौराहाका हकमा पहिलो पटक ठूलो आयोजना सम्पन्न गर्न लागेका कारण केही समस्या पनि आएको बताए ।

‘सौराहाका होटलहरुको प्रकृति अलि फरक खालको हो । यहाँ जंगल घुम्न आउने पर्यटक बास बस्ने गर्दछन् । त्यही अनुसार यहाँका होटलले पाहुनालाई सेवा दिइरहेका हुन्छन् । यो अलि भिन्न माहौलको कार्यक्रम भयो । एकै पटक धेरैलाई सेवा दिँदा सन्तुष्ट पार्न नसक्ने पनि हुन सक्छ,’ खनालले भने । दोलखाबाट अधिवेशनको माहोल हेर्न आएका हिरा ठोक्कर सौराहा आएपछि सफारी गर्न सबै इच्छुक हुने बताए ।

‘तर जीप सफारी जंगलैजंगल लगे धेरै जनावरहरु देख्न पाइन्थ्यो होला । गाउँ पनि हुँदै जाँदो रहेछ,’ ठोक्करले भने । मकवानपुरबाट आएका चिरञ्जीवी पौडेलले सौराहाको सत्कारमा गुनासो गर्नुपर्ने अवस्था नरहेको बताए । होटल पार्क सफारीका सञ्चालक महेश खनालले एकै पटक ठूलो संख्यामा मान्छे आउँदा पनि व्यवस्थापन गर्न सकेको बताए । ‘को आउने हो, कहाँ राख्ने हो भन्ने पहिल्यै तय भएको हुँदा सजिलो भयो,’ खनालले भने ।

यातायात व्यवस्थापन अलि असहज जस्तो देखिए पनि यो माहोलले सौराहाका पर्यटन उकासिने देखेर व्यवसायीलाई उत्साहित बनाएको उनले बताए । ‘भीडभाड छ । चहलपहल उल्कै छ । जंगल घुम्न मात्रै हैन खान रमाउन र हात्ती गैंडाका मूर्ति अगाडि बसेर फोटो पनि खिच्न भ्याएकै छन् । तर पनि सौराहाका त्यो विधि हो हल्ला छैन । फोहर पनि गरेका छैनन्,’ सौराहा गैंडाचोक अगाडि प्राभिजनल पसल राखेका पूर्ण रिजालले भने ।

हात्ती चोकमा भेटिएका पार्टीका स्वयंसेवक देव पाठकले समस्या पर्‍यो, अफ्ठ्यारो पर्‍यो भन्ने ठूलो गुनासो र चर्चा परिचर्चा नसुनेको बताए । एमाले केन्द्रीय सदस्य गोकुल घर्तीले पनि असन्तुष्टि खासै नआएको प्रतिक्रिया दिए । सौराहामा प्रतिनिधिहरुका लागि खान र बस्न महाधिवेशन आयोजकहरुका तर्फबाट होटल संघमार्फत झन्डै दुई करोडको सम्झौता भएको थियो । यो बेला अन्य कारोबार पाँच करोड रुपैयाँभन्दा धेरै हुने क्षेत्रीय होटल संघ सौारहाका अध्यक्ष दिपक भट्टराईले बताए ।

प्रकाशित : मंसिर १२, २०७८ १३:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×