१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नबिल बैंकले ल्यायो सामाजिक उद्यमशीलताका कार्यक्रम

काठमाडौँ — नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम सुरु गरेको छ । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम शुरु गरिएको नबिलले जनाएको छ ।

नबिल बैंकले ल्यायो सामाजिक उद्यमशीलताका कार्यक्रम

स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तीय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यका साथ हाललाई यस कार्यक्रमले सामाजिक उद्यमशीलता प्रमाण पत्र कार्यक्रम र फेलोशिप गरी दुई किसिमका कार्यक्रम तय गरेको छ ।

सुरुआती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका विभिन्न स्कुल, कलेज तथा विश्वविद्यालयसँग सम्झौता गरेको छ । जसअनुसार प्रदेश १ मा महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस, प्रदेश २ मा वीरगंज पब्लिक कलेज, वागमतीमा क्याम्पियन कलेज, गण्डकीमा फ्याकल्टी अफ ह्युमानिटिज एन्ड सोसल साइन्स, पोखरा विश्वविद्यालय, लुम्बिनीमा क्षितिज इन्टरनेसनल कलेज, कर्णालीमा सुर्खेत मोडल कलेज, सुदूर पश्चिममा सुदूर पश्चिमाञ्चल एकेडेमीसँग बैंकले सम्झौता गरेको छ ।

यो कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेजसँग सहकार्य गरी वार्षिक ७ सय विद्यार्थीहरुलाई सामाजिक उद्यमी बन्ने अवसर दिलाउने बैंकको दावी छ । त्यसैगरी फेलोसिप कार्यक्रम आवासीय तालिममा आधारित हो, जुन काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग बैंकले सम्झौता गरेको छ ।

एक वर्षसम्मको आवश्यक सहयोगसहित ४० सहभागीलाई संलग्न गराउने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ। यो कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिहरुलाई उद्यमशीलताको तालिम दिइने छ । उनीहरुका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध हुनेछ । सम्भाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्ति यी दुबै मध्ये कुनै एक कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

दुबै कोर्स पुरा गरेका व्यक्तिले उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल अपनाउँदै बैंकबाट ऋण लिएर सामाजिक उद्यम शुरुआत गर्न सक्ने बैंकले जनाएको छ । उनीहरुले शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जीविकोपार्जन, उर्जा र जलवायु परिवर्तन जस्ता क्षेत्रहरुमा लगानी गरी सामाजिक उद्यमशीलता विकास गर्न सक्नेछन् । सहभागीले सामाजिक उद्यम संचालनको तरिकासँगै आधारभूत कानूनी तथा कर सम्बन्धीका ज्ञान पनि पाउनेछन् ।

लघु वित्त, संस्था व्यवस्थापन, परियोजना संचालन तथा व्यवस्थापन, प्रस्तुति कला, आफ्ना वस्तु तथा सेवाको बजारीकरण जस्ता विषयलाई समेत तालिममा समावेश गरिएको छ । यसले गर्दा यो तालिम व्यवसाय सुरुआत तथा संचालनमा मात्र सीमित नभएर उद्यमीको व्यक्तित्व, नेतृत्व र विविध सीप विकाससँग समेत जोडिएको छ । यसरी व्यवसाय संचालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानका साथै कर्जाका लागि समेत सहयोग गरिने भएकाले यो कार्यक्रमले नयाँ उद्यमीलाई सफल र सक्षम बनाउन रचनात्मक सहयोग पुग्ने बैंकको दावी छ ।


प्रकाशित : मंसिर १२, २०७८ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?