महिन्द्राको ट्रियो इलेक्ट्रिक अटो अब चितवनमा - बजार - कान्तिपुर समाचार

महिन्द्राको ट्रियो इलेक्ट्रिक अटो अब चितवनमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन ब्याट्रीको थ्री ह्विलर चितवनमा सार्वजनिक गरेको छ ।

अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी तथा महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले भरतपुर–९, हाकिमचोकमा ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो । महिन्द्रा ट्रियो अटोको ‘सफ्ट टप’ भेरियन्टमा ८ लाख ४० हजार रुपैयाँ मूल्य तय गरिएको छ ।

अटो महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । ट्रियोसँग ग्राहकले पेट्रोल अटोको तुलनामा वार्षिक दुई लाख रुपैयाँ बचत गर्न सक्ने कम्पनीको दावी छ ।

चितवनका लागि बिक्रेता सेन्ट्रल अटो जोन प्रा.लिका प्रबन्ध निर्देशक राजेन्द्र बाटाजुका अनुसार महिन्द्रा ट्रियो किन्नेले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् । अटोको अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ ।

यस सवारी साधनमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध छ । पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी प्रदान गर्ने कम्पनीले जनाएको छ । ८ युनिट बिजुलीमा फुल चार्ज हुने र प्रति युनिट १२ का दरले फुल चार्जमा १२० किलोमिटर गुड्ने कम्पनीको दावी छ ।

८ किलोवाटको ऊर्जा शक्ति र ४२ एनएमको टर्क यसले उत्सर्जन गर्नेछ । प्रतिघण्टा ५५ किलोमिटर (केएमपीएच) सम्मको स्पिड लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १५ एम्पियर सकेटमा जोडेर सजिलै ब्याट्री चार्ज गर्न सकिन्छ ।


प्रकाशित : मंसिर ८, २०७८ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश सरकारले हटाए कानुनी लडाइँ लड्छु : सदस्य सचिव बस्नेत

कान्तिपुर संवाददाता

मोरङ — प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले नवगठित प्रदेश सरकारले हटाउने निर्णय गरे कानुनी लडाइँ लड्ने बताएका छन् । तत्कालीन भीमप्रसाद आचार्य नेतृत्वको सरकारले सामाजिक विकास मन्त्री अध्यक्ष रहने गरी असोज ४ गते बोर्ड गठन गरेको थियो ।


बोर्डले हालसम्ममा बैठक सञ्चालन कार्यविधि, प्रदेश १ स्थित १४ वटै जिल्ला खेलकुद विकास समिति गठन गरेको थियो । साथै संघीय सरकारबाट प्राप्त १ करोड ५ लाख बजेट १४ वटै जिल्लास्थित २६ वटा योजनामा बिनियोजन समेत गरेको थियो ।

सदस्य सचिव बस्नेतले बुधबार पत्रकार सम्मेलन गरी हालसम्म गरेका कामकाजका साथै अगामी कार्ययोजना सार्वजनिक गरे । ‘बोर्डको कार्यालय व्यवस्थापन लगायत सम्पूर्ण काम गरेर खेलाडीहरूका लागि काम गर्ने योजना ल्याएका छौं,’ उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडीहरूलाई आवश्यक कानुन निर्माण गरी मासिक प्रोत्साहन भत्ता लागु गर्ने निर्णय गरेका छौं ।’

५ वर्षभित्र प्रदेशस्तरीय स्पोर्ट्स एकेडेमी सञ्चालनमा ल्याउने, खेल मैदानको स्तरोन्नति गर्ने, विद्यालयदेखि विश्वविद्यालयसम्म खेल प्रशीक्षक नियुक्त गर्ने लगायत योजना उनले सार्वजनिक गरे । यसवाहेक बृहत खेलकुद महोत्सव र प्रदेशस्तरीय महिला खेलकुद महोत्सव २०७८ आयोजना गर्ने उनले बताए ।

यता, मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारले तत्कालीन भीमप्रसाद आचार्य नेतृत्वको सरकारले गरेको नियुक्ति पुनरावलोकन गर्ने निर्णय गरेको छ । नयाँ सरकार गठन भएदेखि बोर्डको हालसम्म बैठक बस्न सकेको छैन ।

बोर्डको अध्यक्ष रहेको सामाजिक विकासमन्त्री जयराम यादव बैठकमा नआइदिए बोर्डको गतिविधि अघि बढ्न नसक्ने अवस्था छ । सदस्य सचिव बस्नेतले भने मन्त्री यादव बोर्डको बैठकमा आउने विश्वास व्यक्त गरे । उनले ऐन र नियमको आधारमा बोर्ड गठन भएकोले मन्त्रीले खेलाडीको हितका लागि प्रोत्साहन गर्ने बताए ।


प्रकाशित : मंसिर ८, २०७८ १८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×