आइएमई अफरको असोजका विजेता छनोट- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आइएमई अफरको असोजका विजेता छनोट

सेवाग्राही रेखा र गोकुलले पाए पठाइएको रकमको चार गुणा बढी रकम
कान्तिपुर संवाददाता

काठमाडौँ — आइएमई रेमिट्यान्स कम्पनीको दशैं पर्व लक्षित डबलको डबलको डबल अफर अन्तर्गत असोज महिनाको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राही द्वय रेखा राई र गोकुल थापा मगर विजेता भएका छन् । 

पानीपोखरीस्थित कार्यालयमा विहीबार आयोजित फेसबुक लाइभ मार्फत उक्त नजिता सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

विजेताहरुले अमेरिकास्थित रिया फाइनान्सियल सर्भिस र युएईस्थित अल अन्सारी एक्सचेन्जमार्फत आइएमईबाट नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । अफर अनुसार आइएमईले विजेताको सिफारिसमा आफन्तलाई पठाएको रकमको चार गुणा बढी रकम उपहार स्वरूप प्रदान गर्नेछ ।

यसैगरी तेस्रो र चौथो हप्ताका विजेता पनि सार्वजनिक गरिएको छ । साप्ताहिक विजेता अन्तर्गत सुनिल मगर, छत्र बहादुर जिमी, विकाश खजुम र भानु आचार्य छनोट भएका छन् । उनीहरुलाई पठाएको रकमको दोब्बर रकम उपहार स्वरूप प्रदान गरिनेछ ।


प्रकाशित : कार्तिक ५, २०७८ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्

मद्रासकी ‘अम्मा’  

पुरुषवादी समाजभित्रबाट माथि उठेर शक्तिशाली बनेकी जयललिताको जीवनमा आधारित फिल्म ‘थलाइवी’ ले नेपाली दर्शकलाई साहस भरिदिन सक्छ ।
जगदीश्वर पाण्डे

काठमाडौँ — दक्षिण भारतमा पर्छ तमिलनाडु राज्य । यसको राजधानीको पुरानो नाम हो– मद्रास । नेपालका ज्येष्ठ नागरिकहरू अहिले पनि कुराकानीमा मद्रास शब्दसँग लगाव देखाउँछन् । नयाँ पिँढी भने मद्रासको नयाँ नाम चेन्नाईसँग परिचित छन् । क्षेत्रफलका हिसाबले तमिलनाडु नेपालभन्दा केही मात्रै सानो छ । तर, त्यहाँ नेपालभन्दा ५ करोड बढी जनसंख्या छ । तमिलनाडुको ठीक तल श्रीलंका पर्छ ।

‘बे अफ बंगाल’ को तटीय क्षेत्रदेखि दक्षिणमा अरेबियन समुद्र र हिन्द महासागरलाई समेत छोएको तमिलनाडुमा करिब ५५ वर्षदेखि भारतका अन्य राज्यभन्दा फरक आफ्नै राजनीतिक शैली भेटिन्छ । त्यस ठाउँलाई भाषाको राजनीति चल्ने राज्यको रूपमा लिइन्छ । त्यहाँ हिन्दी भाषाका नाममा महात्मा गान्धीको फोटो भएको नोटको मात्रै काम हुन्छ । राज्यका शतप्रतिशत जनता तमिल भाषा बोल्छन् ।

पुरुषको नेतृत्व हुने र महिला घरदैलोमै रहने दक्षिण एसियाली परम्परा तमिलनाडुमा पनि छ । तर, पितृसत्ताले जकडिएको भिडमा अचानक एक शक्तिशाली महिला–नेत्री उदाइन् । उनी एक नेता वा मन्त्री मात्रमै सीमित रहिनन्, दुई दशकभन्दा बढी अल इन्डिया अन्ना द्रब्रिड मुन्नेत्र कज्हगम (एआईए–डीएमके) पार्टी नेतृत्व गर्दै ६ पटक तमिलनाडुको मुख्यमन्त्री नै भइन् । १४ वर्षभन्दा बढी मुख्यमन्त्री पदमा रहिन् । ती चर्चित नेत्रीको नाम हो– जयराम जयललिता, जसलाई तमिलनाडुमा आदर र माया गर्नेहरू ‘अम्मा’ नामले बोलाउँछन्, चिन्छन्, सम्झन्छन् । सन् १९९१ मा पहिलोपटक राज्यको मुख्यमन्त्री भएकी जयललिता सन् २०१६ मा चेन्नाईको अपोलो अस्पतालमा अन्तिम स्वाश लिँदा पनि मुख्यमन्त्री नै थिइन् ।

जयललिता एक समय दक्षिण भारतका ५ राज्यमध्येकै शक्तिशाली मुख्यमन्त्री रहिन् । केन्द्रमा इन्दिरा गान्धीदेखि राजीव गान्धी, अटल बिहारी बाजपेयी, मनमोहन सिंहजस्ता हस्तीहरू हुँदै नरेन्द्र मोदी आइपुग्दासमेत जयललिताले सबैसँग एक किसिमको सम्बन्ध राखेर सधैं चर्चामै रहिन् । तिनै जयललिताको जीवनमाथि एउटा फिल्म बनेको छ– ‘थलाइवी’ ।

केही दिनअघि रिलिज भएको त्यस फिल्म तमिल, तेलगु र हिन्दी भाषामा निर्माण गरिएको हो । फिल्मका निर्देशक तमिल फिल्म उद्योगका कलाकार एएल विजय हुन् । जयललिताको भूमिकामा चर्चित नायिका कंगना रनावत छिन् । जयललिताको सन् १९६० को दशकको फिल्मी करिअरदेखि सन् १९९१ मा पहिलो पटक मुख्यमन्त्री हुँदासम्मका घटनाक्रमका केही मुख्य झलक समेटेर फिल्म बनाइएको छ । भाषाकै राजनीतिको दबदबा भएको राज्यमा जयललिताले कसरी आफूलाई अब्बल साबित गर्दै अघि बढ्न सफल भइन् भन्ने फिल्ममा देखाइएको छ ।

एआईए–डीएमकेको पहिलो अध्यक्ष तथा आफ्ना राजनीतिक र फिल्मी करिअरकै गुरु एमजी रामाचन्द्रन (एमजेआर) को सन् १९८७ मा मृत्यु भएपछि जयललिताले पार्टीलाई सन् २०१६ सम्मै नेतृत्व गरिरहिन् । कांग्रेसको दबदबा रहेको तमिलनाडुमा सन् १९६७ को राज्यसभा निर्वाचनमा पहिलोपटक द्रब्रिड मुन्नेत्र कज्हगम (डीएमके) शक्तिको रूपमा उदायो । केन्द्रीय सरकारले मुलुकभरि एउटै आधिकारिक हिन्दी भाषा लागू गर्ने निर्णयको विरोध सफल भएपछि तमिलनाडुका जनताले घरेलु पार्टी डीएमकेलाई जिताएका थिए । डीएमकेको विजयपछि अन्नादुराई पहिलोपटक मुख्यमन्त्री बने । उनको मृत्युपछि एम. करुणानिधिले पार्टीको नेतृत्व सम्हाले । पहिले डीएमके पार्टीभित्रै आबद्ध चर्चित कलाकार एमजेआरले करुणानिधिसँग सम्बन्ध बिग्रिएपछि सन् १९७२ मा आफ्नै नेतृत्वमा एआईए–डीएमके खोले । र, दुईपटक मुख्यमन्त्री पनि भए ।

सुरुआतमा रामचन्द्रनले पार्टीलाई अघि बढाए पनि उनको मृत्युपछि जयललिताले पार्टी हुर्काउने काम गरिन् । र, तमिल जनतामाझ लोकप्रिय क्षेत्रीय पार्टीको रूपमा स्थापित गरिन् । उक्त पार्टी अहिले तलिमनाडु राज्यको प्रमुख प्रतिपक्ष दल बनेको छ । जयललिताको मृत्युपछि भएको पहिलो विधानसभा निर्वाचनमा एआईए–डीएमके पार्टीलाई करुणानिधिका छोरा एमके. स्तालिनको नेतृत्वमा रहेको डीएमकेले हराएर सत्तामा आएको हो । जयललिता भएको भए डीएमकेलाई उक्त अवसर सिर्जना गर्न गाह्रो पर्ने थियो । किनभने जयललिताको मृत्युपछि पार्टीको नेतृत्व विवादमा फसेको छ ।

तमिलनाडुको राजनीति थाहा पाएका र जयललितालाई बुझेका दर्शकका लागि यो फिल्म फिक्का लाग्न सक्छ । किनकि फिल्मले उनका जीवनका अन्य मुख्य क्षण पनि समेट्न सकेको छैन । जयललिता पहिलो पटक मुख्यमन्त्री बनेपछि फिल्म सकिन्छ । र, फिल्ममा उनले सुरुआती दिनमा पाएका दुःख/कष्ट र गुणलाई मात्रै बढी केन्द्रित गरिएको छ । फिल्मी र राजनीतिक करिअरमा संघर्ष गरे पनि उनी मुख्यमन्त्री भएपछि राज्यमा उनले प्रेस र पत्रकारमाथि मुद्दा लगाउँदै दिएका धम्की अहिले पनि चर्चामै छन् ।

२ घण्टा ३३ मिनेटमा जयललिताका जिन्दगीका सम्पूर्ण पाटा समेट्न गाह्रो हुन्छ । तर, मुख्यमन्त्री बनेपछि बढी उतारचढाव रहेको जयललिताको शासनकाल नसमेट्दा फिल्म खल्लो बनेको छ । सहरमा गरिब जनताले सस्तोमा खाना पाऊन् भनेर उनले खोलेका ‘अम्मा क्यान्टिन’ बारे पनि फिल्ममा देखाइएको छैन । ‘अम्मा क्यान्टिन’ अहिले पनि जनतामाझ चर्चित छ । उनीमाथिका भ्रष्टाचार आरोपबारे पनि फिल्म मौन छ । फिल्ममा उनी पहिलो पटक विधानसभा निर्वाचनमा छिर्दा करुणानिधि र उनका मन्त्री तथा सांसदले गरेको दुर्व्यवहारलाई विशेष रूपमा प्रस्तुत गरिएको छ । त्यो घटना सन् १९८९ मा भएको थियो, जसमा डीएमकेका पुरुष विधायकहरूले जयललितामाथि दुर्व्यवहार गरेका थिए । तर, त्यस घटनामा सुरुआतमा एआईए–डीएमकेका विधायकहरूले विपक्षीमाथि गरेको दुर्व्यवहारलाई समेत समेटेर सन्तुलिन रूपमा फिल्ममा देखाउन खोजिएको छैन । फिल्ममा जयललितालाई राजनीतिक खुबी भएको, चतुर र रणनीतिक महिला नेतृको रूपमा प्रस्तुत गरिएको छ ।

जयललिताले जनतालाई अभिवादन–सम्बोधन गर्दा प्रयोग गर्ने सिग्नेचर स्टाइल कपी गरेकी छन् अभिनेत्री कंगनाले । उनी अभिवादन र सम्बोधन गर्ने क्रममा दायाँ हातको दुइ औंला उठाएर हात हल्लाउँथिन्, जसलाई फिल्मको पोस्टरमा पनि महत्त्वका साथ छापिएको छ ।

दोस्रो पटक विवाहित रामचन्द्रन र अविवाहित जयललिताबीच कुन किसिमको सम्बन्ध थियो भन्ने फिल्मले प्रस्ट पारेको छैन । फिल्म र राजनीतिक करिअरमा रामचन्द्रनले जयललितालाई किन एकपछि अर्को सहयोग गरिरहे भन्नेबारे प्रश्नहरू उठेका थिए । रामचन्द्रन र जयललिता नजिक रहेर धेरै फिल्ममा काम गरे । र, एक समय उनीहरूको जोडी हिट थियो । त्यसबेला पनि उनीहरूको सम्बन्धलाई लिएर प्रश्न उठाइएको थियो, जसलाई फिल्ममा पनि त्यही रूपमा प्रश्नै उठाएर देखाइएको छ । तर, अहिलेसम्म थाहा पाउन नसकिएको त्यसको उत्तर फिल्मले दिन खोजेको छैन । रामचन्द्रन र जयललिता बीचका उतार–चढाब पनि फिल्ममा देखाइएको छ । फिल्ममा आफ्नो उत्तराधिकारी बनेर पछि आफैंलाई टक्कर दिन सक्छिन् भन्ने मनोविज्ञानबाट प्रेरित रामचन्द्रनले जयललितालाई राजनीतिमा पटक–पटक अघि बढ्नबाट रोक्ने कोशिस गरेको देखिन्छ । नखुलेका पाटा खुलाइएको भए फिल्म अझै बलियो हुनेथियो । फिल्ममा आम चर्चाका विषयलाई भावनात्मक रूपमा जोडजाड मात्रै गरिएको छ । फिल्मी परिवारमा जन्मेकी जयललितालाई उनकै आमाले अभियन गर्न प्रेरित गरेकी थिइन् भने राजनीतिमा आउन रामचन्द्रनले प्रेरणा दिए । लामो समय मुख्यमन्त्री बने पनि जयललिताले जनताका दुःखलाई दीर्घकालीन होइन बरु अस्थायी ढंगले समाधान गर्ने रणनीति अपनाएकी थिइन् ।

जयललिताको मृत्युपछि चेन्नाईको आरके नगरमा उपनिर्वाचनका दौरान म त्यहाँ पुग्दा स्थानीय जनताले खानेपानीको समस्या सुनाएका थिए । झन्डै एक दर्जन स्थानीयले भनेका थिए, ‘अम्मा भएको भए खानेपानी आवश्यक पर्दा ट्यांकरमा पठाइहाल्थिन्, तर अब उनी छैनन् । खाने पानी पाउनै मुश्किल छ ।’ उनीहरूको भनाइले चित्रित गर्थ्यो, जयललिता अल्पकालीन समस्याको समाधान मात्रै गर्थिन् ।

फिल्ममा कंगनाले जयललिताका साना–साना गतिविधि समातेर अभियन गरेकी छन् । उनलाई पूर्ण रूपमा पछ्याउन भने सकेकी छैनन् । दिल्लीले गर्ने निर्णयमा सीधै प्रश्न गर्न सक्ने हैसियत भएको दक्षिणी क्षेत्रको बलियो राज्यको शक्तिशाली महिला नेतृको फिल्मदेखि राजनीतिसम्मको ऐतिहासिक यात्रा हेर्दा दर्शकलाई ‘बोर’ लाग्दैन । पुरुषवादी समाजभित्रबाट माथि उठेर शक्तिशाली बनेकी जयललिताको जीवनमा आधारित फिल्म ‘थलाइवी’ ले नेपाली दर्शकलाई साहस भरिदिन सक्छ ।

प्रकाशित : कार्तिक ५, २०७८ १८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×