कोकाकोलासँग भाइबरको साझेदारी- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोकाकोलासँग भाइबरको साझेदारी

कान्तिपुर संवाददाता

काठमाडौँ — राकुटेन भाइबरले र कोकाकोलासँगको साझेदारीमा ‘दसैं कस्टम लेन्स’ योजना ल्याएको छ ।

चाडपर्वलाई लक्षित गर्दै भाइबरले कुराकानीलाई जीवन्त बनाउन उक्त कस्टम लेन्स योजना ल्याएको जानकारी दिएको छ ।

दसंैका बेला आफ्ना प्रियजनसँग भावनाहरू साटासाट गर्न यो लेन्स उपयोगी हुने भाइबरले विश्वास लिएको छ ।

प्रकाशित : आश्विन २५, २०७८ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्

चौरबाट ढुंगेधारामा पानी

राजधानीमा एउटा धारा मर्मत गर्ने क्रममा पत्ता लाग्यो ढुंगेधारामा पानी ल्याउने प्राचीन प्रणाली 
दामोदर न्यौपाने

काठमाडौँ — गाः हिटी नामको धाराको टुटीबाट पानी झरिरहेको छ । वरिपरि न पाइप देखिन्छ, न त धारामा पानी ल्याउने प्रणाली । काठमाडौंको धोबीचौरबाट ५ मिटर ओरालोमा रहेको यो ढुंगेधारा वरिपरि झाडी छ, त्यसैले यसमा पानी आउने प्रणाली अनुमान गर्न सकिँदैन । 

यो धारा मर्मत गर्ने क्रममा चौरबाट सोसेको पानी ढुंगेधारासम्म ल्याइएको प्राचीन प्रणाली पत्ता लागेको छ । काठमाडौं महानगरपालिका–१७ मा पर्ने गाः हिटीको पूर्वतिर खन्दा पानी वितरणको प्रणाली पत्ता लागेको हो । यसले सम्पदा संरक्षण अभियन्ताहरूमा उत्साह छ । ‘धोबीचौरमा जम्मा भएको वर्षात्को पानी सोसेर आउने ठाउँमा मंगालमा जम्मा हुन्छ । मंगालको पानीे पानी गाः हिटी र निह्रा हिटीमा जाने व्यवस्था मिलाइएको पाइएको छ,’ ढुंगेधाराको अभिलेखीकरण गरिरहेका सम्पदा संरक्षण अभियानकर्मी आलोकसिद्धि तुलाधरले भने, ‘गाः हिटीको पानी कसरी बढाउने भनेर प्रयास गर्दा पानी वितरणको प्राचीन प्रणाली पत्ता लागेको हो ।’

यहाँ पानी वितरण गरिएको गाः हिटी मंगालबाट नजिकै छ भने निह्रा हिटी अलि पर छ । गाः हिटीमा पानी सानो आइरहेको छ भने निह्रा हिटी सुकेको छ । निह्रा हिटीमा पठाएको च्यानल सफा गरेपछि निह्रा हिटीमा पनि पानी झरेको थियो । निह्रा हिटीमा जाने च्यानल थुन्दिएपछि गाः हिटीमा पानी बढेको छ । स्थानीयवासीले निह्रा हिटीमा जाने पानी थुनिदिएर गाः हिटीमा बढाउने योजना बनाए पनि अभियन्ताले भने त्यसो गर्न दिएका छैनन् । ‘उता ढुंगेधारा पनि सुक्न दिनु हुँदैन । त्यो सुक्यो भने सम्पदा मासिइगयो नि,’ तुलाधरले भने, ‘यी तिनै धारा जोगिने गरी काम अघि बढाउनुपर्छ ।’ १७ वडाको करिब ७८ लाख रुपैयाँ विनियोजन गरेपछि ढुंगेधारा र यसको वरिपरिको सौन्दर्यकरणको काम सुरु भएको थियो । कामको जिम्मा भने गाः हिटी निर्माण उपभोक्ता समितिले पाएको छ । पानीको बहावसमेत बढाउने योजना भएकाले मुहान खोज्ने योजना समितिले बनाएको थियो । ‘मुहान यहीं होला भनेर खोज्यौं, नभन्दै भेटियो,’ गाः हिटी निर्माण उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तमनारायण मगैचायले भने, ‘यसलाई राम्रोसँग अध्ययन गरेर परम्परागत रूपमै सौन्दर्यकरण गर्छौं ।’

कपडा धुने काम गर्ने धोबी समुदायको बसोबास रहेको यो ठाउँमा १७ वटा धारा थिए । तीमध्ये १६ वटा सुकिसकेका छन् । आकाशबाट परेको पानी सोसेर जमिनमुनि जाँदा यी ढुंगेधारामा पानी जाने हुन् । तर पानी सोस्ने ठाउँमा कतै सडक पिच भएका छन् भने कतै चोक, डबलीमा सिमेन्ट लगाएर ढुंगा छापिएका छन् । ‘पानी सोस्ने ठाउँ नै बन्द भएपछि कसरी जमिनमुनि पानी जानु ?,’ तुलाधरले भने, ‘कतै पानीको ट्युबले राखे, त्यसले जमिनमुनिको पानी घट्यो । कतै घर बने, कतै सडक बने । यसले गर्दा ढुंगेधारा सुके ।’

उपत्यकाका अरू ठाउँको पानी वितरण गर्ने प्रणालीभन्दा यहाँको केही फरक रहेको परम्परागत हिटी तथा पुखु संरक्षण समाजका अध्यक्ष सुशील श्रेष्ठले बताए । ‘यहाँ इँटाको कुलो बनाएर वितरण गरिएको पाइयो,’ उनले भने, ‘यो अन्त भेटिएको संरचनाभन्दा अलि फरक हो ।’ पाटनको आलकोहिटी, सुन्धारा, तीनधारालगायत ढुंगेधारामा पानी वितरण गर्ने अलगअलग प्रणाली भेटिएका थिए । सामान्यता माटो पोलेर बनाइएका डुँढ, काठको डुँढ र ढुंगाको डुँढबाट पानी वितरण भएको पाइएको छ ।

इतिहासकार साफल्य अमात्यको पुस्तक पानी र संस्कृतिमा उल्लेख भएअनुसार नेपालभरिका ढुंगेधारामध्ये ९५ प्रतिशत काठमाडौं उपत्यकामै छन् । सभ्यताको सुरुआतसँगै मानिसले पहिले पानी खोज्दै आएको छ । उपत्यकाका ढुंगेधारा कम्तीमा १५ सय वर्ष पुराना मानिएका छन् । अहिलेसम्म प्रयोगमा आइरहेको सबैभन्दा पुरानो हिटी मंगलबजारको मंगहिटी हो । अमात्यका अनुसार यसको निर्माण राजा मानदेवका नाति भारवीले गराएका हुन् । भारवीले नै इस्वी संवत् ५५० मा बनाएको ढुंगेधारा हाँडीगाउँमा उत्खनन गर्दा भेटिएको थियो । लिच्छविकालमा पानीको विकास गर्न तिलमक प्रणाली नै विकास भएको थियो । यस्ता ढुंगेधारा बस्ती, बाटो र धार्मिक स्थलमा बनाइएका छन् । ‘उपत्यका र बाहिर जहाँ मल्ल र लिच्छवि शासन विस्तार भए, ती ठाउँमा ढुंगेधारा छन्,’ इतिहासकार अमात्यले लेखेका छन् ।

एकै ठाउँमा र एकै खाल्डोमा थुप्रै ढुंगेधारा छन् । पाटनको मंगहिटीमा तीन वटा धारा छन् । पुरातत्त्व विभागले २०३७ मा धाराको लगत संकलन गरेको थियो । त्यति बेला १ सय २० धारा थिए । त्यसयता विभागले अध्ययन गरेन, महानगरले खोज्दा संख्या अझ बढेको थियो । राजधानीका अधिकांश ढुंगेधारा सुक्दै गएका छन् । केहीमा पानी घट्दै गएका छन् । केही ठाउँमा धारा घरभित्र परेका छन् । कतै ढुंगेधारा मासेर घर बनेका छन् । दुई दशकयता धारा सुक्ने क्रम बढेको छ । वसन्तपुरको मरुहिटी पनि सुक्दै गएको छ । पाटन दरबारसँगै जोडिएको मंगहिटी पनि सुक्दै गएको छ ।

ललितपुर महानगरपालिकामा मात्रै ६० वटा ढुंगेधारामध्ये ७ मासिएका र १२ वटा सुकेका छन् । ४२ वटामध्ये पनि धेरैमा पानी अनियमित छ । केहीमा पानी आए पनि निकासमा समस्या छ । भक्तपुरमा चालु रहेका ३७ वटा धाराको हालत पनि ललितपुरको जस्तै छ । काठमाडौंमा महानगरभित्र १ सय ६५ धारा छन् । त्यसमध्ये ९६ वटा प्राकृतिक अवस्थामै छन् । दुई वटा पाइपबाट पानी ल्याएर चलाइएका छन् । ३४ वटा सुकिसकेका छन् । ३३ वटाचाहिँ लोप भइसके । सुन्धारामा पानी वितरण गर्ने बनाइएको माटोको डुँढ कर्मचारी सञ्चय कोषको भवन बनाउँदा भेटिएको थियो ।

प्रकाशित : आश्विन २५, २०७८ १०:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×