नेपालमै पाइलट तालिम दिन सोनाकासँग गीता एभिएसनको सम्झौता

ददि सापकोटा

पेरिस — नेपालमा पाइलट तालिम दिन नेपालको गीता एभिएसन र बेल्जियमको सोनाका एयरक्राफ्टबीच सम्झौता भएको छ । गीता एभिएसनका प्रमुख कार्यकारी निर्देशक क्याप्टेन जनक अधिकारी र सोनाका एयरक्राफ्टका बजार प्रवद्र्धन निर्देशक पियर भान वेटेरबीच हालै सम्झौता भएको हो ।

नेपालमै पाइलट तालिम दिन सोनाकासँग गीता एभिएसनको सम्झौता

पाइलट तालिम दिन गीता एभिएसनलाई सोनाका २०० मोडलका चार वटा दुईसिटे विमान सन् २०२२ जुलाईसम्म उपलब्ध गराउने लिखित सम्झौता भएको सोनाका एयरक्राफ्टका बजार व्यवस्थापन निर्देशक पियर भान वेटेरले कान्तिपुरलाई बताए ।

हिमाल, पहाड, तराईको भूबनोट नेपालमा रहेकाले पाइलट तालिमका लागि उत्कृष्ट स्थल रहेको उनको भनाइ छ । ‘नेपालमा तालिम लिएका पाइलट विश्वको जुनसुकै ठाउँमा पनि फिट हुन सक्छन्,’ उनले भने । सोनाका एयरक्राफ्टसँग सम्झौता हुने भएपछि गीता एभिएसनले जर्मनीको बर्लिनस्थित स्थानीय विमानस्थलमा सोनाका विमान परीक्षण उडाउनसमेत गरेको छ ।

‘पाइलट तालिमका लागि नेपालीहरू जर्मनी पनि आउने गरेका थिए,’ बर्लिनका नेपाली चिकित्सक एवं परीक्षण उडानमा सहभागी डा. सरोज चुडालले भने, ‘अब नेपालमै हुनु खुसीको कुरा हो ।’

गीता एभिएसनले पर्यटन मन्त्रालयबाट पाइलट तालिमका लागि स्वीकृति लिइसकेको र पर्यटनमन्त्री नियुक्त हुनासाथ तालिमका लागि विमानस्थल तोकिदिने क्याप्टेन जनक अधिकारीले बताए ।

‘विमानस्थल तोकिदिनासाथ हामीले तालिम दिन थाल्छौं ।’ युरोपेली मापदण्डअनुसारकै तालिम दिइने उनको भनाइ छ । अहिले नेपालबाट बर्सेनि करिब एक सय जना पाइलट तालिमका लागि युरोप, अस्ट्रेलियालगायत देश मुलुक जाने गरेको उनले बताए ।

सोनाकाले बेलायत, बेल्जियम, फ्रान्स, जर्मनीलगायत मुलुकमा तालिम दिने विमान बिक्री गरिरहेको छ । गीता एभिएसनले किन्न लागेको सोनाका २०० विमानको मूल्य दुई लाख ३७ हजार अमेरिकी डलर पर्ने जनाइएको छ ।

प्रकाशित : आश्विन ९, २०७८ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?