२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको ‘प्रोटोन सागा’ नेपालमा

काठमाडौँ — शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले मलेसियाली कार कम्पनी प्रोटोनले निर्माण गरेको 'प्रोटोन सागा' नेपाल भित्र्याएको छ । प्रोटोन नेपालको आधिकारिक फेसबुक र युट्युब पेजमार्फत गाडी नेपालमा सार्वजनिक गर्न लागिएको हो ।

मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको ‘प्रोटोन सागा’ नेपालमा

प्रोटोन ३८ वर्ष पुरानो मलेसियाली अटोमोबाइल्स कम्पनी हो । सुरुमा मलेसियको सरकारी स्वामित्व रहेको प्रोटोन होल्डिङमा अहिले भोल्भो, जिली लगायतका नाम चलेका ब्रान्डको आवद्धता छ ।

'प्रोटोन सागा' को पुस २९ गतेदेखि आधिकारिक बिक्री सुरु गर्न लागिएको जगदम्बा मोटर्सले जनाएको छ । मोटर्सका उपाध्यक्ष दीपक अग्रवालका अनुसार काठमाडौंको गैह्रीधारामा रहेको सोरुमबाट बिक्री सुरु गरेर नेपालभरी विस्तार गरिने छ ।

हुन त प्रोटोन आजभन्दा करिव १५/२० वर्षअघि नै नेपालमा भित्रिएको थियो तर त्यसबेलाका डिलरले सेवा दिन नसक्दा प्रोटोन मलेसिया नै फर्किएको थियो । त्यतिबेलै लोकप्रिय भएको प्रोटन कारलाई जगदम्बाले फेरि नयाँ सोच र रिब्रान्डिङ गरेर बिक्री गर्दैछ । अग्रवालका अनुसार झण्डै १ वर्षअघि देखि नेपालमा प्रोटोन कारकोबारे 'रिसर्च' गरिएको थियो । उनी भन्छन्, 'हामीले पहिला प्रोटोन गाडी चढ्ने ५० भन्दा बढी उपभोक्तासँग सम्पर्क गरेर फिडव्याक लिएका थियौं । उहाँहरुको फिडव्याकले हामीलाई प्रोटोन भित्र्याउन उर्जा दियो ।'

सागा इन्ट्री लेभलको सबैभन्दा सुरक्षित र नयाँ फिचरसहितको सेडान कार हो । अन्य कम्पनीको यही सिरिजमा हेर्ने हो भने यसमा नयाँ विशेषता र सुरक्षाको मापदण्ड बढी छ । त्यसैले अग्रवाल दाबी गर्छन्, 'हुन त अरु कम्पनीको पनि इन्ट्री लेभलका कार छन् । तर प्रोटोन सागा त्यस्तो गाडी जसको मूल्य मात्रै होइन सुरक्षाको हिसाबले पनि उत्कृष्ट छ ।'

सागा यूरो स्टयान्डर्ड एनक्याप रेटिङमा फोर स्टार पाउने कार हो । सुरक्षाको यही प्रत्याभूति गराउँदै प्रोटोन सागा नेपालमा लन्च गरिएको हो । प्रोटोनले आफ्नो पहिलो कार सन् १९८५ मा प्रोटोन सागाकै रूपमा बजारमा ल्याएको र सोही गाडी नेपाल ल्याएर बिक्री गरिने कम्पनीको भनाइ छ । प्रोटोनका गाडी विश्वका ७० भन्दा बढीमा मुलुकमा पुगेको कम्पनीको भनाइ छ ।

हाललाई प्रोटोन सागा काठमाडौंको गैह्रीधारास्थित शोरुममा मात्र उपलब्ध हुनेछ । मोटर्सले आउँदा दिनमा सेवालाई थप विस्तार गर्दै पोखरा, विराटनगर, वीरगन्ज, धनगढी, नेपालगन्ज, इटहरीलगायत सहरमा आफ्नो डिलर र सर्भिस सेन्टर सुरु गर्ने दीर्घकालीन रणनीति बनाएको छ । यसका लागि कम्पनीले डिलरको आव्हान समेत गरिसकेको छ । साथै प्रोटोनका अन्य चर्चित मोडल पनि ग्राहकका चाहना र मागबमोजिम क्रमबद्ध रुपमा नेपाल भित्र्याउने जगदम्बाको योजना छ । उपाध्यक्ष अग्रवाल भन्छन्, 'हामीले इन्ट्री लेभलको मात्रै होइन त्यस माथिका ह्याचव्याग, स्पोर्ट युटीलिटी, प्रिमियम कार भित्र्याउँछौं ।'

प्रोटोनको वर्कशप ललितपुरको कुपन्डोलमा छ । चाँडै नै नेपालभर १२ स्थानमा सञ्जाल विस्तार गर्ने योजना छ, जहाँ सर्भिस र स्पेयर पार्टस् पनि उपलब्ध हुनेछन् । अग्रवालका अनुसार कम्पनीले कार बिक्रीपछिको सेवालाई विशेष ध्यान दिएको छ । उनले भने, 'त्यही भएर अब चाँडै नै सातै प्रदेशका मुख्य सहरमा सर्भिसिङ सेन्टर र स्पेयर पार्टस् बिक्री कक्ष राखिने छ ।'

प्रोटोन सागामा एलिगेन्ट अरस्पोइलर, नयाँ १५ इन्चको एलोई ह्वील डिजाइन, रिमोट ट्रंक रिलिजजस्ता विशेषता छन्। प्रोटोन सागामा हिलहोल्ड एसिस्ट, रियर पार्किङ सेन्सर, रिभर्स क्यामेरा र ब्रेक एसिस्टलगायत सुरक्षा विशेषता छन्। यस्तै कारको ब्रेकिङ सिस्टम अत्याधुनिक छ । यूरो एनक्याप रेटिङमा फोर स्टार पाएको कार हो । ५ वटा रंगमा उपलब्ध छन् । कारमा १३ सय सीसीको पेट्रोल इन्जिन दिइएको छ ।

जगदम्बाले म्यानुअल ट्रान्समिसन भएको सागाको मूल्य ३५ लाख ५० हजार तथा अटोमेटिकको ३९ लाख ५० हजार रुपैयाँ कायम गरेको छ ।

प्रकाशित : पुस २९, २०७७ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?