रिलायन्सको ‘एक सेयरधनी, एक बिमालेख’- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रिलायन्सको ‘एक सेयरधनी, एक बिमालेख’

कान्तिपुर संवाददाता

काठमाडौँ — रिलायन्स लाइफ इन्स्योरेन्सले ‘एक सेयरधनी, एक बिमालेख’ अभियान सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा बिहीबार यो अभियान ल्याएको हो ।

जीवनका हरेक मोडमा आइपर्ने विभिन्न आर्थिक आवश्यकता पूर्ति गर्न जीवन बिमा एक उचित माध्यम भएकाले कम्पनीले यो अभियानबाट आफ्ना सबै सेयरधनीलाई बिमाको अवधारणाभित्र ल्याउने प्रयास गरेको जानकारी दिएको छ ।

प्रकाशित : मंसिर ५, २०७७ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्

मसला मार्क्सवाद

परिवर्तित दुनियाँका नयाँ चुनौतीको सामना गर्ने नौला बौद्धिक सामल सँगाल्नका लागि मार्क्सवाद सदैव तत्पर र खुला रहनुपर्छ ।
उज्ज्वल प्रसाई

मसला शब्दको मूलस्रोत अरबी भाषा हो भन्छन् जानकारहरू । मार्क्सवादको विशेषणका रूपमा मसला शब्दलाई धेरैले अनौठो मान्लान् । आफूलाई मार्क्सवादी ठान्नेका लागि यो विशेषण सकसपूर्ण होला । मार्क्सवादी सूत्रका शुद्धतामा जब्बर आस्था भएकाहरू क्षुब्ध पनि हुन सक्छन् ।

प्रस्ट पारौं, यो विशेषणको प्रेरणास्रोत भारतमा बसोबास गर्ने शेक्सपियर–ज्ञाता जोनाथन गिल ह्यारिसको पछिल्लो कृति ‘मसला शेक्सपियर : हाउ अ फिरंगी राइटर बिकेम इन्डियन’ हो ।

विविध स्वादको सम्मिश्रणको भाव व्यक्त गर्न मसला शब्दको प्रयोग गरेका छन् ह्यारिसले । जसरी विलियम शेक्सपियर आफैंमा एकांगी एवं शुद्ध अंग्रेज नभई शैलीजन्य वैविध्यका नमुना हुन्, त्यसरी नै भारतीय सिनेमा, समाज र स्वयं शेक्सपियरसँग भारतको अन्तरक्रिया विविधतापूर्ण र मसलामयी छ भन्ने ह्यारिसको दाबी हो । मार्क्स र मार्क्सवाद जसरी एउटै होइनन्, मार्क्सवादसम्बन्धी बुझाइ एवं प्रयोग समय र स्थानअनुसार विविध छन्, मसलामयी छन् । यस लेखमा भनिएको मार्क्सवाद कम्युनिस्ट साइनबोर्डमुन्तिर बसेर बजारु दलालीमा निमग्न रहने व्यक्तिहरूका अभिव्यक्ति र गतिविधिको समष्टि रूप होइन । तिनले आफू मार्क्सवादी हुँ भनेर गरेका दर्जनौं अर्थहीन ढिपीलाई पत्याएर यो लेखिएको पनि होइन । नेकपाको सत्ताधारी मसलामा मार्क्सवादको मन्द स्वाद पनि कतै छैन भन्नु अब कुनै नौलो सूचना रहेन । बरु आम नेपालीले केही वर्षदेखि प्रत्यक्ष भोगेको ‘सत्य’ हो यो । सत्ताइतरका अध्येता, अनुसन्धाता, राजनीतिकर्मी व्यक्ति वा समूह जसले मार्क्सवादसँग कुनै न कुनै साइनो स्थापित गरेका छन् वा त्यस्तो सम्भावना देखेका छन् र जो मौजुदा राजनीति बदल्ने विकल्पहरूको खोजीमा छन्, त्यस्ता व्यक्ति र समूहका प्रयत्नलाई सम्बोधन गर्न मार्क्सवाद भनिएको हो । मार्क्सवादमा नयाँ बौद्धिक सामल जोड्ने सिर्जनात्मक स्कोप छ भनेर प्रमाणित गर्ने सामर्थ्य यीमध्ये कसैमा हुन सक्छ भन्ने झिनो आशा राखेर यो लेखिएको हो ।

दशकौंदेखि अँगालिएको ‘विकास’ को सरलीकृत खाका, ‘पुँजी’ को अपरिवर्तनीय सूत्र, बजार, औद्योगीकरण र पुँजीवादको अनिवार्य चरण, वा इतिहासको ‘नबदलिने नियम’ लाई बिनासन्देह स्वीकार गरेर मार्क्सवाद सिर्जनात्मक बन्न सक्दैन । मार्क्सवाद वा कम्युनिस्ट पार्टीको ब्यानर नझुन्ड्याई समतामूलक समाज निर्माणका लागि प्रचुर पर्यावरणीय संवेदनशीलतासहितका विकल्प खोजिरहेकासँग खुला संवाद गर्ने हिम्मत जुटाउनु मार्क्सवादीका लागि पहिलो खुड्किलो हुनेछ । मार्क्सवादी अध्येताहरूले गरेका त्यस्ता प्रयत्नका उदाहरणहरू खोजे भेटिन्छन् ।

मार्क्सवादका पुराना मसला

मार्क्सवादका नाममा धेरै प्रयोग भए, भइरहेका छन् । नेपालमा भएका प्रयोगहरू मूलतः दुई किसिमका छन् । पहिलो, दस्तावेजहरूमा समाजवादको सपना अघि सार्ने, पुँजीवाद र साम्राज्यवादको आलोचना गर्ने, भारतीय विस्तारवादलाई पनि उत्तिकै दोषी ठहर्‍याउने तर व्यावहारिक राजनीतिमा बहुदलीय प्रतिस्पर्धामार्फत सत्तामा पुग्ने र कथित ‘विकास’ का लागि आफैंले आलोचना गरेका सबै प्रवृत्तिसँग सम्झौता गर्ने । विकास, रोजगारी, राष्ट्रिय पुँजी निर्माण इत्यादि नाममा नवउदारवादका सबै चरित्र वरण गर्ने ।

दोस्रो, सशस्त्र वा शान्तिपूर्ण वर्ग संघर्षको सान्दर्भिकता पुष्टि गरिरहने, साम्राज्यवाद एवं विस्तारवादसँग लड्न राष्ट्रवादको भाष्यलाई उत्तिकै आवश्यक ठान्ने र सत्ता कब्जामार्फत समाजवादमा छलाङ मार्ने सपना कोरलिरहने । पुँजीवादको बाटो छलेर सोझै समाजवादमा पुग्न सकिन्छ भन्ने मत यो धारामा बलशाली छ । चीनको माओ विचारधारालाई विकास गरेको र पेरुको प्रयोगबाट समेत दीक्षित भएकाले आफू अरूभन्दा समृद्ध भएको दाबी यो धारामा थियो/छ । मार्क्सवादका यी दुवै प्रवृत्तिको उठान र बैठान नेपालले भोगिसकेको छ ।

पञ्चायती व्यवस्थासँग लड्न र राजनीतिक स्वतन्त्रताका लागि आम मान्छेलाई संगठित गर्न मार्क्सवादी दलहरूले उल्लेख्य योगदान गरेका हुन् । दलित, किसान, श्रमिक र महिलालाई संगठित गर्न र यी समूहका विशिष्ट समस्याहरूलाई मुखरित तुल्याउन पनि भिन्न धाराका कम्युनिस्ट पार्टीहरूले काम गरेका हुन् । माओवादी सशस्त्र विद्रोहताका मधेसी, दलित, जनजाति, दलित, थारूका विशिष्ट मुद्दाहरू राजनीतिक रूपमा उद्वेलित भए र केही उपलब्धि हासिल गर्न सफल पनि भए । गणतन्त्र, समावेशिता, संघीयताजस्ता उपलब्धिलाई समापन भएको राजनीतिक क्रान्तिका फल मानिए पनि अहिले यी मूलतः उदारवादी लोकतन्त्रका अवयवका रूपमा सञ्चालित छन् । यसैलाई राजनीतिक क्रान्ति पूरा भएको भनी सैद्धान्तिक व्याख्या नै गरिसकिएको छ । समाजवादका लागि भने आर्थिक वृद्धिलाई पहिलो सर्त मानिएको छ ।

संविधान एवं दलका दस्तावेजमा नेपाललाई समाजवादउन्मुख भनिए पनि अबको मुख्य कार्यभार भनेर प्रचारित विकास र समृद्धिको भाष्य पूर्णतया उपभोगवादी र बजारकेन्द्रित छ । विदेशी सहयोग एवं ऋणमा आधारित पूर्वाधारका ठूला परियोजना र रोजगारी सृजनालाई नै विकासको भिजनका रूपमा प्रचार गरिएको छ । यसैबीच दलित र महिलाका मुद्दा बढ्ता पेचिला बनेर सतहमा आएका छन्, जसलाई अनदेखा गर्ने यत्न जारी छ । नयाँ संविधान एवं दलीय दस्तावेजमार्फत स्विकारिएको संघीयतालाई नै बेकामे बनाउने ध्याउन्नमा स्वयं सत्ताधारीहरू लागेका छन् । कोरोनाकालमा कृषि र पर्यावरणबारे नयाँ ढंगले सोच्नुपर्ने चुनौती अघिल्तिर तेर्सिएको छ । यी प्रश्नलाई सुन्दै नसुन्ने चेष्टा उत्तिकै बलियो छ ।

माथि भनिएका दुवै धारा मिसिएर अहिलेको सत्ताधारी नेकपा बनेको हो । अझ स्पष्ट शब्दमा भनौं, दुवै धाराको राजनीतिक पतनको समष्टि रूप हो नेकपा । समयले तेर्स्याएका नयाँ चुनौतीलाई बेवास्ता गर्नमा उसले आफ्नो सफलता देखेको छ । मार्क्सवादी प्रयोगको दोस्रो धारालाई प्रतिनिधित्व गर्ने मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका पार्टीहरू सत्ता कब्जाको धङधङीमै छन् । एकीकृत क्रान्तिको नाममा मध्यम वर्गलाई समेत समेटेर नयाँ क्रान्ति सम्पन्न गर्ने विप्लवी सपना राजनीतिक पहेली साबित हुन थालेको छ । जनमोर्चा मार्का मार्क्सवाद र भक्तपुरकेन्द्रित जुछेवाद लगायत प्रयोगका सीमितताबारे यहाँ दोहोर्‍याउन आवश्यक छैन । जनता समाजवादी पार्टीमा एक–दुई नेताले सैद्धान्तिक विमर्श गर्ने र देब्रे ढल्कुवा वैकल्पिक राजनीतिको चासो अघि सारिरहे पनि विकास र समृद्धिको आम भाष्यभन्दा अलग काल्पनिकी त्यहाँ देखिँदैन । आमवृत्तमा सैद्धान्तिक एवं सांस्कृतिक विमर्शलाई तेजिलो बनाइरहेका लेखक आहुति नेतृत्वको वैज्ञानिक समाजवादी राजनीतिक अभियानले मौजुदा अवस्थामै ‘समाजवादी भ्रूण’ को विकास गर्न थाल्ने तर्क पेस गरेको भए पनि सोसम्बन्धी राजनीतिक कार्यक्रम वा गतिविधि थालेको सूचना छैन ।

मौजुदा थिति बदल्न र बाँच्नयोग्य समाज निर्माणका निम्ति मार्क्सवादलाई साँचो अर्थमा अद्यावधिक गर्न सूत्रीय शुद्धताको ढिपी त्याग्न जरुरी छ । साथै, व्यावहारिक राजनीतिको नाममा चरम व्यवहारवादी बन्ने र नवउदारवादका सबै चरित्र सहवरण गर्ने खतराबाट जोगिन उत्तिकै आवश्यक छ । सैद्धान्तिक शुद्धताको अकण्टक जपनालाई आफ्नो अकर्मण्यता छोप्ने कामले कतै पुर्‍याउँदैन । नयाँ सम्भावनाको खोजी नगर्दा र सैद्धान्तिक एवं सांगठनिक रूपमा आफूलाई अद्यावधिक गर्दै नलैजाँदा पतनका पुरानै रीतको पुनरावृत्ति मात्रै हुन्छ ।

नयाँ मसलाको खोजी

लोकतान्त्रिक, समतामूलक एवं पर्यावरणीय संवेदनशीलतासहितका राजनीतिक विकल्पको खोजीका लागि मार्क्सवाद भरपर्दो आधार बन्न सक्छ । तर सैद्धान्तिक रूपमा अद्यावधिक गर्न एवं राजनीतिक अभ्यासलाई बदल्न सत्ताइतरका नेपाली मार्क्सवादीले आफूलाई तयार बनाउन आवश्यक छ । भारत, बंगलादेश, जापान, अर्जेन्टिना, दक्षिण अफ्रिका लगायतमा भइरहेका स–साना गैरपुँजीवादी आर्थिक अभ्यास, आन्दोलन, अभियान र तिनीहरूले निर्माण गरेका बौद्धिक स्रोत नेपाल र यहाँका विशिष्टतामा कति उपयोगी छन् भनेर परख गर्नु उपयुक्त हुन्छ ।

दक्षिण अफ्रिकामा बसेर मार्क्सवादको प्राज्ञिक अनुसन्धान गरिरहेका मिचेल विलियम्स र विश्वास सतगर होऊन्, भारतको नर्मदा बचाऊ जस्ता आन्दोलनमा लागेका तर आफूलाई मार्क्सवादी नभन्ने आन्दोलनकारी होऊन् वा डिग्रोथजस्ता अभियानबाट यथास्थितिलाई चुनौती दिइरहेका अभियानी, यी सबैसँगको खुला संवादले नेपाली मार्क्सवादलाई वैकल्पिक राजनीतिको गतिलो आधार बनाउन सक्छ । विश्वास सतगरहरूले हिजो रुस र चीनमा अभ्यास भएका कम्युनिस्ट पार्टीभन्दा अलग वा उदारवादीले व्याख्या र अभ्यास गरेको प्रतिनिधित्वमूलक लोकतन्त्रभन्दा पृथक् ‘लोकतान्त्रिक मार्क्सवाद’ मा आधारित व्यवस्थाको खोजी गरिरहेका छन्; विभिन्न देशमा रहेर चिन्तन गरिरहेका समाजविज्ञानीहरूलाई उनीहरूको अध्ययन र अनुभवका आधारमा मार्क्सवादको वैकल्पिक राजनीतिबारे सोच्न उत्प्रेरित गरिरहेका छन् ।

त्यही सिलसिलामा उनीहरूले ‘डेमोक्रेटिक मार्क्सिज्म’ शीर्षकका शृंखलाबद्ध प्रकाशनहरू पनि बाहिर ल्याएका छन् । यी प्रकाशनहरूमा जात, नस्ल, लिंग, वर्ग, पर्यावरण र अन्य पेचिला विषयसम्बन्धी प्रश्नसँग मार्क्सवादको संवाद गराइएको छ । रुस र चीनबाट ल्याएर नेपालमा बाँडिएका ठेलीभन्दा भिन्न अध्ययन सामग्रीहरूको खोजी गर्नु नयाँ मार्क्सवादीलाई हितकर हुन्छ । कार्ल मार्क्सकै बौद्धिक हुर्काइमा चासो हुनेहरूले पनि कम्युनिस्ट पार्टीको प्रोपगान्डाका रूपमा प्रकाशित मार्क्सको जीवनी दोहोर्‍याउनुभन्दा हारुकी वाडाजस्ता अध्येताले खोजी गरेको बौद्धिक इतिहास हेर्नु मनासिब हुन्छ । सेडेरिक रबिन्सनजस्ता अश्वेतहरूले श्वेत वर्चस्वबाट मुक्तिका लागि मार्क्सका लेखनीमा गरेका खोजहरू उधिन्दा नयाँ सामल प्राप्त गर्न सकिन्छ । त्यस्तै, माइकल बुरावेजस्ता समाजशास्त्रीले मार्क्सवादी अभ्यासका भिन्न चरणबारे गरेका खोजीले नयाँ बाटो पहिल्याउन मद्दत गर्नेछन् । भारतीय अध्येता कल्याण सन्यालले पुँजीवादबारे आम बुझाइमा प्रश्न गर्दै उत्तरऔपनिवेशिक पुँजीवादका केही विशिष्ट चरित्रबारे गरेको खोजले पनि नयाँ गोरेटो खन्ने काममा सहयोग गर्न सक्छ ।

त्यसअघि सत्ताइतरका मार्क्सवादीहरूले केही आधारभूत प्रश्नहरू आफैंसँग गर्न आवश्यक छ । के मुक्तिका लागि पहिल्यै तय गरिएका जड सूत्रहरूको संकलन हो मार्क्सवाद ? वा, इतिहासको गति निर्धारण गर्ने नियमहरू पत्तो लगाएको जिरह गर्दै, तिनै नियमको ‘वैज्ञानिक’ व्याख्या गरेको दाबी पस्कने खास ग्रन्थ हो मार्क्सवाद ? यसो हो भने मार्क्सवादले पुँजीवादसँग लडिरहेका अनेक आन्दोलन र मौजुदा पुँजीवादी दुनियाँभन्दा अलग दुनियाँको परिकल्पना गरिरहेका थुप्रै अभियानसँग संवाद गर्न सक्दैन । तर मार्क्सवाद आफैंमा अपूर्ण, सदैव अद्यावधिक गरिरहनुपर्ने र जीवन्त सैद्धान्तिक सम्बल हो भने परिवर्तित दुनियाँका नयाँ चुनौतीसँग सामना गर्ने नौला बौद्धिक सामल सँगाल्नका लागि यो सदैव तत्पर र खुला रहनुपर्छ ।

कसैको मनमा प्रश्न उब्जिन सक्छ, माथि भनिएका सबै प्रश्न र अनेक खाले गैरमार्क्सवादी आन्दोलनसँग संवाद गर्ने नाममा कतै मार्क्सवाद नै विलुप्त हुने त हैन ? केके विजातीय मसलासँग मिसिएर मार्क्सवाद नै अशुद्ध हुने त होइन ? यस्ता सन्देहसँग डराएर होइन, सामना गरेर अध्ययनलाई फराकिलो बनाउने हो भने, मिचेल विलियम्सले एक लेखमा भनेजस्तो, मार्क्सवादीहरू नै बुझाइका आफ्ना ‘कम्फर्ट जोन’ बाट फुत्किन अनि सिद्धान्त र अभ्यासका सृजनात्मक घुम्तीहरू पहिल्याउन सफल हुनेछन् । मसला मार्क्सवादको नेपाली स्वाद धेरै मुलुकलाई पनि उपयोगी हुन सक्छ ।

प्रकाशित : मंसिर ५, २०७७ ०९:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×