जनकपुरलाई धार्मिक-पर्यटकीय केन्द्रका रूपमा स्थापित गरौँ

रामआशीष यादव

जनकपुर — जनकपुरको विकासलाई दुईवटा दृष्टिकोणले हेर्नुपर्छ । आत्मदृष्टि र चरणदृष्टि । हामीले चरणदृष्टिले हेर्‍यौं भने जनकपुरमा विकास भएको देखिन्छ । यहाँ स्वर्गद्वारको निर्माण भएको छ, महागंगा आरती सुरु भएको छ, सडकको विस्तार भएको छ, विमानस्थलको स्तरोन्नति भएको छ, ब्रोड गेजको रेल सञ्चालनमा आएको छ, निजी स्तरमा शैक्षिक संस्थाको वृद्धि भएको छ ।

जनकपुरलाई धार्मिक-पर्यटकीय केन्द्रका रूपमा स्थापित गरौँ

पहिले–पहिले उपचारका लागि दरभंगा जानुपर्थ्यो । अहिले स्वास्थ्य क्षेत्रमा पनि सुधार भएको छ । यो सबै आँखाले देखिने विकास हो ।

तर, हामीले आत्मदृष्टिले हेर्‍यौं भने जनकपुरमा धेरै काम गर्न बाँकी छ । अमेरिका, जापान, नेदरल्यान्ड्स्, फिनल्यान्डजस्ता विकसित देशमा मधेश र मिथिलाको संस्कृति बिक्री भइरहेका छन् । त्यहाँ चर्चा–परिचर्चा पनि हुन्छ । अब हामीले हाम्रो संस्कृतिलाई अझै प्रवर्द्धन कसरी गर्ने, कसी जोगाउने भन्ने विषयमा सोच्नुपर्छ । हाम्रो भाषालाई अझै मजबुत कसरी बनाउने ? राजनीतिक दर्शनमा हामी कसरी अघि बढ्ने ? यसमा मन्थन हुनुपर्छ ।

जनकपुर अष्टवक्रको भूमि हो । यसको पुनर्जागरण जनकपुर एक्लैले गर्न सक्दैन । यसको उत्थानमा संघीय सरकारले इमान्दारितापूर्वक साथ दिनुपर्छ । संघले पहिले नै साथ दिएको भए जनकपुरमा यति ढिलोगरी विकास हुने थिएन । हाम्रो सरकारले जति काम गर्नु पर्थ्यो, त्यति गर्न सकेको छैन । हामीले गर्न बाँकी काम धेरै छन् ।

जनकपुरधामलाई कस्तो बनाउने, कुन रूपमा विकास गर्ने ? निर्माणकर्तामाझ यो स्पष्ट भएको छैन । आधुनिक जनकपुर निर्माण त गर्ने तर कुन हिसाबले गर्ने ? हरिद्वारजस्तो गर्ने कि नन्दगाउँ जस्तो गर्ने कि भारतका अन्य तीर्थस्थलहरूजस्तो गर्ने ? जनकपुरधामको विकास धार्मिक–पर्यटकीय केन्द्रका रूपमा गर्दाखेरी त्यसको प्रभाव राम्रो हुन्छ । जनकपुरधाममा भारत र अन्य देशका मानिसहरू किन आउँछन् ? यहाँका ठूला–ठूला भवन हेर्न आउँदैनन् ।

जनकपुरबाट गएकालाई भारतमा जनक महाराजको वंशज मानेर पुज्न खोज्छन् । तसर्थ, जनकपुरलाई धार्मिक–पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्नु उचित हुन्छ । जनकपुर भनेको जनकपुरधाममात्रै होइन, धनुषाधाम, सतोषरधाम, जलेश्वर, मठीयानी पनि हो । बृहत् जनकपुरको अवधारणा जुन छ, त्यस हिसाबले यसको विकास गर्नुपर्छ । यसमा स्थानीय र प्रदेश सरकारको महत्त्वपूर्ण भूमिका हुन्छ । जनकपुरलाई कुन रूपमा विकास गर्ने भन्नेबारे हामीले गुरुयोजना बनाउनुपथ्र्यो । त्यो बनेको भए त्यसलाई अवलम्बन गर्न हुन्थ्यो । अहिले पनि गुरुयोजना बनाउन सकिन्छ ।

जनकपुरधाममा स्थल मार्ग र हवाई मार्गबाट पर्यटक आउने क्रम निकै बढेको छ । यहाँ होटल र लजको संख्या वृद्धि गर्नुपर्ने भएको छ । दूधमति करिडोरलाई प्रदेश सरकारले फेरि विकास गर्ने भनेको छ, त्यहाँ हामीले कपिल आश्रम, करात आश्रम गार्गी, जनक, अष्टावक्र र याज्ञवल्क्य आश्रम बनाऔं । ती आश्रम बनाउन सक्यौं भने हरिद्वारजस्तो यहाँ पर्यटकको घुँइचो हुन्छ । जनकपुर सामान्य भूमि हुँदै होइन, यो त तपोभूमि हो ।

मधेश प्रदेशको राजधानी जनकपुर हुनेमा खासै विवाद थिएन । जति पनि विवाद थियो, त्यो राजनीतिक कारणले थियो । वीरगञ्जका साथीहरूले राजीतिक कारणले बोल्नु भएको थियो । तर, अब जनकपुरधाम राजधानी भइसकेको छ । हामीले दायित्वबोध गरेर यसको विकास गर्नुपर्छ । संघीयताको अभ्यास भएपछि प्रदेशवासीले अहिले यसको अनुभव गर्दैछन् ।

–सामाजिक अभियन्ता एवं प्रदेशसभा सदस्य रामआशीष यादवले ‘मधेश मन्थन’ मा राखेको विचारको सम्पादित अंश

प्रकाशित : असार २८, २०७९ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?