'प्रदेशका मुख्यमन्त्रीहरूलाई चुलेसी दिइएको छ, जति तिखारे पनि त्यसले दाउरा काट्न सक्दैन ।'
जनकपुर — लेखक तथा विश्लेषक सीके लालले नेपालको संविधानमै संघीयतालाई कमजोर बनाइएको बताएका छन् । शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'मधेश मन्थन' कार्यक्रमको अन्तिम सत्र 'संघीयताको अभ्यास र अनुभव : मधेश प्रदेशको ५ वर्ष' मा लालले प्रदेशका मुख्यमन्त्रीलाई चुलेसी दिएर दाउरा चिर्न भनिएको बताएका हुन् ।
लालले भने, 'प्रदेशका मुख्यमन्त्रीहरूलाई चुलेसी दिइएको छ, जति तिखारे पनि त्यसले दाउरा काट्न सक्दैन । तरकारी काट्ने चुलेसीले तरकारी काट्ला तर दाउरा काट्न सक्दैन ।' संवैधानिक हिसाबले प्रादेशिक अधिकार कटौती गरिएको पनि उनको भनाइ छ ।
उनले अगाडि भने, 'बाई डिजाइन नै संविधानमै संघीयता कमजोर बनाइएको छ ।' संघीयता टिक्छ कि टिक्दैन भन्ने प्रश्नमा विश्लेषक लालले भने, 'प्रदेशका मन्त्रीहरूलाई कम अधिकार दिइएको छ । त्यसै अल्झिएर बस्नेवाला छ तर संघीयता गइहाल्दैन ।'
राजनीतिक दलहरूले आफ्ना कार्यकर्ता व्यवस्थापन गर्न पनि संघीयता बचाइराख्ने लालको भनाइ छ । राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई व्यवस्थापन गर्न संघ, प्रदेश र स्थानीयतहअनुसार बनाएको आन्तरिक संरचना पनि उनले बताए ।
