'काठमाडौंको मोनोपोली संघीयताका लागि चुनौती भएको छ'
काठमाडौँ — राजनीतिशास्त्री प्रा. कृष्ण खनालका अनुसार काठमाडौंको केन्द्रीय मानसिकता संघीयतामैत्री नभएका कारण कार्यान्वयनमा सफल नभएको बताएका छन् ।
शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'मधेश मन्थन' कार्यक्रमको अन्तिम सत्र 'संघीयताको अभ्यास र अनुभव : मधेश प्रदेशको ५ वर्ष' मा प्रा. खनालले सिंहदरबारले प्रदेशको संरचना तोकिदिएको बताएका हुन् । खनालले संघीय सरकारले प्रदेश सरकारलाई पहिलेको विकास क्षेत्रभन्दा फरक व्यवहार नगरेको बताए ।
‘काठमाडौं सेन्ट्रालिटी यस्तो छ कि व्यावसायिक ओहदाको उच्च पदमा पुग्न, राजनीतिमा चर्चा कमाउन वा हरेक क्षेत्रमा काठमाडौं चाहिन्छ,’ उनले भने, ‘काठमाडौंको मोनोपोली संघीयताका लागि चुनौती भएको छ ।’
प्राध्यापक खनालले पर्याप्त बहसबिनै संघीयता कार्यान्वयनमा आएको बताएका थिए । ‘संघीयता मागका रूपमा आयो,’ उनले भने, ‘हामीलाई स्वायत्तता, पहिचान, लोकतन्त्र सबै चाहिएको छ । यसका लागि संघीयता चाहिन्छ भनेर बौद्धिक हस्तक्षेप भएपछि माओवादी पनि संघीयतामा आइपुगेको थियो । तर, संघीयताका विषयमा राम्रो बहस हुन पाएन ।’
नेपालले लोकतान्त्रिक संघीयताको अभ्यास गरिरहेको पनि उनको भनाइ छ । ‘हाम्रो संघीयताको शक्ति भनेकै लोकतन्त्र हो,’ उनले भने, ‘लोकतन्त्रलाई घटायो भने यो संघीयता चल्न सक्दैन । तर, हाम्रो संघीयता मौलिक संघीयता होइन । हामीले यसलाई एडप्ट गरेको हो ।’ उनले यसलाई मौलिकताको रूपमा दिँदै विकास गर्न जरुरी रहेको बताए ।
संघीयताको अभ्यासमा नेपाल अहिले प्रारम्भिक चरणमा रहेको खनालको भनाइ छ । संघीयतको संरचनागत जग हल्ला गरिएजति कमजोर नरहेको पनि उनले बताए ।
संघीयता लागू हुनुअघि यस विषयमा बहस नभएकाले यसमा आफूहरूका केही 'अब्जेक्सन'हरू रहेको उनले बताए । ‘तर, अभ्यास गर्नका लागि यसमा जति पनि ठाउँ छ,’ उनले भने, ‘म यसको भविष्य खराब देख्दिनँ । तर, डरलाग्दो कुरा के छ भने यसलाई डिस्टोर्ट (बिगार्न) सम्भावना बढी छ ।’
