एक अमेरिकीले ६ दशकअघि जे देखे- मधेश मन्थन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक अमेरिकीले ६ दशकअघि जे देखे

पिसकोर भोलेन्टियर भएर ०२३ सालमा धनुषाको बसैया गाउँमा दुई वर्ष बसेका माइकल गिल बदलिँदो मधेश देखेर अचम्म मान्छन्
जनकराज सापकोटा

अमेरिकामा बसेर नेपालको मधेश सम्झिँदा माइकल गिल अझै पनि रोमाञ्चित हुन्छन् । बोल्दाबोल्दै कतैकतै मैथिली शब्द नै मिसिन्छ कि जस्तो भावले उनलाई उत्साहित तुल्याउँछ । उमेरले ८० वर्षमा हिँडिरहेका माइकल ०२३ वैशाखको पहिलो सातातिर भारतको कोलकातास्थित दमदम विमानस्थलबाट डकोटा विमान चढेर काठमाडौंको गौचरन विमान अड्डा ओर्लिएका थिए ।

एक साता काठमाडौं बसेर उनी बाराको परवानीपुर पुगेका थिए । त्यहाँ थप एक साता बिताएपछि उनको यात्रा धनुषाको बसैया गाउँ पुगेर रोकिएको थियो । माइकलसँग उति बेलाको मधेश, त्यहाँको जनजीवनका अनेक पहलु, शिक्षा, स्वास्थ्य र यातायातको विकास अनि जनकपुरधामको स्मृतिका सजिव चित्रहरूको ताजा सम्झना छ ।

अमेरिका भियतनामसँगको लडाइँमा होमिएको समय थियो । २२ वर्षे ठिटो माइकलको मन भने सेनामा भर्ती हुने बाटोतिर थिएन । त्यही भएर ग्य्राजुएसनको पढाइ सकिनेबित्तिकै उनले पिसकोर भोलेन्टियर भएर काम गर्ने मनसायसहितको आवेदन दिएका थिए । त्यति बेला उनी अफ्रिकी देशमा जान चाहन्थे । किनकि विश्वविद्यालयमा उनले अफ्रिकाको इतिहास पढेका थिए । तर रोजेको देश जान केही महिना कुर्नुपर्ने भयो । उनले कुर्ने धैर्य देखाएनन् । तुरुन्त जाने भए नेपाल जान सकिने जानकारी पाए । त्यसपछि उनले दक्षिणी एसियाको एउटा सानो देश नेपालबारे बुझ्न थाले । नेपाल आउनुअघि उनले नियमअनुसार कृषिमा काम गर्न कनिष्ठ प्राविधिक सहायक (जेटीए) को तीनमहिने तालिम लिए ।

अमेरिकाबाट उनी कोलकाता आइपुगे । त्यहाँको भीडभाड र घन्चमन्च देखेरै उनी आत्तिए । कोलकाताबाट काठमाडौं ओर्लिंदा उनलाई अनौठो ग्रह पुगे जस्तो लाग्यो । उनी पुराना दिन सम्झिन्छन्, ‘काठमाडौं बडो विचित्रको थियो । सडकमा गाडीभन्दा धेरै गाईबस्तु थिए । मान्छे थोरै थिए । सफा र सुन्दर थियो ।’ एक साता काठमाडौं बसेर उनी आफूजस्तै पिसकोर भोलेन्टियर भएर आएका साथीहरूसँग टाटा ट्रकको पछाडि बसेर त्रिभुवन राजपथको घुमाउरो बाटो हुँदै बाराको परवानीपुर पुगे । त्यहाँ उनी एक साता मात्रै बसे । जीवनमै पहिलोपल्ट उनले परवानीपुरमा लहलह धान देखे । अमेरिकाको पेन्सिलभेनियाको चिसोमा हुर्केका माइकलले धान झुलेको कहिल्यै देखेका थिएनन् ।

एक साता त्यहाँ बसेर उनी वीरगन्जबाट रक्सौल हुँदै रेल चढेर जयनगर पुगे । अनि त्यहाँबाट जनकपुर । उनीसँगै गएका साथीहरू कसैको कार्यक्षेत्र महेन्द्रनगर थियो, कसैको लालगढ । तर उनको कार्यक्षेत्र थियो, जनकपुरबाट नजिकैको गाउँ बसैया । करिब २ देखि अढाई सय घरधुरी भएको बसैया विशुद्ध देहाती बस्ती लाग्थ्यो । ‘भूमिहार, बाहुन, यादव, तेली र चमारदेखि मुसलमानहरूसम्म सबैको मिश्रित बसोबास थियो,’ उनले सुनाए ।

माइकललाई बस्ने व्यवस्था मिलाइएको थियो, स्थानीय तुलसीमेयर आश्रमको नेतृत्व सम्हालेका गान्धीवादी स्थानीय बतहु शर्मा भूमिहारको घरमा । बतहुका छोरा उपेश्वरप्रसाद शर्मालाई माइकल अहिले पनि सम्झिन्छन् । केही वर्ष मात्र जेठा उपेश्वर उनका निम्ति साथी भएका थिए ।

बसैयाका निम्ति माइकलको गोरो अनुहार र अंग्रेजी मात्रै बोल्ने मान्छे कुनै फरक ग्रहबाट आए जस्तो थियो । ‘बसैयामा पुगेको म पहिलो गोरो अनुहार भएको अंग्रेज थिएँ,’ माइकलले भने । बसैया नजिकैको जनकपुर चुरोट कारखानामा आएका केही रसियन देखेको भएकाले स्थानीयले माइकललाई पनि रसियन नै भन्ठान्थे । अंग्रेजहरूलाई म्लेच्छ भन्दै छोइछिटो गर्नुपर्ने सोच स्थानीयमा थियो । माइकलले खासखुस सुनेका थिए, ‘म्लेच्छलाई बास दिएको, भात खुवाएको भन्दै घरधनी बतहुको जात गएको कुरा स्थानीयले गर्थे । तर माइकलबारे स्थानीयले गरेको यस्तो प्रतिक्रिया शर्माजीले कहिल्यै उनलाई सुनाएनन् । अमेरिकाको चिसोमा हुर्किएका माइकललाई धनुषाको गर्मीले केही दिनमै हैरान बनायो । सुरुमा त उनलाई लागेको थियो, यही गर्मीले मरिन्छ कि क्या हो । तर बिस्तारै उनलाई मधेशको धुप बानी पर्दै गयो । उनका लागि मधेशको चिल्लोपिरोयुक्त खाना विशुद्ध नयाँ थियो । त्यहीं पुगेर उनले दालभात देखेका थिए । काँटा–चम्चामा अभ्यस्त हातलाई हातैले मुछेर सपासप खाने बानी लगाउनै केही दिन लाग्यो । नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ मान्छे, नयाँ संस्कृति र भोजन सबै कुरामा बानी पार्न माइकलले राम्रै धैर्य देखाए । ‘खान्की नमिलेर ८० किलोको शरीर घटेर ७० भइसकेको थियो,’ माइकल सम्झिन्छन् ।

बसैयामा माइकलले धान, गहुँ र आलु बालीमा काम गरे । उन्नत र नयाँ जातका बीउ स्थानीयलाई चिनाउँदै खेती प्रणालीमा सुधार ल्याउने काममा उनी लागे । जेटीए माइकलले पुस्तौंदेखि खेती किसानी गर्दै आएका स्थानीयलाई कृषि कर्ममा सघाइरहेका थिए । स्थानीय किसानले लगाउने धान र गहुँ अग्लो खालको थियो, जुन हावा लाग्नेबित्तिकै ढल्थ्यो र उत्पादन घट्थ्यो । माइकलले मेक्सिकोको एक संस्थाले अनुसन्धानपछि विकास गरेको नयाँ गहुँको प्रजाति स्थानीयलाई चिनाए । जुन होचो थियो, पुष्ट किसिमका दाना फल्थ्यो र रोटी खान पनि मीठो थियो । धानको नयाँ प्रजातिबारे पनि उनले किसानलाई परिचित गराए । तर धानभन्दा नयाँ गहुँको बाली त्यहाँ राम्रो भयो । उन्नत धानको बीउलाई धेरै विषादी चाहिन्थ्यो । अनि भात पनि गिलो हुने भएकाले स्थानीयले मीठो मानेनन् । तर यो नयाँ धानको चिउरा भने खुबै मीठो बन्यो ।

धार्मिक स्वभावका स्थानीयहरू ग्रामीण कच्ची सडक छिचोल्दै जनकपुरधाम पुग्थे । दर्शन गर्थे र फर्किन्थे । माइकल पनि कहिलेकाहीं हिँडेरै साइकलमा जनकपुरधाम पुग्थे । त्यति बेला जनकपुरमा एकाध संख्यामा मात्र रसियन जिप देखिन्थे । उनले सम्झिए, ‘जनकपुर खुबै सफा थियो । पोखरी पनि सफा थिए । प्लास्टिकको प्रयोग पनि देखिन्थेन । मान्छेहरू पात वा कागजका सोलीमा सामान किनेर लगिरहेका भेटिन्थे ।’

तर अहिले समय फेरिएको छ । जनकपुर पनि त्यसैगरी परिवर्तन भएको छ । उनी चार वर्षअघि पुग्दा आफूले ०२३ सालतिर देखेको जस्तो जनकपुर भेटेनन् । जनकपुर पूरै बदलिइसकेछ । जनसंख्या कैयौं गुणा बढेछ । फोहोर सुरु भइसकेछ । उनले उति बेला देखेको बाह्र बिघा पहिल्याउन सकेनन् । जनकपुर चिन्नै सकेनन् ।

उनी पुग्दा बसैयामा नेपाली बोल्नेहरू एकाध मात्रै थिए । सबका सब मैथिली बोल्थे । कृषिमा आधारित अर्थतन्त्र थियो । खान पुग्ने अन्न फल्नु नै ठूलो कुरा थियो । बसैयाका दुइतिहाइ स्थानीयको आफ्नै जमिन थियो । जमिन नभएकाले अरूको खेतमा ज्यालामजदुरी गर्थे । स्थानीय सारै दयालु थिए ।

माइकल बेलाबेला उपेश्वर र उनका साथी मोहम्मद अन्सारीसँग जनकपुर जान्थे । बाहिरफेर बसेर खाएको बात लाग्ला भन्ने डरले उनीहरू जनकपुरतिर गएका समयमा मात्रै खाजा खान्थे । गाउँमा जातका आधारमा हुने भेदभाव गहिरो थियो । उनी बस्ने घर छेवैमा स्थानीय धनीमानी गोगुलबाबु शर्माको आँपको बगैंचा थियो । उनले खाने पानी त्यही बगैंचाभित्रको धाराबाट एक जना स्थानीय चमारले हरेक बिहान गाग्रीमा ल्याइदिन्थे । एक दिन एक जना बाहुनले चमार भएर पानी ओसार्ने भन्दै गाली गरेको सुने । माइकललाई यो कुरा चित्त बुझेन । उनले ती बाहुनलाई हकारिदिए ।

गाउँमा धनीमानी गोगुलबाबुको छुट्टै सान थियो । घटनामा संलग्न नभए पनि जनकपुर बमकाण्डमा लागेको भन्दै उनलाई प्रहरीले पक्रेर ६ महिनासम्म थुनेको थियो । माइकललाई लाग्छ, सायद गोगुलबाबुलाई पक्रिनुका पछाडि राजनीतिक कारण थियो ।

माइकल बसैयामा बिस्तारै रमाउन सिक्दै थिए । शिवरात्रिमा खाने भाङ, घरेलु रक्सी सबै उनका लागि नयाँ स्वाद थिए । बसैयामा मात्रै होइन, सबैतिर १० वर्षभन्दा बढी र ६०/७० वर्षभन्दा कम उमेरका महिला विरलै एक्लै घरबाहिर निस्कन्थे । घर नै उनीहरूको संसार थियो । माइकल बसेको घरका आमा र दिदीबहिनीहरू उनलाई देख्दा हतपत सारीको सप्कोले टाउको र अनुहार छोपेर भित्र छिर्थे ।

बसैयामा बसेकै बेला अमेरिकामा उनका हजुरबा बिते । उनले बसैयाकै संस्कृतिअनुसार कपाल मुण्डन गरे । अनि ३० जना जति मानिस बोलाएर खाना पनि खुवाए । बिस्तारै उनी मधेशको रङमा मिसिँदै गए । उनले एक जना झा थरकी महिलालाई आमा पनि बनाएका थिए । जिल्ला अस्पतालमा काम गर्ने झा माइकलकै भाषामा ‘अच्छा कुक’ थिइन् । माइकल बेलाबेला त्यहाँ खाना खान निम्त्याइन्थे । त्यहाँ खाएको घिउ र दाल उनी अहिले पनि सम्झिरहन्छन् ।

त्यति बेला जनकपुरमा कृषि सामग्री संस्थान थियो, जहाँ सबै पहाडिया कर्मचारी मात्रै थिए । ती कर्मचारी स्थानीय मधेशी किसानलाई हेप्थे ।

माइकलले जनकपुरमै भेटेका थिए, अमेरिकी माइक फ्रेमलाई । माइक कृषि फार्ममा सल्लाहकारका रूपमा कम गर्थे । माइक पिसकोर भोलेन्टियरको पहिलो समूहमा सन् १९६३ मै नेपाल आएका थिए । माइकल भने १२औं समूहमा । माइक तिनै व्यक्ति हुन्, जसले पछि लैनचौरमा माइक ब्रेकफास्ट खोलेर काठमाडौंवासीलाई अमेरिकी ब्रेकफास्टमा बानी पारेका थिए । हरेक साता जस्तो उनी अरू गाउँमा रहेका अमेरिकी भोलेन्टियरसँग भेला हुन्थे र त्यसमा रमाउँथे ।

बसैयामा एउटा सरकारी विद्यालय थियो । उनको अनुमानमा त्यहाँ माध्यमिक तहसम्म मात्रै पढाइ हुन्थ्यो । स्कुलमा ५ कक्षाभन्दा माथिका कक्षामा छात्रा थिएनन् । स्कुल पढ्ने छात्र पनि उपल्लो जातका मात्रै हुन्थे । तत्कालीन राजा महेन्द्रको जन्मदिनमा स्कुलमा एउटा कार्यक्रम गरिएको थियो । माइकल पनि रैथाने जस्तै देखिन कुर्ता र धोती लगाएर फुटबल खेल्न पुगेका थिए । खेल्दै गर्दा उनको धोती फुस्कियो । त्यो दिन सम्झिँदै माइकलले लामो हाँसो रोकेर भने, ‘धन्न मेरो कुर्ता लामो थियो र छोपियो ।’

दुई वर्ष बसैया बसेर काठमाडौं फर्किएपछि माइकलले पिसकोरमा भनेर थप एक वर्ष समय थपे । त्यो एक वर्ष उनले नुवाकोटको रानीपौवा मुन्तिरको थानसिङ गाउँमा बिताए । मधेशमा दुई र पहाडको एकवर्षे बसाइपछि माइकल नेपालसँग सम्मोहित भए ।

फर्केर अमेरिका गएपछि उनले अमेरिकाको क्यालिफोर्नियास्थित पिसकोर सेन्टरमा एक वर्ष काम गरे । त्यसपछि मेक्सिको पुगे । फोटोग्राफी सिके । अमेरिका फर्केर झन्डै ५ वर्ष फोटो पत्रकारितामा बिताए । त्यसमा मन नअडिएपछि उनले कानुन पढे । त्यसपछिका झन्डै १५ वर्ष उनले वकालती गरेरै बिताए ।

सिलिकन भ्यालीको गतिलो कमाइ हुने ल फर्मको काम चटक्कै छाडेर बिहेपछि सन् १९८५ मा माइकल फेरि श्रीमतीसहित नेपाल फर्किए । कहिले महिला न्यायिक सेवा परियोजना त कहिले हर्क गुरुङसहितले चलाएको अनुसन्धानमूलक संस्था न्यु इरामा कानुनी सल्लाहकारका रूपमा काम गरे । त्यसपछि भने शैक्षिक छात्रवृत्ति दिने अमेरिकी संस्था फुलब्राइटको नेपाल डाइरेक्टर भएर माइकलले १९९८ देखि २००५ सम्म ७ वर्ष बिताए । त्यसपछि पनि उनको मन नेपालबाट हटेको छैन । उनी दुईतिहाइ समय नेपालमै बिताउँछन् । बेलाबखत अमेरिका त गइरहन्छन् । तर उनको मन नेपालतिरै हुन्छ ।

नेपालका ५० भन्दा धेरै जिल्ला डुलिसकेका माइकल मधेशको बदलिँदो अनुहार देखेर छक्क पर्छन् । नेपालको ५० वर्षभन्दा लामो अवधिमा देखिएका परिवर्तनलाई नियालेका माइकल जीविकोपार्जनका तौरतरिका बदलिएको र आम्दानीको स्रोतमा देखापरेको बदलाव देखेर अचम्म मान्छन् । आम्दानीको मुख्य स्रोत रहेको कृषि बिस्तारै सहायक स्रोत बन्दै गएको बताउने माइकल पुरानै सफा, स्वच्छ काठमाडौं र मधेशका दृश्य सम्झिँदा भने आधुनिक बन्दै जाँदा गुमाएका दिन सम्झिएर थकथकाउँछन् ।

प्रकाशित : असार २५, २०७९ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्

विद्यापतिगढ र रौजा मजार

विद्यापतिका नामसँग जोडिएका दरबारको अवशेष (गढ), पोखरी, मठमन्दिर तथा अन्य पुराताफ्विक अवशेष मधेशका तीन स्थानमा छन् तर कुनचाहिँ आधिकारिक हो भन्ने विषयमा बृहत् अध्ययन हुन सकेको छैन
श्यामसुन्दर शशि

दिल्लीका सम्राट् गयासुद्दिन तुगलकले सन् १३२४ मा बाराको सिम्रौनगढस्थित तिरहुत (मिथिला) माथि विजय हासिल गरेपछि कर्णाटवंशीको शासन सुरु भयो । दिल्लीका अर्का सुल्तान फिरोज शाह तुगलकले प्रथम बंगाल आक्रमणबाट फर्किने बेला सनदपत्र जारी गरेर सन् १३५४ मा मिथिलाको शासनभार ओइनिवारवंशीय ब्राह्मण कामेश्वर ठाकुरलाई सुम्पे ।

यसरी दक्षिणी मिथिलामा ओइनिवार वंशको र अहिलेको नेपाल तराईमा अर्का द्रोणवारवंशी पुरादित्यको शासन स्थापित भयो । पुरादित्य पनि कर्णाटवंशी राजाहरूकै सन्तति भएको विभिन्न स्रोतग्रन्थमा उल्लेख छ ।

पुरादित्य र ओइनिवारवंशी अन्तिम राजा शिव सिंह असल मित्र थिए । बौद्धमार्गी पुरादित्यलाई सनातन हिन्दु बनाउने उद्देश्यले शिव सिंहले मित्रता गरेको रामदेव राय दनुवारले ‘दनुवार जातिको ऐतिहासिक रूपरेखा’ पुस्तकमा उल्लेख गरेका छन् । पुरादित्यको राजधानी बनौलीमा मैथिलीका महाकवि विद्यापतिले बाल सखा एवं मित्र शिव सिंहकी पत्नी रानी लखिमा र राजपरिवारका अन्य सदस्यसहित १२ वर्ष बिताएका थिए । उनले नेपाल प्रवासका क्रममा लिखनावली ग्रन्थ रचना गरेका थिए । श्रीमद्भगवद्गीताको प्रतिलिपिसँगै मैथिली भाषामा अनेक गीत पनि उनले रचना गरे । रानी लखिमासहित विस्थापित जीवन बिताउनुपरेका बेला महाकवि विद्यापतिले करुणरसको भावुक गीत रचना गरेका थिए ।

विद्यापतिले श्रीमद्भगवद्गीताको प्रतिलिपिको अन्त्यमा लेखेका छन्– ‘शुभमस्तु सर्वार्थगता संख्या ल.स. ३०९ श्रावण शुदि १५कु जै राजबनौली ग्रामेश्री विद्यापतेर्लिपिरियम् लक्ष्मण सेन संवत् ३०९ खृष्टाब्द १४१८ ई. ।’ महाकवि विद्यापतिले यहाँ उल्लेख गरेको राजबनौली ग्राम कुन हो ? यसबारे अझै विवाद छ । केहीले महोत्तरीको पिपरा गाउँपालिका–७ स्थित बनौलीलाई राजबनौली दाबी गर्छन् । केही सिरहाको लहानभन्दा पूर्वमा रहेको छपरारी नजिकको बाखर बनौलीलाई त केहीले सप्तरीको खाँडो खोला नजिकको बनौली हो भन्छन् । तीनवटै स्थानमा दरबारको अवशेष (गढ), विद्यापतिका नामसँग जोडिएका पोखरी, मठमन्दिर तथा अन्य पुरातात्त्विक अवशेष छन् । यसको बृहत् अध्ययन र उत्खनन हुन सकेको छैन ।

ओइनिवार वंशका अन्तिम राजा शिव सिंह सन् १४१४ मा जौनपुरका सुल्तानसँग भएको युद्धमा बेपत्ता भएका थिए । पछि महाकवि विद्यापतिले शिव सिंहकी धर्मपत्नी लखिमा रानी र राजपरिवारका अन्य सदस्यलाई साथ लिई पुरादित्यको दरबारमा शरण लिएका थिए । उनले पुरादित्यको आदेशअनुसार लिखनावलीको रचना गरेका थिए । लिखनावलीमा जनकपुरको चर्चा पनि छ ।

इतिहासकार वासुदेवलाल दासका अनुसार विद्यापतिकाल (सन् १३५०–१४५०) मा दक्षिणतर्फ ओइनिवार वंशीय राजाहरूको राज्य थियो । यस्तै उत्तर कमला नदीपूर्व सप्तरीमा द्रोणवार वंशीय पुरादित्यको तथा कमला पश्चिम महोत्तरीमा सिंहनारायणको राज्य थियो । २०१८ सालअघि सिरहा सप्तरीमा र धनुषा महोत्तरी जिल्लामा थिए । दासका अनुसार पुरादित्यका जेठा छोरा बल्लभ देवको विवाह सिंहनारायणकी जेठी छोरीसँग भएको थियो । सिंहनारायणले ज्वाइँलाई कमला पश्चिममा अवस्थित खरिहानी गाउँ (अचेल सबैला नगरपालिकामा पर्छ) बिर्ता दिएका थिए । जहाँ अझै पनि द्रोणवार वंशका मानिस बसोबास गर्छन् र उनीहरूलाई स्थानीय बासिन्दाले राजा भनेर सम्बोधन गर्छन् ।

लेखक रामदेव राय दनुवारले सिरहा जिल्लाको साबिक भवानीपुर वडा नम्बर ६ स्थित बाखर बनौली पुरादित्यको राजधानी भएको दाबी गरेका छन् । त्यहाँ अवस्थित उँभो लागेको ढिस्को (गढ), पोखरीहरूको भग्नावशेष, राजागढी ठाकुर र गढही बमभोला पोखरी एवं बौकी महारानीको मन्दिर आदिका आधारमा उनले यस्तो दाबी गरेका हुन् । यस क्षेत्रमा थारू र दनुवारहरूको उल्लेख्य जनसंख्या हुनु तथा उनीहरू आफूलाई द्रौणवारवंशी भएको दाबी गर्नुलाई पनि इतिहासकारहरूले दरिलो तर्कका रूपमा प्रस्तुत गरेका छन् ।

अर्कातर्फ ३ कट्ठामा फैलिएको माटोको ढिस्को (गढी), झन्डै चार बिघाको लखीसागर (हाल लक्ष्मीसागर), लखी घराडीको नामले चिनिने घडेरी जग्गा तथा पुरातन डिहवार स्थानको अवशेषका आधारमा महोत्तरीको बनौलीलाई केही इतिहासकारले पुरादित्यको राजधानी दाबी गर्दै आएका छन् । स्थानीय ७६ वर्षीय उदितनारायण झाका अनुसार लक्ष्मीसागरको पुरानो नाम लखीसागर शिव सिंहकी पत्नी लखिमा देवीका नाममा राखिएको हो ।

नाम अपभ्रंस हुँदै लक्षी र अचेल लक्ष्मीसागर हुन पुगेको हो । यसैगरी लखी घडेरीको पुरानो नाम लखिमा घडेरी रहेको तर्क उनको छ । आधुनिक मैथिली साहित्यका अग्रणी साहित्यकार धीरेश्वर झा ‘धीरेन्द्र’ नेतृत्वको एक टोलीले चार दशकअघि महोत्तरीको बनौलीस्थित विद्यापति डिहको स्थलगत निरीक्षण गरेको थियो । विद्यापतिले १२ वर्ष बिताएको स्थान यही हो भनेर उनले दाबी गरेका थिए ।

पुरादित्यको राजधानी भनिएको विद्यापति डिहको दक्षिण तथा लक्ष्मीसागरको डिलबाट पुरानो सडकको अवशेष पनि भेटिएको छ । जसलाई स्थानीयले पुरादित्य दरबारको सडक भन्छन् । मधेश प्रदेश सरकारले यस सडकलाई विद्यापति डिह मार्ग नामकरण गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटको बुँदा नम्बर १०१ मा भनिएको छ– ‘बनौली विद्यापति डिहको पर्यटकीय तथा सांस्कृतिक विकासका लागि विद्यापतिको प्रतिमासहित प्रवेशद्वारदेखि एकरहिया, सहोरबा, विद्यापति डिह हुँदै मठिहानीसम्म विद्यापति डिह मार्ग बनाउने कार्यलाई अगाडि बढाउन २ करोड बजेट विनियोजन गरेको छु ।’ गत आर्थिक वर्षको बजेटमा पनि मधेश सरकारले महोत्तरीको विद्यापति डिह संरक्षण, विद्यापति पोखरीको सौन्दर्यीकरण, पुस्तकालय तथा संग्रहालय निर्माणका लागि झन्डै १३ करोड बजेट छुट्याइएको थियो ।

बौद्ध धर्मको प्रभाव क्रमशः शिथिल हुँदै गएको र दक्षिणमा मुसलमानी शासकहरूको फुर्तीफार्ती बढ्दै गएको समय सन् १३५० मा मैथिली भाषाका महाकवि विद्यापतिको जन्म भएको थियो । जातिपाती र देवीदेवताको अस्तित्व अस्वीकार गर्ने बौद्धमार्गीले समाजमा नयाँ वर्ग निर्माण गर्दै थिए । सामाजिक व्यवस्था अस्तव्यस्त बन्दै थियो ।

अर्कातिर मुसलमान शासकहरू देवीदेवताका प्रतिमा भाँच्ने अनि जबर्जस्ती धर्म परिवर्तन गराउने अभियानमा जुटेका थिए । सनातन हिन्दुहरू चारैतिरबाट दबाबमा थिए । समाज तीन ध्रुवमा विभाजित रहेका बेला महाकवि विद्यापतिले आफ्ना सुमधुर गीतमार्फत समाज जोड्ने अभियान चलाए । राधा–कृष्ण विषयक गीतमार्फत समाजमा प्रेमरस सञ्चार गरे । भक्ति रसका गीतहरूमार्फत सनातनीहरूमा हिन्दु धर्मप्रति विश्वास जगाए । कर दिन इन्कार गरेका ओइनिवारवंशीय राजकुमार शिव सिंहलाई दिल्ली नरेश नसरत शाह भन्ने नसिरुद्दिन महमुदले बन्दी बनाएर दिल्ली लगेका थिए ।

रौजा मजारको महत्त्व

मध्यकालीन समाज अस्तव्यस्त थियो । राजा रजौटाबीच युद्ध भइरहन्थ्यो । धार्मिक र सांस्कृतिक संक्रमण उत्कर्षमा थियो । तन्त्र–मन्त्र, जादुटुनामाथि दरिलो विश्वास थियो । सिद्धपुरुषहरू जंगल, गुफा र खोला किनारमा तपस्या गरेर बस्थे । यसै बेला हालको महोत्तरी जिल्लाको बलवा नगरपालिका–११ रौजा भन्ने स्थानमा हजरते गदा अली शाह नामका सिद्धपुरुष आइपुगे । उनीसँगै अन्य दुई सिद्धपुरुष थिए– रहमत अली शाह र बहार अली शाह । बाघ, सिंह, चितुवा र हात्तीजस्ता हिंस्रक जनावरहरूको बिगबिगी रहेको घना जंगलमा उनीहरूले डेरा जमाए । अनि आफ्ना सद्विचार र मानव सेवामार्फत केही दिनमै चर्चित भए । रौजा मजार सरिफमा यिनै तीन महापुरुषको मजार रहेको त्यहाँका मौलाना सौकत अलीको भनाइ छ । मधेश प्रदेशको राजधानी जनकपुरभन्दा १५ किलोमिटर पश्चिममा अवस्थित रौजा मजार सरिफ अचेल हिन्दु र मुसलमानहरूको संगम स्थल बनेको छ । त्यहाँ पूजा, दर्शन गर्न र बलि चढाउन दुवै थरी धर्मावलम्बी जाने गर्छन् । प्रत्येक वर्ष चैत ९ देखि ११ सम्म लाग्ने विशेष मेलामा नेपाल र भारतका लाखौं श्रद्धालु ओइरिन्छन् । मौलाना सौकत अलीका अनुसार मेला भर्न तथा मजारमा आशिष थाप्न भारतको कश्मीरदेखि पाकिस्तानसम्मका श्रद्धालु आउने गर्छन् । सोमबार, बुधबार र बिहीबार पनि घुइँचो हुन्छ । अन्य दिनमा पनि सयौं श्रद्धालु दर्शन गर्न तथा बलि चढाउन आउँछन् ।

असाध्य रोगबाट मुक्ति पाउने विश्वासमा झन्डै एक हजार जना परिवारसहित रौजा मजारको वरिपरि झुपडी बनाएर र नजिकका गाउँमा बसेका छन् । उनीहरू बिहान–बेलुका रौजा मजारमा दुवा (आशिष) थाप्ने गर्छन् । पछिल्लो समय एक जनाले उनीहरूलाई भाडामा लगाउन घर नै निर्माण गरेका छन् । घरीघरी बेहोस भइरहने लहान नगरपालिका, अमहीका १९ वर्षीय हरिकिसन महतो डेढ महिनादेखि मजारको उत्तरमा निर्मित भाडाको कोठामा बसेर बिहान–बेलुका दुवा थाप्दै छन् । हरिकिसनकै रेखदेखका लागि उनकी आमा र बहिनी पनि आएका छन् । रौजा मजार सरिफ विकास समितिका अध्यक्ष मोहम्मद सलिमका अनुसार बलि र दान पेटिकामा पर्ने रकम गरी मजारमा वार्षिक २५ लाख रुपैयाँसम्म आम्दानी हुन्छ । त्यही आम्दानीबाट मजारको सरसफाइ, खानेपानी तथा कर्मचारीको तलब दिइन्छ । प्रत्येक वर्ष चैतमा लाग्ने तीनदिने जलसामा २० लाख रुपैयाँ जति खर्च हुने गरेको सलिमले जानकारी दिए ।

गत आर्थिक वर्षमा मधेश प्रदेश सरकारले रौजा मजारको कार्यालय, पर्खाल, शौचालय, जनाजा (मुर्दा) घर, खानेपानीलगायत व्यवस्थापनका लागि १२ करोड विनियोजन गरेको थियो । त्ययसबाट धेरै काम भए पनि ठेकेदार मस्जिद निर्माण अधुरै छाडेर बेपत्ता भएको सलिमले जनाए ।

प्रकाशित : असार २५, २०७९ ०९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×