प्रदेश ५ मा कोरोनामुक्त हुनेको संख्या ५ हजार नाघ्यो

भाद्र १६, २०७७

सन्जु पौडेल

तिलोत्तमा — प्रदेश ५ मा पछिल्लो २४ घण्टामा ६३ नयाँ संक्रमित फेला परेका छन् । जसमा महिला ३२ जना र पुरुष ३१ जना रहेका छन् । कुल ६ हजार ५ सय ६२ संक्रमित रहेको प्रदेश ५ मा ५ हजार १६ जना निको भइ घर गएको प्रदेश ५ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको मिडिया ब्रिफिङमा बोल्दै सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले हाल १ हजार ४ सय ५२ जना आइसोलेसनमा उपचाररत रहेको बताए । उनका अनुसार यो नेपालभरको कुल संक्रमित संख्याको १५ प्रतिशत हो । 

प्रदेशमा रहेका विभिन्न आइसोलेसन अस्पतालमध्ये लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित धागो कारखाना कोरोना विशेष अस्पतालमा १७ जना सामान्य कक्ष, १४ आइसियु र ३ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै भिम अस्पताल भैरहवामा २३ संक्रमित सामान्य उपचार कक्षमा उपचाररत रहेका छन् भने आईसियूमा शून्य संख्या रहेको छ । बाँकेको सुशिल कोइराला प्रखर क्यान्सर रोग अस्पतालमा समान्य कक्षमा ४० उपचाररत रहेका छन् भने सघन उपचार कक्षमा संक्रमित छैनन् र दाङको बेलझुण्डी अस्पतालमा ३२ सामान्य र १ जना आईसियूमा उपचाररत रहेका छन् ।

प्रदेशमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully