कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारका ९ जनामा संक्रमण पुष्टि

दाहसंस्कारमा सहभागी ४ जनामा पनि कोरोना

भाद्र १६, २०७७

सन्जु पौडेल

तिलोत्तमा, रुपन्देही — रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ चैनपुर टोलका एकै परिवारका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत भदौ ६ गते उपचारका लागि भारतको गोरखपुर लैजाने क्रममा मृत्यु भएका चैनपुरका संक्रमितको परिवारका ९ सदस्यलाई अहिले कोरोना संक्रमण देखिएको गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले जानकारी दिए ।

त्यस्तै उनको दाहसंस्कारमा सहयोग गरेका सोही टोलका अन्य ४ जनामा समेत संक्रमण देखिएपछि चैनपुरमा कोरोना समुदायमा व्यापक हुने डरले टोल नै सिल गरिएको अध्यक्ष यादवले जनाए ।

सोममार साँझ आएको रिपोर्टमा उनीहरुमा संक्रमण देखिएको यादवले बताए । ‘गत भदौ ८ गते पठाइएको ६२ जनाको स्वाबमध्ये २९ जनाको रिपोर्ट आएकामा एकै परिवारका ९ र अन्य ४ जनाको रिपोर्ट पोजिटिभ आयो,’ उनले भने, ‘अन्यको रिपोर्ट आउन बाँकी छ ।’

अहिले चैनपुर टोललाई सिल गरिएको उनले बताए ।  रोहिणी गाउँपालिकामा अहिलेसम्म २१ जनामा कोरोना देखिएको छ भने २ जना निको भएर घर फर्केका छन् ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully