जिसस धादिङको प्रमुखमा माओवादीका अधिकारी निर्वाचित

धादिङ — जिल्ला समन्वय समिति धादिङको प्रमुखमा नेकपा माओवादी केन्द्रका नवराज अधिकारी र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका कुलमान विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । ७ जना सदस्य भने नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् ।

निर्वाचित सदस्यहरु सुकमाया सुनार, कविता विक परियार, बिन्दा विक, उत्तम घले, रवीन्द्रजंग तामाङ, रामप्रसाद रिजाल, ईश्वर केसी छन् ।
जिल्ला समन्वय समिति धादिङको अध्यक्ष, उपाध्यक्ष र ७ जना सदस्य गरी ९ पदमा १/१ जनाको मात्रै उम्मेदवारी परेको थियो । सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले मिलेर साझा उम्मेदवारी दिए भने एमाले उम्मेदवारी नदिएपछि सबै जना निर्विरोध भएका हुन् । नवनिर्वाचित प्रमुख, उपप्रमुख र सदस्यहरुले शपथग्रहण र पदभारसमेत ग्रहण गरेका छन् ।
जिल्लाको १३ वटा स्थानीय तहमध्ये नेकपा एमालेले २ वटा गाउँपालिका प्रमुख जितेका थिए । एउटा गाउँपालिकाबाहेक सबै स्थानीय तहमा गठबन्धन गरेका थिए । २०७४ सालको जिसस निर्वाचनमा सबै पदमा एमालेका उम्मेदवार विजयी भएका थिए । यसपटक भने एमालेले उम्मेदवारी दर्तासमेत गरेनन् ।
प्रकाशित : जेष्ठ २९, २०७९ १६:४६