३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

जिसस सिन्धुली प्रमुखमा एकीकृत समाजवादीलाई एमालेको साथ

राजकुमार कार्की

सिन्धुली — जिल्ला समन्वय समिति सिन्धुलीमा नयाँ नेतृत्वका लागि हुने चुनावमा नेकपा (एकीकृत समाजवादी)लाई नेकपा एमालेले साथ दिएको छ । जिससको प्रमुखका लागि एकीकृत समाजवादीका जिल्ला अध्यक्ष समेत रहेका सूर्य पाख्रिनको प्रस्तावक र समर्थक एमालेका पालिका अध्यक्ष तथा उपप्रमुख बसेपछि उम्मेदवारी दर्ता भएको छ ।

जिसस सिन्धुली प्रमुखमा एकीकृत समाजवादीलाई एमालेको साथ

एमालेले समन्वय समितिको प्रमुखमा उम्मेदवारी नदिएर समाजवादीका उम्मेदवार पाख्रिनलाई समर्थन गरेको छ । ९ वटा पालिकाको १८ मध्ये एमालेको ४ मत रहेको छ । १४ मत माओवादी केन्द्र र कांग्रेसको छ । माओवादी केन्द्र र कांग्रेसले गठबन्धन गरेर भागबन्डा गरेका छन् ।

एमालेको समर्थन नभएको भए प्रस्तावक, समर्थक नभएर पाख्रिनको उम्मेदवारी दर्ता हुने थिएन । एमालेबाट निर्वाचित कमलामाइ नगरपालिका उपप्रमुख मञ्जु देवकोटा प्रस्तावक र गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर बराल समर्थक भएपछि पाख्रिनको उम्मेदवारी दर्ता भएको निर्वाचनअधिकृतको कार्यालयले जनाएको छ । देशभर एमाले र एकीकृत समाजवादीका नेताबीच तिक्ततापूर्ण सम्बन्ध रहेको बेला सिन्धुलीमा भने तालमेल भएको हो । पाख्रिनलाई समन्वय प्रमुखमा समर्थन गरेको एमालेले उपप्रमुखसहित सदस्यमा भने उम्मेदवारी दर्ता गराएको छ ।

स्थानीय तहको निर्वाचनअघि सत्ता गठबन्धनले पालिका भागबन्डा गर्दा एकीकृत समाजवादीलाई जिल्ला समन्वय समिति प्रमुख दिने भनेर लिखित सहमति भए पनि माओवादी केन्द्र र कांग्रेसले त्यसलाई लत्याएको उम्मेदवार पाख्रिनको आरोप छ । एकीकृत समाजवादीलाई समन्वय प्रमुख र जनता समाजवादीलाई उपप्रमुख भागबन्डा गरिएको साँचो भए पनि उधारो सहमति अमान्य भन्दै दुवै दल हस्ताक्षरबिनै बाहिरिएकाले माओवादी केन्द्र र कांग्रेसबीच निर्वाचनपछि गठबन्धन बनेको वाग्मती प्रदेससभा सदस्य एवं माओवादी केन्द्र जिल्ला इन्चार्ज लेखनाथ दाहालले प्रस्ट्याए ।

कांग्रेस सभापति एवं कमलामाइ नगरपालिका प्रमुख उपेन्द्र पोखरेलले गठबन्धन लामै समयका लागि भएकाले ४ वटा पालिका प्रमुखमा विजयी भएको माओवादी केन्द्रलाई समन्वय प्रमुख र तीनवटा पालिका प्रमुख जितेको कांग्रेसले उप प्रमुख लिएर सहमति गरेको बताए । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कार्साङ लामाले प्रमुखमा र शान्ता कार्कीले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् । लामा हरिहरपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।

गठबन्धनमा प्रमुखसहित दुई सदस्य माओवादी केन्द्र र उपप्रमुखसहित पाँच सदस्य कांग्रेसले लिने सहमति भएको खुलाइएको छ । सदस्यमा माओवादीबाट दानबहादुर तामाङ र सुनिताकुमारी थापामगर, कांग्रेसबाट उत्पल खड्का, सूर्य तामाङ, बालकुमारी मगर, पुष्पाकुमारी धामी र गोकर्ण सार्कीले उम्मेदवारी दिएका छन् । एमालेका तर्फबाट पूर्णबहादुर थापा, होमकुमारी ठकुरी, मुना परियार, बद्री देवकोटा, सुशील घिसिङ र शर्मिला माझीले सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । सिन्धुलीमा २८ गते शनिबार निर्वाचन हुँदैछ ।

प्रकाशित : जेष्ठ २६, २०७९ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?