१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

जिसस सिन्धुलीमा ९ पदका लागि १७ जनाको उम्मेदवारी

राजकुमार कार्की

सिन्धुली — जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुखसहित ९ पदका लागि सिन्धुलीमा १७ जनाको उम्मेदवारी दर्ता भएको छ । समन्वय समितिको प्रमुखमा २, उपप्रमुखमा २ र ७ सदस्यहरुका लागि १३ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले जानकारी दिए ।

जिसस सिन्धुलीमा ९ पदका लागि १७ जनाको उम्मेदवारी

निर्वाचनका लागि सत्तारुढ दल कांग्रेस र माओवादी केन्दबीच गठबन्धन भएको छ । एमाले र एकीकृत समाजवादीले भने एक्लाएक्लै उम्मेदवारी दिएका छन् ।

गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कार्साङ लामाले प्रमुखमा र शान्ता कार्कीले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् । लामा हरिहरपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । सुनकोसी गाउँपालिका ७ बाट वडा सदस्यमा निर्वाचित कार्की कांग्रेस नेता हुन् ।

यस्तै एकीकृत समाजवादीबाट सूर्य पाख्रिनले प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । पाख्रिन एकीकृत समाजवादी सिन्धुलीका अध्यक्षसमेत हुन् । उपप्रमुखमा एमालेका सोमबहादुर बलले उम्मेदवारी दर्ता गराएका छन् । एमालेले प्रमुख पदमा उम्मेदवारी दिएको छैन ।

गठबन्धनमा प्रमुखसहित २ सदस्य माओवादी केन्द्र र उपप्रमुखसहित ५ सदस्य कांग्रेसले लिने सहमति भएको छ । सदस्यमा माओवादीबाट दानबहादुर तामाङ र सुनिताकुमारी थापामगर, कांग्रेसबाट उत्पल खड्का, सूर्य तामाङ, बालकुमारी मगर, पुष्पाकुमारी धामी र गोकर्ण सार्कीले उम्मेदवारी दिएका छन् । एमालेका तर्फबाट पूर्णबहादुर थापा, होमकुमारी ठकुरी, मुना परियार, बद्री देवकोटा, सुशील घिसिङ र शर्मिला माझीले सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

सिन्धुलीमा माओवादी केन्द्रले १ नगरपालिका प्रमुखसहित ३ गाउँपालिका अध्यक्ष र ३ गाउँपालिका उपाध्यक्ष जितेको छ भने कांग्रेसले १ नगरपालिका प्रमुखसहित २ गाउँपालिकाको अध्यक्ष र १ नगरपालिकाको उपप्रमुखसहित ३ गाउँपालिकाको उपाध्यक्ष जितेको छ । एमालेका २ अध्यक्ष र १ उपप्रमुख र १ उपाध्यक्ष छन् । गाउँसभा वा नगरसभाको सदस्यमा निर्वाचित भएको र नियमावलीको नियम ३८ (क) बमोजिम शपथ लिएको व्यक्ति जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदको लागि उम्मेदवार हुन पाउने व्यवस्था छ । स्थानीय तहको निर्वाचन सकिएको एक महिनाभित्र जिससको गठन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सिन्धुलीमा २८ गते शनिबार निर्वाचन हुँदैछ ।

प्रकाशित : जेष्ठ २५, २०७९ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?