कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

त्रियुगा-१२ मा पुन: मतदान गर्न एकीकृत समाजवादीको माग

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)को उदयपुर त्रियुगा नगरपालिका मेयर उम्मेदवार बलदेव चौधरीले वडा नम्बर १२ मा पुन: मतदान गर्न माग गरेका छन् । उनले पुन: मतदान नगरी मतगणना गरिएको प्रति आपत्ति जनाएका हुन् ।

त्रियुगा-१२ मा पुन: मतदान गर्न एकीकृत समाजवादीको माग

सञ्चारकर्मीहरूसँग कुरा गर्दै मतदान अधिकृतले नै पुन: मतदान हुने सूचना प्रकाशित गरेर स्थगित गरेपछि पनि मतगणना सुरु गरिएकोमा आपत्ति जनाएका छन् ।

'बाजुरा जिल्ला र त्रियुगामा एकै प्रकारको घटना भएको हो । एउटा ठाउँमा आयोगले पुनः मतदान गरायो र अर्को ठाउँमा भने मतगणना सुरु गरेको छ‚' चौधरीले भने, 'मतदान कार्यक्रम ढिलो गर्ने नियतले काम भयो । त्यस विषयमा विवाद भएपछि साढे ४ बजे पुन: मतदान गर्ने भनेर निर्वाचन स्थगित गरिएको थियो । ११ दिन ढिलो गरी मतगणना सुरु गरिएको छ ।'

उनले पुन: मतदान हुने भन्दै सो वडाको मतपेटिकालाई छुट्टै ठाउँमा भण्डारण गरिएको बताए । त्रियुगा-१२ मा पुन: मतदान गर्ने वा त्यहि मतदानलाई सही मानी मतगणना गर्ने भन्ने विषयमा विवाद हुँदा लामो समयसम्म अन्योल उत्पन्न भएको थियो ।

'निर्वाचन आयोगले पुन: मतगणना नगरेर मतगणना गर्ने काम गरेको छ; यो कानुनसम्मत छैन र स्वेच्छाचारी भयो । यो काम विधिसम्मत छैन । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दादागिरी गरेर कानुनको धज्जी उडाउने काम भएको छ‚' चौधरीले भने ।

'योजनाबद्ध रुपमा गरिएको कामविरुद्ध कानुनी रुपमा चुनौती दिन्छु । यसमा संलग्न सबैलाई अदालतमा उभ्याउँछु‚' चौधरीले भने।

चौधरीले आफ्नो राम्रो पकड रहेको वडामा गडबढ गरिएको बताए । 'त्यो मेरो वडा हो र २०५४ सालको स्थानीय चुनावदेखि नै त्यस वडाबाट मलाई ८० प्रतिशत मत आएको हो‚' चौधरीले दाबी गरे, 'कांग्रेस र एमालेका उम्मेदवारहरूसँग निर्वाचन अधिकृतहरूको साँठगाँठ रहेको देखिन्छ ।'

त्रियुगा नगरपालिकामा जारी मतगणनामा चौधरी दोस्रो स्थानमा रहेका छन् । पछिल्लो गणनाअनुसार मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेत ६ हजार २ सय २६ मतका साथ पहिलो स्थान रहेका छन् भने चौधरी ५ हजार २ सय ७६ मतका साथ दोस्रो स्थानमा छन् । त्यसैगरी नेकपा एमाले भागवत राउत ४ हजार ६ सय ९३ मतका साथ तेस्रो स्थानमा छन् । त्रियुगामा एकीकृत समाजवादी र माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् ।

प्रकाशित : जेष्ठ १३, २०७९ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?