कांग्रेसको विजयी र्‍यालीमा स्वतन्त्रबाट जितेका मेयर- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसको विजयी र्‍यालीमा स्वतन्त्रबाट जितेका मेयर

अजित तिवारी

जनकपुर — जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसले बुधबार निकालेको विजयी जुलुसमा स्वतन्त्र भएर मेयरमा जितेका मनोजकुमार साह पनि सहभागी भएका छन् । 

जनकपुरको गोपाल धर्मशालाबाट अपराह्न ३ बजेतिर निकालिएको विजयी जुलुसमा मेयरमा जितेका साहले पनि कांग्रेसकै व्यानर र तुल बोकेर नगर परिक्रमा गरेका छन् । गठबन्धन गर्दा जनकपुर उपमहानगरको मेयर जनता समाजवादी पार्टी (जसपा)को भागमा परेपछि कांग्रेसका जनकपुर नगरसभापति रहेका साहले पार्टीबाट राजीनामा गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी १३ हजार ४ सय ६५ मत ल्याएर जनकपुरको मेयरमा निर्वाचित भएका छन् । मतपरिणाम घोषणा भएको दिन सोमबार एक्लै विजयी उत्सव मनाएका साह बुधबार भने कांग्रेसकै विजयी र्‍यालीमा सरिक भए ।

स्वतन्त्रबाट उम्मेदवारी दिएका साह कांग्रेसको विजयी जुलुसमा सहभागी भएकोमा धेरैजसोले आश्चर्य मानेका छन् । तर, मेयरमा निर्वाचित साहले भने आफू कांग्रेसकै साथसहयोग र मतले विजयी भएको बताइरहेका छन् । ‘कांग्रेसको मत मतिर डाइभर्ट हुनु स्वाभाविकै हो,’ साहले केही दिनअघि कान्तिपुरसँग भनेका थिए,‘म कांग्रेसकै लागि काम गरेको हुँ । संगठन त्यही पार्टीको लागि बनाएँ । अनि उनीहरुले मलाई मत दिनु अस्वाभाविक होइन । मेरो हक लाग्छ ।’

कांग्रेसले जनकपुरधाम उपमहानगरमा उपमेयरसहित ११ वटा वडा जितेको छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्

कुटपिट आरोपमा एमाले सल्यानका पाँच कार्यकर्ता पक्राउ

विप्लव महर्जन

सल्यान — सल्यानको त्रिवेणी गाउँपालिका २ राजागिठीमा कांग्रेसका कार्यकर्ता ३७ वर्षीय खिमबहादुर पुनलाई कुटपिट गरेको आरोपमा एमालेका पाँच जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका २ राजागिठीका ३४ वर्षीय सोबबहादुर पुन, १६ वर्षीय धिरज राम्जा, ३० वर्षीय जोगेन्द्र नेपाली, २० वर्षीय प्रकास नेपाली र ४५ वर्षीय इन्द्रबहादुर पुन रहेका छन् ।

खिमबहादुर पुनलाई लाठी प्रहार गरेर कुटपिट गरेको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन्। एमालेबाट विजयी भएका त्रिवेणी गाउँपालिका २ का वडा अध्यक्ष हस्तबहादुर रामजाले आफ्नै घरमा विजयी भएको खुसियालीमा भोजको व्यवस्था गरेका बेला भोज सम्पन्न भएर घर फर्कने क्रममा नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ सुमित खड्काले बताए ।

घाइते खिमबहादुर पुनको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको र टाउकोमा गहिरो चोट लागेपछि जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको उनले जानकारी दिए ।

उनका अनुसार पक्राउमा परेका पाँच जनालाई इलाका प्रहरी कार्यालय लुहाममा राखिएको र थप अनुसन्धान भइरहेको छ । कुटपिट गर्नेले मदिरा सेवन गरेको आशंका गरिएको छ ।

चुनाव जितेको खुसियालीमा भोज खान गएका व्यक्तिलाई बिना कारण कुटपिट गर्नेलाई कडा कारबाही गर्न कांग्रेस सल्यानले आग्रह गरेको छ । आगामी दिनमा यस्ता गतिविधि नगर्न पनि सचेत गराइएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ १८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×