कांग्रेसको विजयी र्यालीमा स्वतन्त्रबाट जितेका मेयर


जनकपुर — जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसले बुधबार निकालेको विजयी जुलुसमा स्वतन्त्र भएर मेयरमा जितेका मनोजकुमार साह पनि सहभागी भएका छन् ।



जनकपुरको गोपाल धर्मशालाबाट अपराह्न ३ बजेतिर निकालिएको विजयी जुलुसमा मेयरमा जितेका साहले पनि कांग्रेसकै व्यानर र तुल बोकेर नगर परिक्रमा गरेका छन् । गठबन्धन गर्दा जनकपुर उपमहानगरको मेयर जनता समाजवादी पार्टी (जसपा)को भागमा परेपछि कांग्रेसका जनकपुर नगरसभापति रहेका साहले पार्टीबाट राजीनामा गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी १३ हजार ४ सय ६५ मत ल्याएर जनकपुरको मेयरमा निर्वाचित भएका छन् । मतपरिणाम घोषणा भएको दिन सोमबार एक्लै विजयी उत्सव मनाएका साह बुधबार भने कांग्रेसकै विजयी र्यालीमा सरिक भए ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका साह कांग्रेसको विजयी जुलुसमा सहभागी भएकोमा धेरैजसोले आश्चर्य मानेका छन् । तर, मेयरमा निर्वाचित साहले भने आफू कांग्रेसकै साथसहयोग र मतले विजयी भएको बताइरहेका छन् । ‘कांग्रेसको मत मतिर डाइभर्ट हुनु स्वाभाविकै हो,’ साहले केही दिनअघि कान्तिपुरसँग भनेका थिए,‘म कांग्रेसकै लागि काम गरेको हुँ । संगठन त्यही पार्टीको लागि बनाएँ । अनि उनीहरुले मलाई मत दिनु अस्वाभाविक होइन । मेरो हक लाग्छ ।’
कांग्रेसले जनकपुरधाम उपमहानगरमा उपमेयरसहित ११ वटा वडा जितेको छ ।
प्रकाशित : जेष्ठ ११, २०७९ १९:०३