२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

रुपन्देहीमा प्रमुख पद दोहोर्‍याउने ११ मध्ये १० उम्मेदवार पराजित

अमृता अनमोल

बुटवल — कतिपय स्थानमा दलले नपत्याएका स्वतन्त्र उमेदवारले जित हासिल गरिरहेका छन् । रुपन्देहीमा भने दलको तर्फबाट दोस्रो पटक उम्मेदवार बनेका सबैजसो उमेदवार पराजित बनेका छन् । दोस्रो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका उनीहरुले यसपटकको चुनाव हारेका छन् ।

रुपन्देहीमा प्रमुख पद दोहोर्‍याउने ११ मध्ये १० उम्मेदवार पराजित

रुपन्देहीका १६ स्थानीय तहमध्ये ११ वटामा प्रमुख तथा अध्यक्षले उही पद दोहोर्‍याउन चुनावी प्रतिस्पर्धा गरेका थिए । तीमध्ये १० वटा स्थानीय तहका उम्मेदवारले चुनाव हारेका छन् । मायादेवी गाउँपालिकामा ध्रुवनारायण चौधरीले मात्रै अध्यक्ष पद दोहोर्‍याउने मौका पाए ।

अघिल्लो कार्यकालमा स्थानीय तहको नेतृत्व गर्दा राम्रो काम गर्ने मात्र होइन, विवादमा समेत परेका जनप्रतिनिधि यसपटक पनि त्यही पद लिन चुनावी मैदानमा उत्रिएका थिए । दलले पत्याए पनि मतदाताले नपत्याउँदा उनीहरु सबै पराजित भए ।

रुपन्देहीका ८ स्थानीय तहमा त प्रमुख र उपप्रमुख दुवैले त्यही पदमा दोस्रो पटक प्रतिस्पर्धा गरेका थिए । नगरपालिका क्षेत्रमा यसअघि लोकप्रिय मत ल्याएर जितेका एमालेका चित्रबहादुर कार्कीले यसपटक हारे । एमालेकै प्रभाव क्षेत्र मानिने नगरमा अहिले कांग्रेसका फणेन्द्र शर्माले जिते । एमालेका कार्की भने आफ्नै वडामा पनि पछाडि परे ।

पराजित कार्कीले आफू पदका लागि नभएर आफ्नो कार्यकालमा थालिएका कतिपय दीर्घकालीन योजनाहरु पूरा गर्न नपाएकाले तिनलाई पूरा गर्न चुनावमा लडेको बताएका थिए । ‘मतदाताले नेतृत्वमा आलोपालो खोज्नुभयो,’ कार्कीले भने, ‘अब बाहिरै बसेर विकास र समृद्धिका लागि पहल गर्छु ।’

अघिल्लो निर्वाचनमा अरु सबै एमालेले जित्दा पनि नेपाली कांग्रेसबाट चुनाव जितेका हीराबहादुर खत्रीले पनि यसपटक दोस्रो पटक प्रमुख पद जोगाउन सकेनन् । एमालेका ध्रुब खरेलले उनलाई पराजित गरेका हुन् । ‘गाउँपालिकाबाट नगरपालिका बन्नासाथ नेतृत्व लिएको थिएँ । धेरै अत्यावश्यक र महत्वकांक्षी काम थालें । तर सबै काम ५ वर्षमा पूरा भएनन्,’ उनले भने, ‘नगरपालिका नमूना बनाउन पुन: यही नेतृत्व चाहिन्छ भन्ने चाहना अनुसार मतदातामाझ गएको थिएँ । तर सोचेको भएन ।’

यस्तै मनमोहन चौधरीले यसअघि बुद्धजन्मस्थलको लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्रबाट प्रमुख पद जितेका थिए । साढे ४ वर्ष स्थानीय तह चलाउँदासम्म स्वतन्त्र रहेका उनी चुनाव नजिकिन लागेपछि लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरे । त्यही पार्टीबाट चुनाव लडेका उनले दोस्रो कार्यकालका लागि भने सफल भएनन् । ‘पहिलो कार्यकाल सिकाइ र अनुभवमा बितेकाले यसपटक त्यही अनुभव अनुसार नगरको विकास गर्न नेतृत्व दोहोर्‍याउन चाहेको थिएँ,’ उनले भने, ‘बाहिरै बसेर काम गर्ने जनमत पाएँ । अब त्यही अनुसार गर्नेछु ।’

गाउँपालिकातर्फ शुद्धोधनमा किशुनचन्द्र चौधरी, मर्चवारीमा केशवनन्द वनिया, रोहीणीमा सनोज यादव मायादेवीमा ध्रुवनारायण चौधरी, सियारीमा अयोध्या थारु, कोटहीमाईमा चन्द्रभुषण यादव, सम्मरीमाइमा जितेन्द्रनाथ शुक्ला र गैडहवामा बच्चुलाल केवटले चुनावी प्रतिस्पर्धा गरेका थिए ।

अघिल्लो पटक सम्मरीमाई गाउँपालिकामा राजपाबाट चुनाव जितेका जितेन्द्रनाथ शुक्ला यसपटक माओवादी केन्द्रबाट चुनाव लडेका थिए । तर आफ्नो शाख बचाउन सकेनन् । कांग्रेसका विनोदकुमार श्रीवास्तवले उनलाई पराजित गरिदिए। मधेसी जनअधिकार फोरमबाट यसअघिको चुनाव जितेका रोहिणीका सनोजकुमार यादव जनता समाजवादी हुँदै एमालेमा प्रवेश गरेर चुनाव लडेका थिए । तर उनलाई पनि पार्टी फेरेपछि मतदाताले पत्याएनन् । जनता समाजवादी पार्टीकै विद्याप्रसाद यादवले उनलाई हराए । एमालेको प्रभाव रहेको मानिने सियारी र शुद्धोधनमा पद दोहोर्‍याउन चुनावमा उत्रेका थारु र चौधरीले पनि आफूलाई अब्बल बनाउन सकेनन् ।

प्रकाशित : जेष्ठ ११, २०७९ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?