सुदूरपश्चिमका अधिकांश पालिका प्रमुख-उपप्रमुखमा पुरुषहरू नै

प्रमुख पदमा दलित समुदायबाट शून्य उपस्थिति
अर्जुन शाह

बाजुरा — सुदूरपश्चिमका ८८ मध्ये ८७ वटा स्थानीय तहको चुनावी नतिजा घोषणा हुँदा उप्रप्रमुख/उपाध्यक्ष पदमा पनि वहुसंख्यक पुरुषहरुले नै जितेका छन् ।

सुदूरपश्चिमका अधिकांश पालिका प्रमुख-उपप्रमुखमा पुरुषहरू नै

एउटा उपमहानगरसहित ३४ नगरपालिका र ५४ गाउँपालिका रहेको सुदूरपश्चिममा २१ स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष पद पुरुषले नै हात पारेका छन् । ८ नगरपालिका र १२ गाउँपालिकाको उपाध्यक्ष दुवै पदमा पुरुष निर्वाचित भएका छन् ।

देशैभरका स्थानीय तहमा दलहरुले केवल उपप्रमुख/उपाध्यक्ष पदमा मात्रै 'महिलाको भाग' जस्तो भाष्य देखाउँदै आएका भए पनि यस प्रदेशमा भने महिलाका लागि त्यही पद पनि सबै ठाउँमा सुनिश्चित हुन सकेन ।

उपप्रमुख पुरुष निर्वाचित भएका ८ वटा नगरपालिकाहरुमा कञ्चनपुरको बेलौरीमा एमालेका जोगराम चौधरी, अछामको साँफेबगरमा एकीकृत समाजवादीका शिवबहादुर कुंवर, बझाङको जयपृथ्वीमा माओवादी केन्द्रका रतनबहादुर सिंह रहेका छन् । यस्तै बझाङकै बुंगलमा एकीकृत समाजवादीका धनबहादुर बोहरा, कैलालीको गौरीगंगामा कांग्रेसका भोजबहादुर बम, कैलालीकै टीकापुरमा माओवादी केन्द्रका खडक बहादुर शाह, बैतडीको पाटनमा माओवादी केन्द्रका कमलसिंह बोहरा र बाजुराको बुढीनन्दा नगरपालिकामा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा उपमेयर पदमा निर्वाचित भएका छन् ।

प्रमुख र उपप्रमुख दुवै पदमा महिला चयन हुने सुदूरपश्चिमको लम्कीचुहा एक मात्र स्थानीय तह हो यस नगरमा प्रमुखमा नेपाली कांग्रेसकी सुशीला शाही र उपप्रमुखमा एमालेकी जुना चौधरी निर्वाचित भएका छन् ।

यस्तै, अध्यक्ष उपाध्यक्ष दुवै पदमा पुरुष निर्वाचित भएका १२ गाउँपालिकाहरुमा सबैभन्दा धेरै बझाङका पाँच वटा गाउँपालिका रहेका छन् । खप्तडछानामा माओवादी केन्द्रका विष्णु कुमार थापा, छबिस पाथिभेरामा नेकपा एकीकृत समाजवादीका लछिमन बोहरा, थलारामा कांग्रेसका रामबहादुर खाती, दुर्गाथलीमा कांग्रेसका जनकबहादुर दौत्याल, मष्टामा माओवादी केन्द्रका हर्क धामी उपाध्यक्ष निर्वाचित भएका हुन् ।

यस्तै दार्चुलाका तीन गाउँपालिकामा पुरुष उपाध्यक्ष भए । नौगाडमा कांग्रेसका जगतसिंह ठगुन्ना, ब्यासमा माओवादी केन्द्रका विनोदसिंह कुंवर र मालिकार्जुनमा माओवादी केन्द्रकै कल्यानसिंह धामी उपाध्यक्ष चुनिए । यस्तै कैलालीको बर्दगोरियामा माओवादी केन्द्रका गणेशराज गिरी र मोहन्यालमा कांग्रेसका कमलबहादुर साउँद उपाध्यक्ष पदमा निर्वाचित भए । अछामको मेल्लेखमा कांग्रेसका नृपबहादुर खड्का र बैतडीको डिलासैनीमा कांग्रेसका भगिरथ बोहरा उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

‘समाज र राजनीतिक दलले पनि महिलालाई प्रमुख भूमिकामा स्वीकार्न नसक्ने मानसिकताको उपज हो,’ धनगढीस्थित अधिकारकर्मी चित्रा पनेरुले भनिन् ‘यहाँ त महिलाले पाउनु पर्ने संख्या पनि नपाएर संवैधानिक अधिकार पनि उल्लंघन गरिएको छ ।’ महिलाहरुले स्वतन्त्र उम्मेदवार पनि हुने वातावरण समाजमा नभएको उनको भनाइ छ । ‘अहिलेको जस्तो महंगो चुनाव महिलाका लागि बाधक छ,’ उनले भनिन् ।

०७४ को निर्वाचनमा डोटीको दिपायल शिलगढी नगरपालिकामा एमालेकी मञ्जु मलासी र डडेलधुराको भागेश्वर गाउँपालिकामा कांग्रेसकी कौशिला भट्टले प्रमुख पदमा नेतृत्व हाँक्ने अवसर पाएका थिए । यसपटक पनि दुई पालिकामा महिला नेतृत्व स्थापित हुन सकेको छ । कैलालीको लम्कीचुहा नगरपालिकामा सुशीला शाही र अछामको पञ्चदेवल विनायकमा अम्बिका चलाउनेबाहेक अन्य सबैमा पुरुष नेतृत्व चयन भएको छ ।

उनीहरु दुवै नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । नेकपा एमालेले अछामको साँफेबगर नगरपालिकामा पशुपति कुंवरलाई उम्मेदवार बनाएको भए पनि उनी पराजित भइन् ।

उपप्रमुख/उपाध्यक्ष पदमा भने विगतभन्दा निकै संख्या घटेको हो। यसअघि नगरपालिकाको उपप्रमुखमा पुरुष निर्वाचित हुने संख्या दुई जना मात्रै थियो । त्यसमा पनि प्रमुख पदमा महिला थिए । डोटीको दिपायल शिलगढी नगरको प्रमुखमा एमालेका मञ्जु मलासी निर्वाचित हुँदा उपप्रमुखमा एमालेकै शिवराज खड्का चुनिएका थिए ।

यस्तै डडेलधुराको भागेश्वर गाउँपालिका प्रमुखमा कांग्रेसकी कौशिला भट्ट निर्वाचित हुँदा उपाध्यक्षमा कांग्रेसकै पदमबहादुर बोहरा निर्वाचित भएका थिए ।

प्रमुख पदमा दलित समुदायको शून्य उपस्थिति

दलित समूदायबाट पालिकाको प्रमुख पदमा निर्वाचित हुनेको संख्या सुदूरपश्चिममा शून्य भएको छ । उपप्रमुख/उपाध्यक्षमा भने यस समुदायबाट दुई जनाले मात्रै मौका पाएका छन् ।

बाजुराको हिमाली गाउँपालिकामा एमालेकी राजकला सार्की र कैलालीको भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीकी राजु तिरुवा निर्वाचित भएका छन् । ०७४ को निर्वाचनमा बाजुराको त्रिवेणी नगरपालिकामा कांग्रेसकी राधिका सुनार र डडेलधुराको अजयमेरु गाउँपालिकामा माओवादी केन्द्रकी कलावती भाण चुनिएका थिए ।

प्रकाशित : जेष्ठ ११, २०७९ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?