ललितपुर महानगरको मेयरमा पुन: चिरीबाबु महर्जन निर्वाचित- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

ललितपुर महानगरको मेयरमा पुन: चिरीबाबु महर्जन निर्वाचित

उपमेयरमा एमालेकी शाक्य निर्वाचित 
प्रशान्त माली

ललितपुर — ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन दोस्रो पटक निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरले पराजित गरेका छन् । ललितपुरमा ८६ हजार ५ सय ४० मत खसेकोमा महर्जनले ४२ हजार ७ सय २२ मत ल्याए भने व्यञ्जनकारले २४ हजार ५ सय ६० मात्र मत ल्याउन सफल भए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि दुवै जना आमनेसामने भएका थिए । त्यतिबेला महर्जनले ३ सय २६ मात्र मत अन्तरले व्यञ्जनकारलाई हराएका थिए । त्यतिबेला महर्जनले २४ हजार ६ सय ४२ मत प्राप्त गर्दा व्यञ्जनकारले २४ हजार ३ सय १६ मात्र मत प्राप्त गरेका थिए ।

उपमेयरमा भने एमालेका मञ्जली शाक्य निर्वाचित भएका छन् । शाक्यले गठबन्धनबाट उठेका माओवादी केन्द्रका बाबुराज बज्रचार्यलाई ६ हजार ३ सय ३२ मत अन्तरले हराइन् । शाक्यले २५ हजार ८४ मत प्राप्त गरिन् भने बज्रचार्यले १८ हजार ७ सय ५२ मात्र मत प्राप्त गरे । निर्वाचित दुवैले परिणाम घोषणा अघि नै विजय जुलुस गरेका छन् ।


प्रकाशित : जेष्ठ १०, २०७९ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा पहिलो पटक देखापर्‍यो ‘अफ्रिकन स्वाइन फिभर’

प्रशान्त माली

काठमाडौँ — नेपालमा पहिलो पटक 'अफ्रिकन स्वाइन फिभर' नामक भाइरस देखा परेको छ । कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरी, टोखा, दक्षिणकाली, ललितपुरको गोदावरी नगरपालिका-१२ र भक्तपुरको चाँगुनारायण क्षेत्रमा फैलिएको संक्रमण कारण हालसम्म १ हजार १९ वटा सुँगुरको मृत्यु भइसकेका छन् ।

१ हजार ४ सय २६ वटा शंकास्पद र १ हजार ३ सय ६४ वटा बिरामी फेला परेका छन् । बर्ड फ्लुजस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बंगुर तथा जंगली बंदेल प्रजातिमा देखा पर्ने भाइरस हो । यो रोग पशुबाट मानिसमा भने सर्दैन ।

यो रोगबाट संक्रमण भएमा सुँगुर प्रजातिमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखानेजस्ता लक्षण देखा पर्छ । बान्ता गर्ने, छेर्ने, छट्पटाउने र बथानमा एकै पटक ठूलो संख्यामा मर्ने पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार यो उच्च मृत्युदर भएको अति खतरनाक महारमारीजन्य सरुवा रोग हो । यो रोगका कारण मृत्यु भएका पशुको मासु नखान विभागले अनुरोध गरेको छ ।

पशु सेवा विभागका महानिर्देशक डा. राम नन्दन तिवारीले यो रोगविरुद्ध हालसम्म कुनै खोप उपलब्ध नभएकाले प्रभावकारी उपचार नहुने हुँदा सर्तकता नअपनाइएमा ठूला आर्थिक क्षति गराउने सक्ने बताए । ‘कुनै स्थानमा अस्वाभाविक रूपमा बंगुर मरेमा वा लक्षण देखा परेमा तत्काल संघ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवासँग सम्बन्धित निकायमा खबर गर्न अनुरोध गर्दछु,’ उनले भने, ‘यो रोगका कारण क्षति भएका कृषकलाई राहत दिने व्यवस्था छैन ।’

उनका अनुसार रोगी बंगुर वा त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा सजिलै सर्ने हुँदा रोग छिटो फैलन सक्छ ।

अफ्रिकी महादेशमा मात्र सीमित रहेको यो रोग सन् २०१८ मा चीनमा देखा परेको थियो । पछि भारत र भुटानमा पनि देखा परेको थियो । मुलुक भित्रिन नदिन नाकामा सतर्क अपनाएको महानिर्देशक डा. तिवारीले भने, ‘अन्य मुलुकले नाकामा कडाइ गरिसकेका छन् ।’

प्रकाशित : जेष्ठ ८, २०७९ १७:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×