१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लमजुङमा स्वतन्त्रबाट ४ वडाध्यक्षमा निर्वाचित

आश गुरुङ

लमजुङ — लमजुङमा स्वतन्त्रका ४ जना वडाध्यक्ष निर्वाचित भएका छन् । पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनीहरुले बागी उम्मेदवारी दिएका थिए ।

लमजुङमा स्वतन्त्रबाट ४ वडाध्यक्षमा निर्वाचित

लमजुङका ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ वटा स्थानीय तहमा ७५ वटा वडा छन् । यी मध्ये ४ जना वडाध्यक्ष स्वतन्त्र उम्मेदवारले जितेका जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन् । उनका अनुसार ७१ जना वडाध्यक्ष राजनीतिक दलका उम्मेदवारले जितेका छन् ।

बेंसीसहर नगरपालिका ६ मा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उठेका प्रकाश थापाले वडाध्यक्ष जितेका छन् । उनले ५ सय २२ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भइरहँदा एमालेका नरबहादुर रिमालले ४ सय ९७ मत पाएका थिए । कांग्रेसका उद्धव बस्नेतले ३ सय ४३ मत पाए । राप्रपाका धनप्रसाद गुरुङले ८ मत पाए ।

दोर्दी गाउँपालिका ३ मा गठबन्धनले माओवादी केन्द्रका कुलप्रसाद श्रेष्ठलाई टिकट दिएपछि कांग्रेस समर्थित स्वतन्त्र उम्मेदवार कृष्णबहादुर गुरुङले बागी उम्मेदवारी दिएका थिए । उनले ३ सय ७१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् । गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका श्रेष्ठले ३ सय ४० मत ल्याए । एमालेका लोकराज घिमिरेले १ सय २२ मत ल्याए । मंगोल नेशनल अर्गनाइजेसनका आशबहादुर तामाङले १४ मत र राप्रपाका धिराज गुरुङले ४ मत ल्याए ।

दूधपोखरी गाउँपालिका ३ मा माओवादी समर्थित स्वतन्त्र उम्मेदवार श्याम गुरुङ (मीन) ले वडाध्यक्ष जितेका छन् । गठबन्धनले उक्त वडा माओवादीको भागमा पारेको र माओवादीले औतराम तामाङले टिकट दिएपछि मीनले बागी उम्मेदवारी दिएका थिए । उम्मेदवारी मनोनयन दर्ताका दिन हेलिकोप्टर चार्टड गरेर आएका उनले २ सय २८ मत प्राप्त गरेर वडाध्यक्ष जिते । गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका औतराम तामाङले २ सय २४ मत ल्याए । एमालेका मानबहादुर घलेले ८१ मत ल्याए ।

राइनास नगरपालिका ३ मा स्वतन्त्र उम्मेदवार देउबहादुर पौडेल वडाध्यक्षमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनले कांग्रेसका सुनील बख्रेललाई उम्मेदवार बनाएपछि माओवादी केन्द्रका पौडेलले बागी उम्मेदवारी दिएका थिए । उनले ४ सय ९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । गठबन्धनका आधिकारिक उम्मेदवार कांग्रेसका बख्रेलले २ सय ७७ मत ल्याए । एमालेका यामबहादुर बाराकोटीले २ सय ३९ मत ल्याए ।

प्रकाशित : जेष्ठ १०, २०७९ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?