चितवनका सबै पालिकाको मत परिणाम सार्वजनिक

जिससका लागि एमाले र गठबन्धनको बराबर मत
रमेशकुमार पौडेल

चितवन — एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका गरेर सात स्थानीय तह रहेको चितवनमा मंगलबार सबै पालिकाको अन्तिम मत परिणाम आएको छ । मत परिणामअनुसार जिल्ला समन्वय समिति (जिसस) गठनका लागि एमाले र सत्तारुढ गठबन्धनको बराबर सात सात मत भएको छ । पालिकाका प्रमुख र उपप्रमुखले जिससको प्रमुख, उपप्रमुख र सात जना सदस्य चयन गर्न मतदान गर्ने छन् ।

चितवनका सबै पालिकाको मत परिणाम सार्वजनिक

जिससका लागि एमाले एक्लैसँग सात मत रहँदा सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेससँग पाँच र माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीसँग एक एक मत रहेको छ । चितवनका सातवटै पालिकामा वडा तहसम्म गठबन्धन गरेर चुनावमा होकिएको सत्तारुढ दलहरूले जिससको निर्वाचनसम्म पनि गठबन्धन कायम राख्ने निर्णय गरेका छन् । गठबन्धनबाट जिसस प्रमुख नेपाली कांग्रेसले पाउने सहमति छ ।

कांग्रेसले पूर्णबहादुर रानाभाटलाई जिसस प्रमुखमा अगाडि सार्ने तयारी गरेको छ । उनी भरतपुर-८ बाट वडा सदस्यमा निर्वाचित भएका छन् । यसैगरी एमालेबाट नारायण अधिकारीको नाम चर्चामा छ । उनी इच्छाकामना गाउँपालिका ३ बाट वडा सदस्यमा निर्वाचित भएका छन् । सातवटा पालिकामध्ये एमालेले कालिका नगरपालिका र इच्छाकामाना गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै जितेको छ ।

त्यसै गरी एमालेले माडी नगरपालिकामा मेयर जितेको छ । रत्ननगर र खैरहनी नगरपालिकामा उपमेयर जितेको छ । नेपाली कांग्रेसले रत्ननगर र खैरहनीमा मेयर तथा भरतपुर महानगरपालिका, माडी र राप्ती नगरपालिकामा उपमेयर जितेको छ । माओवादीले भरतपुर महानगरपालिकामा मेयर र नेकपा एकीकृत समाजवादीले राप्ती नगरपालिकामा मेयर जितेको छ ।

जिससका लागि अघिल्लो पटक एमाले एक्लैसँग ९ मत थियो । यसैगरी कांग्रेससँग तीन र माओवादी केन्द्रसँग दुई मत थियो । एमालेले यो पटक राप्ती नगरपालिकामा मेयर उपमेयर दुवै गुमायो भने रत्ननगर र खैरहनीमा मेयर गुमाए पनि उपमेयर जोगायो । अघिल्लो पटक उपमेयर जितेको माडीमा यो पटक मेयर जित्यो । अघिल्लो पटक गुमाएको इच्छाकामना गाउँपालिकामा यो पटक प्रमुख र उपप्रमुख दुवै जित्यो ।

त्यसै गरी अघिल्लो पटक मेयर उपमेयर दुवै जितेको कालिका नगरपालिका एमालेले यस पटक पनि जोगायो । कांग्रेसले यो पटक इच्छाकामना गाउँपालिका गुमाए पनि रत्ननगर र खैरहनीमा मेयर जित्यो । माडी र राप्तीमा उपमेयर थप्यो । अघिल्लोपटक झैं कांग्रेसले यसपटक पनि भरतपुरमा उपमेयर जित्यो । नेकपा एकीकृत समाजवादीले राप्तीमा मेयर जित्दा माओवादी केन्द्रले माडीको मेयर गुमाएर समाजवादीसँग बराबरी गर्‍यो ।

प्रकाशित : जेष्ठ १०, २०७९ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?