पोखरामा मतगणनामा बसेनन् एमाले प्रतिनिधि, मतगणना रोकियो
पोखरा — पोखरा महानगरका दुई वडामा पुनःमतगणना सुरु नहुँदासम्म बाँकी मतगणनामा नबस्ने एमालेले अडान लिएको छ । पोखराका दई वडामा पुनःमतगणनाको माग गर्दै एमालेका प्रतिनिधि मतगणनास्थल प्रवेश गरेका छैनन् ।
पोखराका दुई वडामा मुचूल्कामा उल्लेख भएको भन्दा मतपेटिकामा भएको मतपत्र कम भएको भन्दै एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन बुझाएको थियो । वडा १८ र ३१ को पुनः मतगणना गर्नुपर्ने माग गर्दै एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले निवेदन दिएका हुन् ।
उक्त निवेदनउपर सुनुवाइ नहुँदासम्म बाँकी मतगणनामा सहभागी नहुने एमाले महानगर समिति सचिव जीवन आचार्यले बताए । पोखराका ३३ मध्ये हाल वडा २२, ३२ र ३३ को मतगणना भइरहेको थियो ।
हालसम्म १ लाख ३९ हजार ४ सय ११ मतगणना भएको छ । १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा ३ हजार ८ सय १५ गन्न बाँकी छ । हालसम्म सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका मेयर प्रत्याशी धनराज आचार्य एमालेका उम्मेदवार कृष्णबहादुर थापाभन्दा ५ हजार ४ सय ८५ मतले अघि भएकोले जित सुनिश्चित भइसकेको छ ।
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेसकी कोपिला रानाभाटलाई ३ हजार ९ सय ९० मतले पछि पारेकी छन् । गुरुङले जित सुनिश्चित गरेकी छन् । पोखरा महानगरको सम्पूर्ण परिणाम मंगलबार नै घोषणा गर्ने भनिएकोमा एमालेका मतगणना प्रतिनिधि गणनामा उपस्थित नहुँदा अनिश्चित भएको छ । गठबन्धनआबद्ध दलका कार्यकर्ता भने विजय र्यालीको तयारीका साथ पोखराको सहिदचोकमा उपस्थित भइसकेका छन् ।
१८ र ३१ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् । वडा १८ मा ४ हजार ३ सय ४८ मत खसेकोमा मतगणनाका क्रममा ९ मत कम अर्थात ४ हजार ३ सय ३९ मतपत्र भेटिएको थियो । कांग्रेसका शिवप्रसाद तिमिल्सिनाले ३ मतले मात्रै एमाले उम्मेदवारलाई पराजित गरेका थिए । तिमिल्सिनाले १६४३ मत ल्याउँदा एमालेका पुष्कलबहादुर थापाले १६४० मत पाएका थिए ।
पोखरा ३१ मा ४ हजार ४ सय ८१ मत खसेकोमा मतपेटिकामा ३ मत कम भेटिएको थियो । कांग्रेस उम्मेदवारले १ सय ६१ मतान्तरले एमालेलाई हराएका थिए । कांग्रेसका ढकनाथ कँडेलले १८९८ मत ल्याउँदा एमालेका चिरञ्जीवी बञ्जराले १७३७ मत पाए ।
पोखराका ३३ मध्ये हालसम्म कांग्रेसले २२ र एमालेले ८ वटा वडाका अध्यक्ष जितेको छ । गणना रोकिएका २२ मा स्वतन्त्र उम्मेदवार, ३२ र ३३ मा कांग्रेस उम्मेदवारको अग्रता छ ।
प्रकाशित : जेष्ठ १०, २०७९ १३:१८