उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना सुरु हुँदै- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना सुरु हुँदै

डिल्लीराम खतिवडा

उदयपुर — त्रियुगा नगरपालिकाको मतगणना मंगलबार बिहान साढे १० बजेबाट सुरु हुने भएको छ । जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा भएको विवादका कारण मतगणना रोकिएको थियो ।

वैशाख ३० गते मतदानको अन्तिम समयमा वर्षाका कारण त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान कार्य प्रभावित भएको थियो । त्यसै क्रममा ढिलाई भएको भन्दै सामान्य विवाद हुँदा नरपालिकाको मतगणना रोकिको हो । निर्वाचन कार्यक्रम चलिरहेकै समयमा मुख्य निर्वाचन अधिकृत दीपक खनालले स्वास्थ्यका कारण भन्दै राजीनामा दिएपछि थप समस्या उत्पन्न भएको हो ।

खनालको राजनीनामासँगै अर्का न्यायाधीश उत्तम सिलवाललाई उदयपुरको मुख्य निर्वाचन अधिकृत नियुक्त गरी निर्वाचनको बाँकी काम अगाडि बढाइएको थियो । तर नेकपा(एकीकृत समाजवादी), माओवादी केन्द्रलगायत अन्य साना दलले पुन: मतदान हुनुपर्ने भन्दै विवाद झिकेपछि मत गणना कार्य सुरु हुन सकेको थिएन ।

अपरान्ह करिब साढे ४ बजेसम्म भएको मतदानमा करिब ५४ प्रतिशत मत खसेको थियो । तर गणना गर्न असहमत जनाएका दलले विवाद झिकेपछि आयोगबाट आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आएको टोलीले मतदानस्थल सम्मको घटना विवरणको अध्ययन,अनुसन्धान गरी प्रतिवेदन दिएपछि निर्वाचन आयोगले सोमबार तत्काल मतगणना सुरु गर्ने निर्णय गरेकोले अहिले बिहान साढे १० बजेबाट गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले वताए ।

उदयपुरका ८ स्थानीय तहमध्ये कटारी नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ भने वेलका र चौदण्डीगढी नगरपालिकासहित लिम्चुङवुङ, ताप्ली, उदयपुरगढी र रौतामाई गाउँपालिकाका निर्वाचित पदाधिकारीले पदभारसमेत ग्रहण गरिसकेका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७९ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्

उच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलायो

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका–१२ को मतदान विवादसम्बन्धी मुद्दा लम्बिने भएको छ । प्रदेश एककी सांसद सुनिता चौधरीसहितका स्थानीयले पुन: मतदान गरिपाउँ भनी दायर गरेको रिटमा उच्च अदालत विराटनगरले कारण देखाउ आदेश जारी गरेको हो ।

त्रियुगा नगरपालिका १२ का १० स्थानीयले दायर रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा झिकाउने आदेश दिएको छ ।

उच्च अदालत विराटनगरका न्यायाधीश रामबहादुर थापाको इजलासले अन्तरिम आदेश दिने–नदिने विषयमा छलफलमा झिकाउने आदेश गरेको हो । जेठ ६ गते दायर रिटमा आफनो मतदान गर्न पाउने संवैधानिक अधिकार कुण्ठित भएकाले पुन: मतदान गराईपाउँ भनी माग गरिएको छ ।

उच्च अदालतबाट अन्तरिम आदेश नभएकाले त्रियुगा नगरपालिका १२ को मतदान विवाद अब अझ लम्बिने भएको छ । निर्वाचन आयोगले निणर्य गर्न नसक्दा १० दिनदेखि मतगणना हुन सकेको छैन ।

प्रकाशित : जेष्ठ ९, २०७९ १५:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×