शीर्ष नेताले आफ्नै वडा गुमाए

निर्वाचनका बेला पार्टीको पक्षमा नतिजा निकाल्न कसरत गरेका नेताहरु आफ्नै प्रभाव क्षेत्रमा कमजोर
प्रदेश ब्युरो

काठमाडौँ — स्थानीय तह निर्वाचनमा शीर्ष नेताले मतदान गरेका अधिकांश वडामा अर्कै दलका उम्मेदवार विजयी भएका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफैंले मत हालेको वडामा पार्टीलाई जिताउन सकेनन् ।

शीर्ष नेताले आफ्नै वडा गुमाए

एमाले उपाध्यक्ष विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, मीनेन्द्र रिजाल, महेश आचार्य, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले पनि आफ्नै वडा ‘सुरक्षित’ गर्न सकेनन् ।

देउवाले मतदान गरेको डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ मा कांग्रेस पराजित भएको छ । गाउँपालिका अध्यक्ष–उपाध्यक्षलगायत बहुमत वडामा कांग्रेस उम्मेदवार विजयी हुँदा देउवाको वडामा करुवा चुनाव चिह्न लिएका कांग्रेस बीपीका उम्मेदवार विजयी भए । कांग्रेस पूर्वजिल्ला सभापति कर्ण मल्लको समूहले कांग्रेस बिपीको नेतृत्व गर्दै जिल्लाका स्थानीय तहमा एमालेसँग तालमेल गरेको थियो ।

एमाले अध्यक्ष केपी ओलीले मतदान गरेको भक्तपुरको सूर्य विनायक नगरपालिका–२ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पनि गृह वडा कैलालीको गोदावरी नगरपालिका–१ मा आफ्नै पार्टीका उम्मेदवार जिताउन सकेनन् । गोदावरी–१ वडासहित मेयर कांग्रेसले जितेको छ । गोदावरीमा एमालेबाट मेयरमा उठेका उनका भाइ गोकर्ण भट्ट कांग्रेसका वीरेन्द्र भट्टसँग पराजित भएका हुन् । उपमेयरमा भने एमालेकी शारदादेवी रोकाया निर्वाचित भइन् । कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको वडा कञ्चनपुरको बेदकोट नगरपालिका–८ मा एकीकृत समाजवादी उम्मेदवार विजयी भएका छन् ।

प्रदेश १ मा जसपा अध्यक्ष उपेन्द्र यादवले मतदान गरेको विराटनगर महानगरपालिका–१४ मा एमालेको प्यानलै विजयी भयो । एमाले स्थायी कमिटी सदस्यद्वय लालबाबु पण्डित र गुरु बरालले मतदान गरेको विराटनगर–१२ को वडाध्यक्ष जसपाले जितेको छ । कांग्रेस नेता मीनेन्द्र रिजालले मत हालेको विराटनगर–२ मा वडाध्यक्ष एमालेले जितेको छ । कांग्रेस नेता महेश आचार्यको विराटनगर–४ मा एमालेको प्यानलै आएको छ । सत्ता गठबन्धनबीच विराटनगरका मेयर/उपमेयरमा मात्र गठबन्धन भएको थियो ।

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले वडा–७ सहित इलाम नगरपालिकामा पार्टीलाई जिताउन सकेनन् । ०७४ मा एमालेले बहुमत ल्याएको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको क्षेत्र झापाको भद्रपुर नगरपालिकामा यसपटक कांग्रेसले बहुमत ल्याउँदा पनि सिटौलाले आफ्नै १० नम्बर वडा जोगाउन सकेनन् । भद्रपुर–१० मा एमालेका टेकबहादुर खड्का कांग्रेसका विष्णुप्रसाद काफ्लेलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि प्यानलसहित निर्वाचित भए ।

गौरादह छाडेर बिर्तामोड नगरपालिकाको बासिन्दा बनेका एमाले नेता एवं पूर्वमन्त्री अग्नि खरेलले बिर्तामोड–५ बाट मतदान गरे । अघिल्लोपल्ट एमाले प्यानलै जितेको उक्त वडाको अध्यक्ष यसपटक भने कांग्रेसले जित्यो । कांग्रेस प्रदेश १ सभापति उद्धव थापाको अर्जुनधारा नगरपालिका–७ मा एमालेले ‘क्लिन स्विप’ गरेको छ । कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको वडा अर्जुनधारा–८ मा पनि एमालेले जितेको छ । पार्टीका प्रभावशाली नेताकै वडामा पराजित भएपछि स्थानीय कांग्रेस नेता कुमार भट्टराईले बुढाथोकी र थापाको फोटोसहित वडा ७ र ८ मा कांग्रेसको हारको जिम्मा लिनुपर्ने भन्दै लामो फेसबुक स्टाटसमार्फत आक्रोश व्यक्त गरेका छन् ।

ओखलढुंगामा एमाले केन्द्रीय सदस्य तथा संघीय सांसद यज्ञराज सुनुवारको वडा मोलुङ गाउँपालिका–५ मा कांग्रेस उम्मेदवार निर्वाचित भए । स्वास्थ्य राज्यमन्त्री रहेका नेकपा एकीकृत समाजवादीका भवानीप्रसाद खापुङको तेह्रथुम मेन्छ्यायेम गाउँपालिका–६ मा प्यानलसहित एमालेले जितेको छ । खापुङको पार्टीले गठबन्धन दलको सहयोग पाएर पनि गाउँपालिका अध्यक्षमा पनि हार व्यहोर्‍यो । खापुङकै निर्देशनमा आठराई गाउँपालिका अध्यक्ष पदबाट राजीनामा दिएर वडा ७ मा सदस्यमा उठेका एकीकृत समाजवादीका नेता मानबहादुर लिम्बू पनि पराजित भए ।

पाँचथरबाट राजनीतिमा सक्रिय विभिन्न दलका नेताले आफ्नै वडामा आफू आबद्ध पार्टी र गठबन्धन निकटलाई जिताउन सकेनन् । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोकै पाँचथरको फिदिम–११ मा गठबन्धनबाट वडाध्यक्षका उम्मेदवार निर्वाचित हुन सकेनन् । यहाँ एमालेले जितेको छ । एमाले केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री श्रीप्रसाद जबेगुको वडा फालेलुङ–८ पनि एमाले पराजित भयो । यो गाउँपालिकाको कुनै पनि वडाबाट एमालेले एक सदस्य जिताउन सकेन ।

मधेस प्रदेशमा धनुषाको नगराइन नगरपालिका–२ बाट मत हालेका कांग्रेस नेता विमलेन्द्र निधिले त्यही वडामा कांग्रेस उम्मेदवार जिताउन सकेनन् । उक्त वडाबाट लोसपाका उम्मेदवारले जित हासिल गरे । जनकपुर उपमहानगरपालिका–९ मा मत हालेका एमाले नेता रघुवीर महासेठको वडामा कांग्रेस प्यानलै विजयी भएको छ । महासेठको वडामा एमाले तेस्रो बन्यो । महोत्तरीमा माओवादीका नेता गिरिराजमणि पोखरेलको वडामै एमालेले जित हात पार्‍यो । माओवादीको सबैभन्दा पकड रहेको बर्दिबास–३ मा एमालेका विराट विष्ट विजयी भए ।

सर्लाहीमा लोसपा केन्द्रीय अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोकै वडामा अन्य दलले जित निकालेका छन् । ठाकुरको वडा मलंगवा नगरपालिका–८ मा लोसपाले वडाध्यक्षको उम्मेदवारसमेत पाउन सकेन । त्यहाँ जसपाका तर्फबाट मुकेश जयसवाल वडाध्यक्ष निर्वाचित भए । लोसपाकै वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको वडा चन्द्रनगर गाउँपालिका–२ बबरगन्जमा कांग्रेसका शम्भुप्रसाद साह तेली विजयी भए । लोसपाबाट चन्द्रनगरको अध्यक्षका प्रत्याशी राजेन्द्रका दाजु महेन्द्रले पनि वडाध्यक्षमा जित निकाल्न सकेनन् । महेन्द्रका छोरा उपेन्द्र प्रदेश सांसद हुँदा पनि वडामा हार बेहोर्नुपर्‍यो ।

चुनावी प्रचारका क्रममा ‘अड्डा’ जमाएर बसे पनि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखामा आफ्नै वडा र पालिका जोगाउन सकेनन् । श्रेष्ठको वडा सिरानचोक गाउँपालिका–८ मा कांग्रेसका दलमान गुरुङ निर्वाचित भए । वडासँगै श्रेष्ठको गृहपालिका सिरानचोकमा अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको छ ।

बुटवलका स्थायी बासिन्दा एमाले उपाध्यक्ष विष्णु पौडेल पार्टीमा प्रभावशाली मानिन्छन् । रूपन्देही–२ बाट निरन्तर निर्वाचित हुँदै आएका उनी स्थानीय तहको निर्वाचनमा भने वडादेखि क्षेत्रसम्म नै कमजोर देखिए । पौडेलले मतदान गरेको बुटवल उपमहानगरपालिका–८ मा कांग्रेसका यज्ञप्रसाद पंगेनी विजयी भएका छन् ।

वडामा महिला र दलित महिला सदस्य भने एमालेले जितेको छ । एमालेले जनमुक्तिसँग तालमेल गरेको थियो । वडासहित आफ्नो निर्वाचन क्षेत्रमा पौडेलले झन्डै एक महिनासम्म निरन्तर संगठन विस्तार र असन्तुष्टलाई मिलाउने प्रयास गरेका थिए । ‘यो परिणाम विष्णु पौडेलप्रतिको असन्तुष्टि होइन र छैन,’ एमालेका पुराना नेता विमलबहादुर शाक्यले भने, ‘अन्य नेतालाई सबक सिकाउन पनि अहिले यस्तो जनमत देखिएको होला, भोलि सुधारिन्छ ।’

नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले पनि आफ्नै वडा जिताउन सकेनन् । गढवा गाउँपालिका–१ बाट एमालेका बाबुराम चौधरी विजयी भएका छन् । चौधरीले वडामा कांग्रेस र माओवादीसँग गठबन्धन गरेका थिए । वडाका सदस्य पनि सबै एमालेले नै जितेको छ ।

पार्टीको विरासत धान्न धौधौ

कर्णालीमा माओवादी केन्द्रका सबैभन्दा प्रभावशाली नेता हुन्, अर्थमन्त्री जनार्दन शर्मा । उनी आफ्नो पार्टीको पक्षमा चुनावी नतिजा निकाल्न झन्डै एक साता गृहजिल्ला रुकुम पश्चिमको दौडाहामा निस्किए । तर, आफ्नै वडा मुसीकोट नगरपालिका–५ जिताउन सकेनन् । उक्त वडामा कांग्रेस उम्मेदवार समीरजंग शाह विजयी भए । शर्माको गृहनगर मुसीकोटमा पनि कांग्रेस उम्मेदवार महेन्द्र केसी नगरप्रमुखमा निर्वाचित भएका छन् ।

माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीका श्रीमान् वसन्त शर्मा पनि नगरप्रमुखमा पराजित भएका छन् । यसअघिका निर्वाचनमा ६ वटै स्थानीय तह जितेको माओवादीले योपल्ट बाँफीकोट गाउँपालिका पनि गुमाएको छ । जाजरकोटको भेरी नगरपालिका–१ का स्थायी बासिन्दा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतको गृह नगरमा पनि माओवादी केन्द्रले हार व्यहोरेको छ । सदरमुकामस्थित नगरपालिकामा एमाले उम्मेदवार चन्द्रप्रकाश घर्ती दोस्रोपटकका लागि नगरप्रमुख पदमा निर्वाचित भएका छन् । यसपालि जाजरकोटमा माओवादी कमजोर देखिएको छ । यसअघिको स्थानीय तह निर्वाचनमा माओवादीले २ प्रमुख र ३ उपप्रमुख जितेको थियो ।

माओवादीले योपल्ट नलगाड नगरपालिकामा मात्र जित हात पारेको छ, त्यो पनि गठबन्धनको भरमा । यसले माओवादीका आधार इलाकाहरू कमजोर हुँदै गएको प्रमाणित गरेको बताउँछन् अधिवक्ता दुर्गाप्रसाद सापकोटा । ‘सबै दल र शीर्ष नेताहरू अब सच्चिनुपर्ने बेला आयो,’ उनले भने, ‘नत्र उनीहरूलाई आफ्नो इज्जत जोगाउन पनि मुस्किल हुने देखियो ।’

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा पनि कांग्रेसले सोचेजस्तो परिणाम ल्याउन सकेन । अघिल्लो निर्वाचनमा ५ स्थानीय तह जितेको कांग्रेसले आफ्नो गढ मानिने वीरेन्द्रनगर नगरपालिकासहित भेरीगंगा र चिन्गाड गाउँपालिका गुमाएको छ । उपसभापति खड्का निर्वाचनअघि झन्डै एक साता गृहजिल्ला सुर्खेत बसेका थिए । ठूला नेताहरूले आफूहरूको वडा, पालिका र जिल्लामा नतिजा गुमाउँदा उनीहरूप्रति मतदाताको विश्वास घट्दै गएको बताउँछन् मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक कमलराज लम्साल ।

‘उहाँहरूले आफ्नो प्रतिष्ठाकै विषय बनाएका पालिकाहरू नै गुमेपछि उहाँहरूबाट थप आशा गर्ने ठाउँ भएन,’ उनले भने, ‘जनताले उहाँहरूलाई जति विश्वास गरे गरे, तर जनअपेक्षाअनुसार काम नभएपछि उहाँहरूसँग जनमत पनि कमजोर बन्दै गएको छ ।’ स्वतन्त्र उम्मेदवारहरूले धमाधम जित्नुले पनि यो कुरालाई प्रस्ट पारेको उनले बताए ।

प्रकाशित : जेष्ठ १०, २०७९ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?