१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

महामन्त्री शर्माको नगरमा कांग्रेस पराजित 

मेचीनगरको मेयर/उपमेयरमा एमाले विजयी
पर्वत पाेर्तेल

काँकडभिट्टा — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा कांग्रेस पराजित भएको छ । एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६,४७८ मत पाएर विजयी बन्दा कांग्रेस उम्मेदवार इन्द्रवहादुर बुढाथोकीले २१,३११ मत पाए ।

महामन्त्री शर्माको नगरमा कांग्रेस पराजित 

शर्माको वडा नम्बर ९ मा पनि कांग्रेस पराजित भयो । कांग्रेस उम्मेदवार उद्धव बानियाँलाई एमालेका कन्चन तामाङले हराए । तामाङले २७६३ मत पाउँदा बानियाँले २०७९ मत पाए ।

झापाका ८ नगरपालिका र ७ गाउँपालिकामध्ये भद्रपुर र दमकबाहेक ६ नगर र बाह्रदशी गाउँपालिका एमालेले जितेको छ।

२०७४ को निर्वाचनमा गुमाएको विरासतलाई यसपटक फर्काएको हो । उपप्रमुखमा एमालेकी मीना उप्रेती पुन: दोहोरिएकी छन्। उनले २१,५९० मत पाउँदा गठवन्धनका माओवादी उम्मेदवार प्रकाश भण्डारीले १२,८१८मत पाए । राप्रपाकी सविना बजगाईं तेस्रो भइन्। उनले ९८८० मत पाइन् ।

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसका विमल आचार्य २० हजार ७ सय ७६ मत ल्याएर विजयी भएका थिए । यसपटक भने कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण पनि पराजय भोग्नु परेको अनुमान एक कांग्रेस नेताको भनाई छ । ‘टिकट वितरणदेखि नै झमेला भयो’, ती नेताले भने,‘जसको फाइदा एमालेले सहजै उठायो ।’

कांग्रेसको प्रदेश समितिले कृष्ण सिटौला पक्षधर केशवराज पाण्डेलाई उम्मेदवारका लागि सिफारिस गरे पनि मनोनयन दर्ताको अघिल्लो रात उनको टिकट खोसेर महामन्त्री विश्वप्रकाश शर्मानिकट बुढाथोकीलाई दिइएको थियो । जसका कारण सिटौला खेमा शर्मासँग असन्तुष्ट थियो । ‘सिटौला खेमाले बुढाथोकीलाई असहयोग गरेको अनुमान पार्टीको छ’, एक नगरस्तरीय नेताले भने ।

एमालेले नगरका ११ वडा जितेको छ । कांग्रेसले ३ र माओवादीले एक वडा जितेको छ ।

प्रकाशित : जेष्ठ १०, २०७९ ०६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?