कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साह बने जनकपुरको मेयर- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साह बने जनकपुरको मेयर

श्यामसुन्दर शशी, सन्तोष सिंह

जनकपुर — जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी १३,४६५ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार शिवशंकर साहलाई ३,९३३ मतान्तरले पराजित गरेका हुन् ।

पराजित शिवशंकर साहले ९,५३२ मत ल्याएका छन् । गठबन्धनबाट कांग्रेसले जनकपुरमा मेयर नपाउने भएपछि मनोजकुमारले राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए। जितपछि प्रतिक्रिया दिँदै उनले आफूलाई कांग्रेसले नै जिताएको बताएका छन् । पार्टीले उम्मेदवार उठाउँदा गल्ती गरे पनि मतदाताले आफूलाई न्याय दिएको उनको भनाइ छ ।

गठबन्धनबाट टिकट नपाएपछि कांग्रेसको साधारण सदस्यबाट समेत राजीनामा गरेर स्वतन्त्र उम्मेदवारी दिएका साहलाई नेता विमलेन्द्र निधिको साथ थियो । टिकट वितरण र गठबन्धबाट असन्तुष्ट निधि मनोजलाई जिताउन जनकपुरमै बसेर नेता कार्याकर्तालाई परिचालन गरेका थिए । गठबन्धनबाट जनकपुरधामको प्रमुख पदमा जसपाका लालकिशोर साहलाई टिकट दिएपछि कांग्रेसका नगर साभापतिसमेत रहेका साहले उम्मेदवारी दिएका हुन् ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार किशोरी साह १५,५२५ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार रुणादेवी झाले १०,८८५ मत ल्याएकी छन् ।

निवर्तमान मेयर लालकिशोर साह भने चौथो स्थानमा रहे । गठबन्धनका तर्फबाट जसपाका साहले ५ हजार १ सय ९४ मत ल्याए । उनीभन्दा अगाडि रहेका लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५ हजार ३ सय ६० मत ल्याए ।

मतगणना सुरु भएदेखि नै अग्रता बनाएका मनोज साहलाई एमालेका शिवशंकर साहले केही हदसम्म टक्कर दिए पनि सत्तागठबन्धन दलका उम्मेदवार लालकिशोर साह चौथो र पाँचौँ नम्बरभन्दा माथि उक्लिन सकेनन् । जनकपुरधाम उपमहानगरपालिकाका २५ मध्ये अधिकांशमा नेपाली कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका छन् । एमालेले यस पटक अपेक्षाकृत राम्रो प्रदर्शन गरेको छ ।

रामनारायण मिश्र, महेन्द्रनारायण निधि र सरोजप्रसाद कोइरालाजस्ता हस्तीहरुको कर्मस्थल जनकपुरधामलाई नेपाली कांग्रेसको गढ मानिए पनि यहाँबाट नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार नगरप्रमुख निर्वाचित भएका छैनन् । कांग्रेसका बागीहरु भने पटक–पटक निर्वाचित भएको इतिहास छ । कांग्रेसका बागी भई नगर प्रमुख निर्वाचित हुने मनोज साह तेस्रो नेता हुन् ।

०४९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले दिगम्बर रायलाई आधिकारिक उम्मेदवार बनाएको थियो । उनलाई नेकाकै वृशेषचन्द्र लालले हराएर मेयर निर्वाचित भएका थिए भने २०५४ सालको निर्वाचनमा पनि कांग्रेसका आधिकारिक उम्मेदवार दामोदरप्रसाद उपाध्यायलाई पराजित गरी नेपाली कांग्रेसका बागी उम्मेदवार बजरंगप्रसाद साह विजयी भएका थिए ।

२०७४को स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट निवर्तमान मेयर लालकिशोर साह तत्कालीन नेपाली कांग्रेसका उम्मेदवार मनोज साहलाई झन्डै ११ हजार मतान्तरले पराजित गरी नगरप्रमुख निर्वाचित भएका थिए ।

प्रकाशित : जेष्ठ ९, २०७९ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्

विदेशी लगानी भित्र्याउन प्रशासनिक प्रक्रियामा सहजीकरण गर्छाैं: राजश्व सचिव

कान्तिपुर संवाददाता

काठमाडौँ — राजश्व सचिव कृष्णहरि पुष्करले विदेशी लगानी भित्र्याउन कानुनी, प्राविधिक र प्रशासनिक प्रक्रियामा सहजीकरण गर्ने बताएका छन्।  मेक इन नेपाल स्वदेशी समिट २०२२ मा बोल्दै उनले जटिलतालाई सरलीकरण गर्नेगरी गृहकार्य भइरहेको र त्यसलाई बजेटमार्फत सम्बोधन गरिने बताए ।

‘निजी क्षेत्र, व्यवसायीले भनेका विषयमा सरकारले विभिन्न तरिकाबाट सहयोग गर्छ । कानुनमा परिवर्तन वा सुधार गरेर हुन्छ कि सम्बन्धित क्षेत्रमा लगानी गर्न अनुदान दिएर हुन्छ, योजनागत रुपमा अर्थ मन्त्रालय अगाडि बढेको छ,’ राजश्व सचिव पुष्करले भने, ‘विशेषगरी नेपालमा विदेशी लगानी भित्र्याउन रहेका केही कानुनी प्रविधिक प्रशासनिक प्रक्रियाहरु सहजीकरण र सरलीकरण गर्नेगरी गृहकार्य भइरहेको छ । छिट्टै सम्बोधन हुन्छ ।’

त्यस्तै, नेपाल सरकारले पराम्परागत कार्य शैलीलाई सार्वजनिक निजी साझेदारीमार्फत अगाडि बढाउने प्रयास गरिरहेको उनले बताए । ‘जग्गाको प्रक्रियागत विषय, कानुनी प्रक्रिया व्यवस्थापन गर्देछौ,’ उनले भने, ‘आयात/निर्यातको हकमा निजी क्षेत्रले दिएको सुझाव अनुसार आन्तरिक उत्पादन, निर्यात बढाउन बजेटमार्फत सम्बोधन गर्नेछौं ।’


प्रकाशित : जेष्ठ ९, २०७९ १९:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×