कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

धरानका नवनिर्वाचित मेयर साम्पाङले लिए शपथ

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको धरान उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख हर्कराज साम्पाङ राईले सोमबार शपथ ग्रहण गरेका छन् ।

धरानका नवनिर्वाचित मेयर साम्पाङले लिए शपथ

सामाजिक क्षेत्रमा बढ्दो बेथितिविरुद्ध सडकमा एक्लै संघर्ष र आन्दोलन गरेर सरोकारवालालाई प्रश्न गर्दै सुशासन र पारदर्शिता देखाउन दबाब दिँदै आएका साम्पाङको नगरपिता बन्ने सम्मको यात्रालाई धरानले पहिल्यैदेखि देखाउँदै आएको केन्द्रीय सत्ताविरुद्धको असन्तुष्टिको नतिजा भएको बताउन थालिएको छ ।

स्थानीय तहको निर्वाचनमा दलीय उम्मेदवारहरुलाई पराजित गर्दै विद्रोही स्वभावको पहिचान बनाएका साम्पाङ स्वतन्त्रबाट विजयी भएका हुन् । धरानको चुनावी राजनीतिक इतिहासमा एमाले र कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन दलका उम्मेदवारलाई पराजित गर्दै पहिलो पटक साम्पाङले स्वतन्त्र उम्मेदवारीमार्फत प्रमुख पदमा विजयी भएका हुन् ।

शपथ लिनका लागि इनरुवा पुगेका नवनिवार्चित प्रमुख साम्पाङलाई जिल्ला निर्वाचन प्रमुख अधिकृतसमेत रहेका सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले शपथ ग्रहण गराएका थिए । अब धरान प्रमुख साम्पाङले उपप्रमुखसहित वडाबाट निवार्चित जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । धरानमा मेयर, उपमेयरसहित १०२ जना जनप्रतिनिधि निवार्चित भएका छन् ।

निर्वाचित वडाध्यक्षहरुमा एमालेबाट वडा २ का रमेश राई, वडा ४ का धनबहादुर राई, वडा ५ का मनप्रसाद लिम्बू, वडा ७ का जीवन सुवेदी, वडा ८ का धनबहादुर राई, वडा १० का विवेक राई, वडा १२ का टंक राई, वडा १३ का नेत्र काफ्ले, वडा १५ का नरेश इङ्वारम, वडा १९ का पूर्ण लिम्बू गरी १० जना रहेका छन् ।

नेपाली कांग्रसबाट वडा १ का यज्ञमणि आचार्य, वडा ३ का विद्या शाक्य, वडा ९ का रुपेश आचार्य, वडा ११ का लोकेन्द्र फागो, वडा १६ का मुरारी भट्टराई, वडा १८ का प्रविण राई, वडा २० का पदम लिम्बू गरी ७ जना रहेका छन् भने नेकपा माओवादी केन्द्रबाट वडा १७ का मनोज भट्टराई, राप्रपा हलोबाट वडा १४ का कृष्ण भट्टराई, स्तवतन्त्रबाट वडा ६ का भूपेन्द्र भट्टराई रहेका छन् ।

प्रकाशित : जेष्ठ ९, २०७९ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?