काभ्रेमा कांग्रेस पहिलो पार्टी 

१३ स्थानीय तहका २६ मध्ये १३ पदमा कांग्रेस, माओवादी केन्द्र ८, एमाले ४ र एकीकृत समाजवादी एक पदमा विजयी
१३५ वडामध्ये ६० वडामा कांग्रेस, ४३ वडामा एमाले, २५ वडामा माओवादी केन्द्र, ४ वडामा एकीकृत समाजवादी, २ वडामा स्वतन्त्र र १ वडामा राप्रपाका उम्मेदवार विजयी
नगेन्द्र अधिकारी

काभ्रे — जिल्लाका १३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी २६ पदमध्ये १३ वटामा विजयी हुँदै कांग्रेस पहिलो पार्टी बनेको छ ।  माओवादी केन्द्र, एकीकृत समाजवादीसँग गठबन्धन गरेर उठेको कांग्रेसले उम्मेदवारी दिएको सबै पदमा जित हासिल गरेको हो । 

काभ्रेमा कांग्रेस पहिलो पार्टी 

सोमबार बिहान सम्पन्न १३ वटै स्थानीय तहको निर्वाचनमा कांग्रेसले बनेपा, पनौती, नमोबुद्ध, पाँचखाल नगरपालिका प्रमुख, रोशी, तेमाल र बेथानचोक गाउँपालिका अध्यक्ष, धुलिखेल र मण्डनदेउपुर नगरपालिकामा उपप्रमुखका साथै भुम्लु, खानीखोला, चौरीदेउराली र महाभारत गाउँपालिकामा उपाध्यक्ष पदमा जित निकालेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचन कांग्रेस १ नगर प्रमुख, उपप्रमुख र ३ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गरी ८ पदमा सीमित थियो ।

८ पदमा जित हासिल गरेको माओवादी केन्द्रले चौरीदेउराली, महाभारत, खानीखोला र भुम्लु गाउँपालिका अध्यक्ष, नमोबुद्ध नगरपालिकाको उपप्रमुखका साथै रोशी, तेमाल र बेथानचोक गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र २ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गरी ४ पदमा सीमित थियो ।

एमाले फुटपछि पनि ४ नगरपालिका प्रमुख, उपप्रमुख, २ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष कायम रहेको एमाले धुलिखेल नगरपालिकाको प्रमुख, बनेपा, पनौती र पाँचखाल नगर उपप्रमुख पदमा खुम्चिएको छ । एमाले फुटेर बनेको एकीकृत समाजवादी कायम गरेको मण्डनदेउपुर नगरको प्रमुखमा निवर्तमान प्रमुख टोकबहादुर वाइवा नै निर्वाचित भएका छन् । यसअघि रहेका नमोबुद्ध नगर उपप्रमुख र भुम्लु गाउँपालिका उपाध्यक्ष पनि एकीकृत समाजवादीले गुमाएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्लाका १३ मध्ये ५ नगरपालिका र २ गाउँपालिका गरी ७ स्थानीय तहमा एमाले, १ नगरपालिका र ३ गाउँपालिकासहित ४ स्थानीय तहमा कांग्रेस र २ गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए । एमाले फुटेपछि मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवा, नमोबुद्ध नगर उपप्रमुख रामदेवी तामाङ र भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ एकीकृत समाजवादीतर्फ लागेका थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमाले विजयी भएको बनेपाको प्रमुखमा कांग्रेसका शान्तिरत्न शाक्य विजयी भएका छन् । उपप्रमुख भने एमालेले जोगाएको छ । गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रघुवर प्रधानलाई हराउँदै एमालेकी विमला सापकोटा उपप्रमुखमा विजयी भएकी हुन् । २०७४ मा नमोबुद्धमा नगर प्रमुख र उपप्रमुखमा विजयी हासिल गरेको एमालेले दुवै पदमा जित हासिल गर्न सकेन । नगर प्रमुखमा कांग्रेसका कुन्साङ लामा र उपप्रमुखमा माओवादी केन्द्रका रत्नबहादुर लामा विजयी भए । २०७४ सालमा एमालेतर्फबाट उपप्रमुखमा विजयी रामदेवी तामाङ नेकपा एकीकृत समाजवादीमा छिन् । २०७४ मा एमालेबाट मण्डनदेउपुर नगर प्रमुखमा निर्वाचित भएर नेकपा एसमा रहेका टोकबहादुर वाइवा नै गठबन्धनका तर्फबाट नगरप्रमुखमा निर्वाचित भएका छन् । उनले एमालेका विदुरप्रसाद सापकोटालाई पराजित गरेका छन् । उपप्रमुखमा कांग्रेसका विष्णुमणि नेपाल निर्वाचित भएका हुन् ।

२०७४ मा अध्यक्ष र उपाध्यक्ष नै निर्वाचित भुम्लु र खानीखोला गाउँपालिका पनि एमालेले गुमाएको छ । भुम्लुमा गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका प्रेमबहादुर भुजेल र उपाध्यक्षमा कांग्रेसका जितेन्द्रमान तामाङ निर्वाचित भएका छन् । खानीखोलामा पनि अध्यक्षमा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ र उपाध्यक्षमा कांग्रेसका दोर्जेमान जिम्वा निर्वाचित भएका छन् । माओवादी केन्द्र नै विजयी भएको चौरीदेउरालीमा गठबन्धनले जोगाएको छ । अध्यक्षमा माओवादी केन्द्रकी रेणुका चौलागाईं र उपाध्यक्षमा कांग्रेसका शेरबहादुर लामा निर्वाचित भएका छन् । २०७४ सालमा कांग्रेस विजयी भएको रोशी गाउँपालिकामा पनि गठबन्धनले नै जित निकालेको छ । अध्यक्षमा कांग्रेसका दिनेश लामा र उपाध्यक्षमा माओवादी केन्द्रका मिमबहादुर वाइवा (ज्वाला) निर्वाचित भएका छन् ।

पनौती नगरपालिकाको प्रमुख पद एमालेले गुमाएको छ । निवर्तमान प्रमुख भीम न्यौपाने कांग्रेसका रामशरण भण्डारीसँग पराजित भए । उपप्रमुखमा भने एमालेकी गीता बञ्जारा निर्वाचित भइन् । बेथानचोक, तेमाल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नै जितेको कांग्रेसले आफ्नो वर्चस्व जोगाएको छ । बेथानचोकको अध्यक्षमा कांग्रेसका भगवान अधिकारी फराकिलो मत अन्तरले विजयी भए भने उपाध्यक्षमा माओवादी केन्द्रकी तारा राना तिमल्सिना निर्वाचित भइन् । तेमालको अध्यक्षमा कांग्रेसका चन्द्रबहादुर तामाङ र उपाध्यक्षमा माओवादी केन्द्रका दलमान थोकर निर्वाचित भएका छन् ।

महाभारत गाउँपालिकामा गठबन्धनतर्फकै उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माओवादी केन्द्रका कान्छालाल जिम्वा र उपाध्यक्षमा कांग्रेसका सागर मोक्तान निर्वाचित भएका हुन् । पाँचखाल नगरप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार रहेका निवर्तमान नगर प्रमुख महेश खरेल नै निर्वाचित भएका छन् भने उपप्रमुख भने गुमाएको छ । गठबन्धनका तर्फबाट उपप्रमुखमा उम्मेदवार रहेका माओवादी केन्द्रका चेतप्रसाद गौतम एमालेकी सूर्यमाया दनुवारसँग पराजित भएका छन् । धुलिखेलमा एमालेबाट नगरप्रमुखका उम्मेदवार रहेका निवर्तमान नगरप्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ पुन: निर्वाचित भए । गठबन्धन गर्ने पार्टीको निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नगर सभापति विदुरबहादुर बस्नेतलाई हराउँदै व्याञ्जु निर्वाचित भएका हुन् । गठबन्धनतर्फबाट प्रमुख पदका उम्मेदवार दयासागर श्रेष्ठ तेस्रो स्थानमा सीमित भएका थिए । उपप्रमुख पदमा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार निराजन जंगम निर्वाचित भएका थिए ।

जिल्लाका १३५ वडामध्ये ६० वडामा कांग्रेस, ४३ वडामा एमाले, २५ वडामा माओवादी केन्द्र, ४ वडामा एकीकृत समाजवादी, २ वडामा स्वतन्त्र र १ वडामा राप्रपाका उम्मेदवार विजयी भएका छन् । २०७४ सालमा निर्वाचित ३४ वडा कायम राखेको कांग्रेसले २६ वडामा थप जित हासिल गरेको छ भने १८ वडा गुमाएको छ । ४३ वडाअध्यक्षसहित दोस्रो स्थान एमाले निर्वाचित भएको छ । २८ वडा कायम राखेको एमालेले १५ वडामा थप जित हासिल गरेको छ भने २६ वडा गुमाएको छ । १३ वडा कायम राखेको माओवादी केन्द्रले १२ वडा थप्दै २५ वडामा जित हासिल गरेको छ । यसअघि माओवादी केन्द्र निर्वाचित भएका ९ वडामा अन्य पार्टी निर्वाचित भएक छन् । एमाले फुटेपछि ११ वडामा कायम भएको एकीकृत समाजवादी ४ वडामा खुम्चिएको छ ।

यसअघि निर्वाचित ३ वडा कायम राखेको एसले थप १ वडामा जित निकालेको हो । २०७४ सालमा ३ वडा निर्वाचित राप्रपा १ वडामा मात्रै सीमित भएका छ । धुलिखेल–७ मा राप्रपाका रोमीप्रसाद श्रेष्ठ निर्वाचित भएका हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा राप्रपाबाट निर्वाचित भएका रोशी–१ का श्रीदास लामा र रोशी–३ का धनजित लामा निर्वाचन अघि एमाले प्रवेश गरी पुन: निर्वाचित भएका छन् । काभ्रेमा दुई स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नमोबुद्ध–१ मा प्रेमबहादुर तामाङ र बेथानचोक–५ मा राजकुमार वाइवा (राजु) निर्वाचित भएका हुन् । टिकट वितरण असन्तुष्ट कांग्रेसका वडा सभापति तामाङ र माओवादी केन्द्रका वाइवाले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रकाशित : जेष्ठ ९, २०७९ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?