१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सर्लाहीको बरहथवा नगरपालिकामा एमाले विजयी

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको बरहथवा नगरपालिकाको मेयर तथा उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

सर्लाहीको बरहथवा नगरपालिकामा एमाले विजयी

मेयरमा एमालेकी उम्मेदवार कल्पनाकुमारी कटुवालले नेकपा माओवादी केन्द्रका उम्मेदवार समेत रहेका निवर्तमान मेयर देवानन्द महतोलाई ५ हजार ६ सय ७ मतले हराउँदै विजयी भइन् । कटुवालले १२ हजार २ सय ७३ मत ल्याउँदा महतोले ६ हजार ६ सय ६६ मत मात्र ल्याए । कटुवालको जितसँगै जिल्लामा पहिलो पटक महिला प्रमुख विजयी भएका हुन् ।

त्यसैगरी उपमेयरमा एमालेकै रामबाबुप्रसाद साह विजयी भएका छन् । उनले ९ हजार ९ सय १ मत ल्याउँदा नेपाली कांग्रेसकी गंगा दहालले ७ हजार १ सय १९ मत ल्याइन् । माओवादी केन्द्रका उम्मेदवार तथा निवर्तमान उपमेयर सीतादेवी माझीले भने ६ हजार ३ सय १४ मत मात्र ल्याइन् ।

योसँगै सर्लाहीमा एमालेले एक स्थानीय तह हात पार्न सफल भएको छ । गत निर्वाचनमा चार स्थानीय तह जितेको एमाले एक स्थानमा खुम्चिएको हो । बरहथवाको नतिजासँगै सर्लाहीका २० पालिकाको अन्तिम परिणाम पनि सकिएको छ । जसमध्ये १२ पालिका प्रमुख कांग्रेसले जितेको छ भने चार पालिकामा माओवादीले जित निकाल्न सफल भएको छ । दुई पालिकामा जनता समाजवादी र एक/एक स्थानीय तहमा लोसपा र एमालेले जित निकालेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७९ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?