पाल्पाको रम्भा गाउँपालिकामा एमाले विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

पाल्पाको रम्भा गाउँपालिकामा एमाले विजयी

माधव अर्याल

पाल्पा — पाल्पाको रम्भा गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार रम्भा गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार विष्णुप्रसाद भण्डारी ५ हजार ५ सय ८६ मत ल्याई विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) उम्मेदवार दुर्गाप्रसाद अधिकारीलाई १ हजार ४४ मतान्तरले पराजित गरेका हुन् । पराजित दुर्गाप्रसाद अधिकारीले ४ हजार ५ सय ४२ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार राधाकुमारी श्रेष्ठ ५ हजार ७ सय १९ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले ५ हजार ५८ मत ल्याएका छन् ।

पाँच वटा वडा रहेको रम्भा गाउँपालिकाको वडा नम्बर १ र ३ मा नेपाली कांग्रेसका वडा अध्यक्षहरु ईश्वर काफ्ले र थमनबहादुर गाहा विजयी भएका छन् । एमालेबाट वडा २ मा चेतबहादुर सुनारी मगर, ४ मा कृष्णबहादुर रायमाझी, ५ मा खुमकान्त बस्याल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

१० वटा पालिका रहेको पाल्पामा नौ वटाको मतपरिणाम भने चार दिनअघि नै आइसकेको थियो । रम्भा गाउँपालिकामा भने विवाद भएकाले मतगणनामा ढिलाई भएको थियो । रम्भा गाउँपालिका–५, ताँहुको मत गणना गर्दा कर्मचारीले लापरबाही गरेर जोड बढी गर्दा विवाद भएर स्थगित भएको थियो । निर्वाचन आयोगको निर्देशन र दलहरुको सहमतिमा मतगणना सुरु गरिएको हो ।


प्रकाशित : जेष्ठ ९, २०७९ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

माधव अर्याल

पाल्पा — पाल्पाको बाँसटारी–झडेवा सडक अन्तर्गत तानसेन नगरपालिका–९, दमकडामा आइतबार मध्यान्ह भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

माथागढी गाउँपालिकाको कसेनी सराईबाट बाँसटारी आउँदै गरेको लु ७७ प २१३२ नम्बरको मोटरसाइकल दुर्घटनामा २२ वर्षीय योगेश रास्कोटीको मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडि बसेका तिनाउ गाउँपालिका–५, मस्यामका रास्कोटी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक २४ वर्षीय जनक राना घाइते भएका छन् । घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७९ १३:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×