१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

धरान–धनगढी : अभियन्तालाई जनमत

‘दल र तिनका जनप्रतिनिधिको परम्परागत कार्यशैलीमा मतदाताले सुधार चाहन्छन् भन्ने सन्देश’

सुनसरी, धनगढी — पूर्व र सुदूरका दुई उपमहानगरले यसपटक सामाजिक अभियानको अगुवाइ गरेर जनप्रतिनिधिको काम गराइमा प्रश्न गर्दै आएकालाई नगरप्रमुख निर्वाचित गरेको छ । स्वतन्त्रबाट उम्मेदवारी दिएका हर्कराज साम्पाङ राई धरानमा र गोपाल हमाल धनगढीमा दलहरूका उम्मेदवारलाई पछि पार्दै विजयी भएका हुन् ।
दुवैको जितले राजनीतिक दल र तिनका जनप्रतिनिधिको परम्परागत कार्यशैलीमा मतदाता सुधार चाहन्छन् भन्ने सन्देश दिएको विश्लेषण भइरहेको छ ।

धरान–धनगढी : अभियन्तालाई जनमत

हमाल २०७४ को निर्वाचनमा आफूलाई २७ सय ९७ मतान्तरले पछि पार्नेलाई नै यसपालि १२ हजार ४८ मतको अन्तरले हराउँदै निर्वाचित भएका हुन् । धरान नगरवासीका विभिन्न मुद्दामा अगुवाइ गर्दै आएर निर्वाचनमा होमिएका साम्पाङ सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई पाखा लगाउँदै स्थानीय सरकारको नेतृत्वमा पुगेका हुन् ।

सामान्य तर विद्रोही स्वभावका साम्पाङको उम्मेदवारीलाई दलहरूले हलुका रूपमा लिएका थिए । धरान–१८ का ३९ वर्षीय उनी विभिन्न आन्दोलनको अग्रपंक्तिमा देखिन्थे । अब उनी कार्यपालिका हाँकेर आफैं जवाफ दिने ठाउँमा पुगेका छन् । पञ्चायतकालदेखि ०७४ सम्म वामपन्थी उम्मेदवारले जित्दै आएको धरानमा साम्पाङले निकटतम प्रतिस्पर्धी सत्तारूढ गठबन्धनबाट कांग्रेसका किशोर राईलाई ४ हजार ७ सय ६२ मतान्तरले पराजित गरे । उनले २० हजार ८ सय २१ मत प्राप्त गरे भने गठबन्धनका राईले १६ हजार ६९ मत पाएका छन् । धरानका १ लाख ३ सय २४ मतदातामध्ये ६२ हजार ८ सय ९८ ले मतदान गरेका थिए ।

धरानमा पञ्चायतकालका हरेक चुनावमा जनपक्षीय (वामपन्थी) उम्मेदवारले जित्थे । ०४६ पछि एमालेले कब्जा जमायो । ०७६ को उपनिर्वाचनमा कांग्रेसले जित्यो । यस पटक गठबन्धनबाट नगर प्रमुखमा कांग्रेसका किशोर राई र उपप्रमुखमा माओवादीका अइन्द्रविक्रम बेघा उम्मेदवार थिए । गठबन्धनले एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्जसमेत रहेकी प्रमुख पदकी दाबेदार मन्जु भण्डारी सुवेदीलाई हराउने रणनीति अपनाएको थियो । तर, कार्यकर्ता र दलबलबिनै साम्पाङले गठबन्धन र एमाले उम्मेदवारलाई पछि पारेका छन् । उपप्रमुखमा गठबन्धनबाट बेघा निर्वाचित भएका छन् ।

धरानका राजनीतिक विश्लेषक सहप्राध्यापक राजेन्द्र शर्मा भन्छन्, ‘स्वतन्त्र उम्मेदवार साम्पाङले राजनीतिक संगठन भएका दलका उम्मेदवारलाई हराउनु स्थानीयको विद्रोही स्वभावको परिणाम हो ।’ उनका अनुसार धरान जहिले पनि केन्द्रीय सत्ताको प्रतिपक्षमा रहने गरेको छ । यसअघिका प्रत्येक चुनावमा केन्द्रमा कांग्रेसको सत्ता हुँदा धरान प्रतिपक्ष बनिरह्यो । जब धरानमा कांग्रेसले जित्यो, केन्द्रमा केपी ओली नेतृत्वको सरकार थियो । बीचमा गठबन्धन सरकार बन्यो ।

कांग्रेसका तिलक राईले धरानमा उपनिर्वाचनबाट जितेका थिए । शर्मा भन्छन्, ‘विद्रोही र असन्तुष्ट जनताको प्रतिनिधिपात्रका रूपमा मतदाताले स्वतन्त्र उम्मेदवार साम्पाङलाई पाए । भोट उतैतिर खन्याए ।’

शर्माका अनुसार धराने जनताले जहिल्यै परिणाममुखी नेता खोजिरहेकाले साम्पाङको नेतृत्वमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्धको आन्दोलन, सर्दू जलाधार र ढुंगागिट्टी उत्खननविरुद्धको अभियान, खानेपानी आयोजनाका बारेमा भएको आन्दोलनको नेतृत्व, धनकुटेमार्गको मदन भण्डारी राजमार्गको आन्दोलनलाई नजिकबाट नियालेका जनताले उनलाई पत्याएका हुन् । साम्पाङले दलीय उम्मेदवारको तुलनमा बढी भोट पाउनुका पछाडि अरू पनि कारण रहेको शर्माको विश्लेषण छ । ‘दलहरूले उम्मेदवार घोषणा गर्दा धरानका पपुलर र हेभिवेटलाई पाखा लगाएर जनताले नरुचाएकालाई अघि सारे,’ उनले भने, ‘गठबन्धन र एमालेले मतदाता आकर्षित गर्न सक्ने उम्मेदवार नउठाएपछि विकल्पमा साम्पाङलाई जिताए । मतपत्रमा लगाएको छाप हेर्दा त्यही देखिन्छ ।’ उनले भनेजस्तै मतपत्रमा लगाएको छापको ‘ट्रेन्ड’ हेर्दा एमाले र कांग्रेसलगायत दलको पकड भएका वडामा अरू पदमा आफ्ना उम्मेदवारलाई भारी मतले जिताएका छन् तर प्रमुखमा साम्पाङलाई छानेका छन् ।

चुनाव प्रचारसमेत राम्ररी गर्न नभ्याएका साम्पाङले चामत्कारिक रूपमा जितेपछि धरानमा अनेक अड्कलबाजी छ । अधिकांशले दलबाट यसअघि निर्वाचित जनप्रतिनिधिले सेवाग्राहीले दैनिक भोगेका समस्यालाई सम्बोधन नगरेकाले वितृष्णा जागेको बताएका छन् । विश्लेषक राजेन्द्र किराती भन्छन्, ‘राष्ट्रिय राजनीतिले नेतृत्व गरेको भए धरानमा यो अवस्था आउँदैन थियो । मतदाता प्रशिक्षित हुन नसक्दा विकल्प छान्न बाध्य भए ।

खानेपानी आयोजनासम्बन्धी विवाद, सर्दू र सेउती खोला उत्खननविरुद्धको अभियानमा साम्पाङले आन्दोलन गर्दा धरान उपमहानगरका तत्कालीन प्रमुख तिलक राई, उपप्रमुख मन्जु भण्डारी, धरान खानेपानी व्यवस्थापन बोर्डका निर्देशक इन्जिनियर राजु पोखरेललगायतलाई फेसबुक लाइभमै र टेलिफोन गरेर पनि कडा स्वरले सिधै हप्काउनसम्म बाँकी राखेनन् । उनको यो हक्की र विद्रोही स्वभावप्रति मतदाता आकर्षित भएका हुन् । ‘स्थानीय होस् वा प्रदेश वा केन्द्र सरकार चलाउने भनेको राजनीतिक नेतृत्वले हो,’ किरातीले भने, ‘स्वतन्त्र उम्मेदवारले धरानका समस्या उजागर गरेका हुन् तर यो नै समाधान होइन । यद्यपि साम्पाङले आफ्नो स्वभावअनुसार गरेर देखाए भने धरानका लागि त्यो उपलब्धिमूलक हुन सक्छ ।’

खोटाङको खार्ताम्छामा जन्मेका साम्पाङ ०५६ मा उच्च शिक्षा अध्ययन गर्न धरान झरेका हुन् । पूर्वब्रिटिस गोर्खा सैनिक बाबुका कान्छो छोरा उनले ०६४ मा लोक आधुनिक शैलीका १० गीत समेटेर ‘मिसिङ हर्ट’ म्युजिक एल्बम पनि निकाले । महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातक उनले केही समय धरानको एक ल्याङवेज सेन्टरमा अंग्रेजी भाषा प्रशिक्षक भएर काम गरे । त्यसपछि उनी ६ वर्षसम्म इराक र अफगानिस्तानमा वैदेशिक रोजगारीमा गए । ०७६ को उपनिर्वाचनमा नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका उनले ४ सय २१ मत ल्याएका थिए । अब धरानलाई भ्रष्टाचारमुक्त, उन्नत र समृद्ध बनाउने साम्पाङले बताएका छन् । उनले भने, ‘यो जित लोकतन्त्रमा आस्था राख्ने सबै पार्टी र धरानवासीको हो । म साझा स्वतन्त्र उम्मेदवार हुँ । अब म सबै दलका जनप्रतिनिधिसँग समन्वय गरेर काम गर्छु ।’

धनगढीमा कसरी उदाए हमाल ?

सुदूरपश्चिम प्रदेशको एक्लो उपमहानगरपालिका धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सत्ता गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य एवं निवर्तमान नगरप्रमुख नृपबहादुर वडलाई झन्डै दोब्बर मतले पराजित गरेका छन् । आँप चुनाव चिह्न पाएका हमालले २६ हजार ८ सय ६५ र वडले १४ हजार ८ सय १७ मत पाए । धनगढीमा ६३ हजार ७ सय १५ मत खसेको थियो । २०७४ को निर्वाचनमा पनि यहाँ मुख्य प्रतिस्पर्धी वड र हमाल थिए । कांग्रेसका नगर सभापति रहेका वडले १४ हजार ३ सय २४ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ५ सय २७ मत पाएका थिए । उपमहानगरपालिका प्रमुख निर्वाचित भएपछि राजनीतिक उचाइ पनि थपिएका वड यसपटक भने गठबन्धनबाटै उम्मेदवार हुँदा पनि पराजित भएका छन् । कांग्रेसका पूर्वजिल्ला सचिव पूर्ण कुँवर अधिकांश वडामा कांग्रेसको प्यानल जितेका बेला प्रमुखमा वडलाई कम मत आउनु कार्यकर्ताकै मन एक बनाउन नसक्नुमा कमजोरी भएको बताउँछन् ।

सहरी क्षेत्रमा पर्ने धनगढीको १ देखि ५ वडामा मतदाता संख्या बढी छ । कांग्रेसले पनि यी वडाबाटै बढी मत आउने आशा गरेको थियो । तर, सहरी क्षेत्रका यी वडामै हमाल धेरै मतान्तर राख्न सफल भए । १ देखि ५ वडामा कांग्रेसको प्यानलै निर्वाचित हुँदा पनि वडको भन्दा हमालले राम्रो मत ल्याए । मेयरका उम्मेदवार वडले आफ्नै वडा ६ बाट समेत अपेक्षित मत ल्याउन सकेनन् । त्यहाँ वडामै कांग्रेस पराजित भएको छ ।

वडले स्वतन्त्र उम्मेदवार हमालसँगको पराजयलाई आफ्नै पार्टी र गठबन्धन दलबाट असहयोग भएको बताएका छन् । ‘पार्टीको चुनाव चिह्नमा मात्रै हो, म पार्टीबाट लडे पनि स्वतन्त्र जस्तै उम्मेदवार भएँ,’ उनले भने । पार्टी पंक्तिले पनि एक ढिक्कासाथ चुनावी अभियानमा व्यवस्थापन गर्न नसकेको गुनासो उनले गरे ।

दोस्रो प्रयासमा विजयी हमालसँग नगरप्रमुखका रूपमा काम गर्न योजनाको खाका छ । ‘अव्यवस्थित सहरीकरण प्रमुख समस्या हो । ऐलानी जग्गा व्यवस्थापन, तटबन्ध निर्माण, ढल निकासजस्ता सहरी क्षेत्रका समस्या समाधान गर्नका लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘जसरी पनि धनगढी बनाउने योजना हो । चरणबद्ध रूपमा सबैबाट सहयोग लिएर अघि बढ्छु ।’

गठबन्धनबाट उपप्रमुखमा माओवादी उम्मेदवार शान्ति अधिकारी एमालेकी कन्दकलाकुमारी रानाबाट पराजित भएकी छन् । रानाले अधिकारीलाई २ हजार ८ सय ९ मत अन्तरले हराएकी छन् । उपमहानगरमा गठबन्धन पराजित हुनुको मुख्य कारण कांग्रेसले आफ्नो दलभित्रको आन्तरिक असन्तुष्टिलाई मत्थर पार्नॅ नसक्नु भएको माओवादीका स्थानीय नेता रमेश धामीको बुझाइ छ ।

नगरप्रमुखमा विजयी हमाल व्यावसायिक पृष्ठभूमिका हुन् । उनी पछिल्लो समय आफ्नो छवि सामाजिक अभियन्ताका रूपमा स्थापित गर्न सफल भएका थिए । व्यावसायिक कम्पनी दिनेश ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक हमालको सामाजिक अभियान २०६० सालयता बढेको हो । यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्न उनले दुईवटा ठूलो आन्दोलनकै अगुवाइ गरेका थिए । बस व्यवसायी समितिको सिन्डिकेट तोड्दै उनले दिनेश यातायात प्रालि सञ्चालनमा ल्याए । धनगढीबाट ४ घण्टामा टीकापुर पुर्‍याउने बस सेवालाई २ घण्टामै पुग्ने बनाए । बसमा महिला सहजकर्ता राखेर महिला, बालबालिका र वृद्धवृद्धा यात्रुलाई सहज व्यवहारको सुरुवात उनको यातायात सेवाले गर्‍यो ।

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएपछि उनले ट्रक व्यवसायीको सिन्डिकेट तोड्ने दुईमहिने आन्दोलन सुरु गरे । यसले यो क्षेत्रका सबै किसिमका व्यवसायीलाई निकै राहत भयो । उद्योग वाणिज्य संघमै रहँदा हमालले सुन्दर सुदूरपश्चिम अभियानको समेत अगुवाइ गरेका थिए । सुदूरपश्चिम छाउपडी र देउकी प्रथाबाट चिनिने गरेको भन्दै उनले यसलाई बदल्नका लागि सुदूरका सुन्दर ठाउँ र संस्कृतिको पोस्टर निकालेर देश/विदेशसम्म प्रचार अभियान थाले । पर्यटन व्यवसायलाई माथि उठाउन उनको अभियान कोसेढुंगा बनेको पर्यटन व्यवसायी प्रकाश भट्ट बताउँछन् ।

सशस्त्र द्वन्द्वले थलिएको सुदूरपश्चिमको प्रमुख व्यापारिक सहर धनगढीमा हमालले संघको अध्यक्ष भएकै बेला सुदूरपश्चिम महोत्सवको सुरुवात गरे । महोत्सवमा उनले प्रधानमन्त्री, सभामुख जस्ता व्यक्तित्वलाई ल्याएर २१ किलोको माला र सुदूरपश्चिमका २१ बुँदे माग राख्ने प्रचलनको सुरुवात गरे । सुदूरपश्चिमलाई हवाई यातायातबाट नजोडेको अवस्थामा उनले धनगढी विमानस्थल कालोपत्रे निर्माणमा राज्यलाई दबाब दिन ‘सुदूरपश्चिमवासीको एक पैसा’ अभियान पनि चलाए । यसबाट करिब ५० लाख सहयोग उठेपछि बाँकी लगानी थपेर सरकार विमानस्थल कालोपत्रे बनाउन बाध्य भयो ।

०७४ को स्थानीय तह निर्वाचनमा उनले ‘आफ्नो सहर आफैं बनाऔं’ भन्दै स्वतन्त्रबाट नगरप्रमुखमा उम्मेदवारी दिएका थिए । त्यतिबेला उनी एमाले र माओवादीका उम्मेदवारभन्दा बढी मत ल्याएर वडका निकटतम् प्रतिष्पर्धी भएका थिए । लगत्तै विवेकशील साझा पार्टीका प्रदेश संयोजक बनेका उनले गत चैतमा पार्टी छाडेको घोषणा गरेका थिए । उनले यहाँ गरिब र विपन्न परिवारका लागि कपडा बैंक पनि खोले । यो विपन्न मतदाताका लागि मन छुने काम बन्यो । धनगढीमा शववाहनको समस्या थियो । हमालले आफ्नै लगानीमा दुई शववाहन निःशुल्क सञ्चालन थाले । हमाल २०२० जेठ १६ मा कैलालीको टीकापुरमा जन्मेका हुन् । उनका पिता वनका कर्मचारी थिए । धनगढीमा टिनको बाकस र दराज बनाउने कारखाना खोलेर व्यवसाय सञ्चालन गरेका हमालका चार दाजुभाइको कम्पनी हो दिनेश ग्रुप ।

प्रकाशित : जेष्ठ ९, २०७९ ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?