१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भरतपुरमा एक लाख मतगणना हुँदा जित नजिक दाहाल

रमेशकुमार पौडेल

चितवन — चितवनको भरतपुर महानगरपालिकाको वडा नं. २२ को मतगणना चलिरहँदा करिब एक लाख मत गनेर सकिएको छ । २९ वटा वडा रहेको भरतपुरमा अब सातवटा वडाको मत गन्न बाँकी छ । तर‚ मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएकी रेनु दाहालको मतान्तर निकै फराकिलो भएका कारण  नतिजा दाहालकै पक्षमा आउने आकलन गर्न सहज हुँदै गएको छ ।

भरतपुरमा एक लाख मतगणना हुँदा जित नजिक दाहाल

आइतबार साँझ भरतपुरको वडा नम्बर २१ र २२ को मतगणना हुँदा ९९ हजार ६ सय ४४ मत गनेर सकिएको छ । जसमा दाहालले ३९ हजार ४ सय १६, एमालेका विजय सुवेदीले ३० हजार ६ सय ६० र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललले १२ हजार ८ सय १० मत ल्याएका छन् । भरतपुरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको हो । अब २७/२८ हजार मत गन्न बाँकी रहँदा दाहाल सुवेदीभन्दा ८ हजार ७ सय ५६ मतले अगाडि छिन् । सुवेदीलाई यो मतान्तरको खाडल पुर्न अब असम्भवजस्तै भएको छ ।

यसअघि एमालेको निकै नै राम्रो प्रभाव रहेको भरतपुर महानगरपालिकाका धेरै मतदाता रहेका वडाहरू २, १०, ११ र १२ मा पनि राम्रो अग्रता लिन नसकेका सुवेदीले अब बाँकी वडामा अग्रता लिने सम्भावना देखिएको छैन । अघिल्लो निर्वाचनमा एमालेले जितेको वडा नं. २२ मा यो पटक नेकपा एकीकृत समाजवादीका उम्मेदवार अगाडि छन् । अघिल्लो निर्वाचनमा २३, २४, २८ र २९ मा पनि एमालेले जितेको थियो ।

एमालेले जितेका यी वडाहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि मत छ । एमालेले उपमेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई र राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयरमा एमालेका उम्मेदवारलाई समर्थन गरेको छ । मेयर र उपमेयर पदमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल भए पनि सुवेदीलाई चित्तबुझ्दो मत आइरहेको छैन । त्यसैले एमालेमा उम्मेदवार सुवेदीले बाँकी वडाबाट नतिजा नै फरक पार्ने गरेर मत ल्याउने सम्भावना छैन ।

यो पटक वडा नम्बर १९ ले एमालेलाई दियो हर्ष

आफ्नो राम्रो प्रभाव रहेको २ र १० जस्ता वडाहरूमा वडाध्यक्षसमेत गुमाएको एमालेलाई भरतपुर-१९ ले भने यसपालि खुसी दिएको छ । नेपाली कांग्रेसको परम्परागत गढ मानिने यो वडामा एमालेका उम्मेदवार प्रकाश तामाङले यो पटक वडाध्यक्ष जितेका छन् । भरतपुर-१९ नै यस्तो वडा हो‚ जहाँ अघिल्लो निर्वाचनमा मतगणना चलिरहँदा मतपत्र च्यातेका कारण दोहोर्‍याएर मतदान गर्नु परेको थियो ।

अघिल्लो पटक २०७४ सालको स्थानीय निर्वाचनको मतगणना चलिरहँदा जेठ १४ गते राति मतपत्र च्यातिएको थियो । मतपत्र च्यातेको आरोपमा प्रहरीले तत्कालै माओवादी केन्द्रका दुई जना नेतालाई पक्राउ गरेको थियो । उनीहरूलाई दोषी ठहर गर्दै अदालतले जरिवानासमेत गरेको थियो । त्यो बेला मेयर पदमा अहिलेको जस्तै सत्तारुढ गठबन्धनबाट दाहाल र एमालेबाट देवीप्रसाद ज्ञवाली उम्मेदवार थिए ।

वडा नम्बर १९ पछि २० को गणना गरेर अन्तिम मत परिणाम सार्वजनिक गर्ने तयारी थियो । दाहाल ज्ञवालीभन्दा साढे ६ सय मतले पछाडि थिइन् । प्रतिस्पर्धा निकै कडा हुँदै गएको थियो । त्यही बेला मतपत्र च्यातेपछि बाँकी रहेको मतपत्र गन्ने कि फेरि चुनाव गर्ने भन्ने विवाद सर्वोच्च अदालतसम्म पुग्यो । अदालतले मतदानको आदेश गरेपछि वडा नम्बर १९ मा फेरि चुनाव गर्नु परेको थियो ।

त्यसरी भएको चुनावमा दाहालसँग देवि ज्ञवाली २०३ मतको झिनो अन्तरले पराजित भएका थिए । प्रकाश तमाङलाई त्यो बेलामा पनि एमालेले वडाध्यक्ष पदमा उठाएको थियो । पहिलाको तुलनामा धेरै वडाध्यक्षहरूका साथै मेयरमा समेत अग्रता गुमाएर निरास भएको एमाले पंक्तिलाई प्रकाशको जितले राहत दिएको छ । भरतपुरमा एमालेले हालसम्म पाँच जना मात्रै वडाध्यक्षहरू जितेको छ । तीमध्ये ११ र १२ मात्रै एमालेका परम्परागत प्रभाव क्षेत्र हुन् । भरतपुर-१९ जस्तै भरतपुर-३ र १८ जस्तो कांग्रेसको प्रभाव क्षेत्रमा यो बेला एमाले उम्मेदवारहरूले वडाध्यक्ष जिते ।

प्रकाशित : जेष्ठ ८, २०७९ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?