मोरङको रंगेलीमा एमालेका बगडिया र पराजुली विजयी


विराटनगर — मोरङको रंगेली नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । पटकपटकको विवादले मतगणना रोकिएको यो नगरमा गठबन्धनका प्रतिनिधिले गणना बहिस्कार गरे पनि मोरङ प्रशासनमा सबै दलले सहमति जनाएपछि आइतबार सम्पन्न मतगणनामा रंगेलीको मेयरमा एमालेका निवर्तमान मेयर दीलीप बगडिया र उपमेयरमा भुमाकुमारी पराजुली विजयी भएका हुन् ।



यो नगरमा जनता समाजवादी पार्टीका एक जना वडा सदस्यबाहेक सबै वडामा एमालेका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा बगडियाले गठबन्धनबाट कांग्रेसका मोदराज घिमिरेलाई ३ हजार ८ सय मतान्तरले पराजित गरेर लगातार दोस्रो पटक निर्वाचित भएका छन् । बगडियाले १२ हजार ८ सय ६१ मत ल्याउँदा घिमिरेले ९ हजार ६१ मत पाए ।
त्यसैगरी उपमेयरमा एमालेकै भुमा पराजुलीले ११ हजार ७ सय ९० मत ल्याउँदा गठबन्धनका पन्नालाल मण्डलले ५ हजार १ सय ७५ मत ल्याएको निर्वाचन अधिकृत रामहरी शर्मा काफ्लेले जानकारी दिए ।
मेयरमा विजयी बगोडया २०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट मेयरमा विजयी भएका थिए । उनी निर्वाचनको मिति घोषणा भएको केही दिनअघि एमालेमा प्रवेश गरेर मेयरका उम्मेदवार बनेका थिए ।
मुचुल्कामा उल्लेख भएभन्दा बढी मतपत्र भेटिएको विवादमा तीन दिनसम्म रंगेलीको मतगणना रोकिएको थियो । तर‚ निर्वाचन आयोगकको छानबिन समितिको प्रतिवदेनपछि निर्वाचन अधिकृतले गठबन्धन दलका प्रतिनिधिले बहिस्कार गरे पनि एमाले, राप्रपाका स्थानीय र जसपाका जिल्ला तहका प्रतिनिधिको उपस्थितिमा मतगणना सुरु गरेका थिए ।
सत्ता गठबन्धन दल कांग्रेस र माओवादी केन्द्र भने निर्वाचनमा धाँधली भएको भन्दै पुन मतदानको माग गर्दै सडकमा उत्रिँदा गठबन्धनकै अर्को घटक जसपाको जिल्ला तहका प्रतिनिधिले भने मतगणनामा सहभागीता जनाएका थिए ।
प्रकाशित : जेष्ठ ८, २०७९ १९:४७