कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१
स्थानीय तह निर्वाचन

सप्तरीमा पाँच पालिका प्रमुख जित्दै कांग्रेस पहिलो

अवधेशकुमार झा

काठमाडौँ — स्थानीय तह निर्वाचनअन्तर्गत सप्तरीमा पाँच पालिका प्रमुख जित्दै नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । उसले ४१ वटा वडाध्यक्ष समेत जितेको छ । २०७४ को चुनावमा पनि कांग्रेसले अग्नीसाइकर कृष्णासवरण, विष्णुपुर, राजगढ गाउँपालिका तथा शम्भुनाथ र सुरुंगा नगरपालिकामा जितेको थियो ।

सप्तरीमा पाँच पालिका प्रमुख जित्दै कांग्रेस पहिलो

पहिले जितेकामा सुरुंगामा मेयर र उपमेयर निर्वाचित हुनुबाहेकमा कांग्रेसले नेतृत्व दोहोर्‍याउन सकेन । तर नयाँ पालिकाको रुपमा सप्तकोसी र कञ्चनरुप नगरपालिका तथा तिलाठी कोईलाडी र तिरहुत गाउँपालिकामा प्रमुखको नेतृत्व कांग्रेसले पाएको छ ।

यस्तै उपप्रमुखतर्फ कांग्रेसले ७ स्थानमा जित निकालेको छ । सुरुंगा, कञ्चनरुप र सप्तकोसी नगरपालिकाको उपमेयर तथा तिलाठी कोईलाडी, तिरहुत, विष्णुपुर रअग्नीसाइर कृष्णासवरण गाउँपालिकाको उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादजको समेत निर्वाचन क्षेत्र रहेको सप्तरीमा जनता समाजवादी पार्टीलाई झट्का लागेको छ । जसपाले यसपटक ३ वटा पालिकामा प्रमुख/अध्यक्ष र ५ वटा पालिकामा उपप्रमुख/उपाध्यक्ष जितेको छ । उसले जिल्लाको ४६ वटा वडाध्यक्ष समेत जित निकालेको छ । ०७४ को निर्वाचनमा तात्कालीन फोरमले जिल्लाको तिरहुत, बोदे वरसाइन, खडग, बलान बिहुल र महादेवा पालिका जितेको थियो । यसमध्ये बोदे वरसाइनमा मात्र जसपाले जित निकालेको छ । तत्कालीन नयाँ शक्ति पार्टीबाट छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष ०७४ मा जितेको थियो । पार्टी समायोजन हुँदा उक्त पालिकाको नेतृत्व पनि जसपाकै भागमा थियो ।

यसैगरी तत्कालीन समाजवादी पार्टी र राजपा मिलेर जसपा बनेको थियो । जसपा फुटेर लोसपा बनेपछि तत्कालीन राजपाबाट निर्वाचित पाँच पालिका प्रमुखमध्ये राजविराज, डाक्नेश्वरी, रुपनी र हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुखहरुले जसपा नै रोजेका थिए । तिलाठी कोईलाडीका प्रमुखले मात्र लोसपाले रोजेका थिए । यी सबै समायोजनका कारण निर्वाचनपूर्व सप्तरीमा जसपाको १० वटा स्थानीय तहमा नेतृत्व थियो । ती मध्ये जसपाले बोदे वरसाइन र राजविराजमा मात्र पुरानो विरासत जोगाउन सफल भएको छ भने विष्णुपुर गाउँपालिकामा अध्यक्ष जितेको छ ।

निर्वाचनको अन्तिम मत परिणामअनुसार जसपाले सप्तरीको राजविराज नगरपालिकामा प्रमुख र उपप्रमुख, बोदे वरसाइन नगरपालिकामा प्रमुख र उपप्रमुख, विष्णुपुर गाउँपालिकामा अध्यक्ष, हनुमाननगर कंकालिनी नगरपालिकामा उपप्रमुख, राजगढ गाउँपालिकामा उपाध्यक्ष, खडग नगरपालिकामा उपप्रमुख पदमा विजयी भएको छ । अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र रहेको सप्तरीको क्षेत्र नम्बर २ मा चार पालिका छन् । जहाँ रहेको राजविराज नगरपालिकामा मात्र जसपाले जितेको छ । अन्य तीन पालिकामा महादेवा र छिन्नमस्ता अध्यक्षमा लोसपा तथा तिलाठी कोइलाडीको अध्यक्षमा कांग्रेस विजयी भएको छ ।

गत विर्नाचनमा सप्तकोसी र कञ्चनरुप नगरपालिकाको प्रमुखमा एमाले उम्मेदवार जिते पनि यसपटक ती दुवै पालिका जोगाउन सकेनन् । दुवै पालिका प्रमुख र उपप्रमुखमा यसपटक कांग्रेसले बाजी मार्‍यो । एमालेले जिल्लामा १ नगर प्रमुख, २ गाउँपालिका अध्यक्ष जितेको छ भने १ नगर उपप्रमुखसमेत जितेको छ । डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार विजयी भएका छन् । यस्तै राजगढ गाउँपालिका र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाको अध्यक्षमा पनि एमालेकै जित भएको छ ।

०७४ को निर्वाचनमा तत्कालीन राजपाले जिल्लाको पाँच वटा पालिका जितेको थियो । तर पार्टी एकतापछि चार वटा पालिका प्रमुख जसपातिर लागेपछि लोसपाको नेतृत्व एक पालिका तिलाठी कोईलाडीमा मात्र रहन गयो । उसले तिलाठी कोईलाडी जोगाउन नसके पनि जिल्लाका ३ पालिका अध्यक्ष र २ उपाध्यक्ष जितेको छ । महादेवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोसपाका उम्मेदवार जितेका छन् । लोसपाले जिल्लामा १२ वडाध्यक्षमा समेत जित्न सफल भएको छ ।

यस्तै पहिलो पटक निर्वाचनमा भाग लिएको सिके राउत नेतृत्वको जनमत पार्टीले जिल्लाका दुई पालिका प्रमुख र एक उपाध्यक्ष जिते पनि राउतको गृहपालिका भने जित्न सकेनन् । राउतको घर रहेको सप्तरीको महादेवा गाउँपालिका लोसपाले जितेको छ । जसपाको सुरक्षित पालिका मानिँदै आएको हनुमाननगर कंकालिनी नगरपालिकामा १ सय ६१ मतान्तरले जनमत पार्टीका उम्मेदवार वीरेन्द्र माझी नगर प्रमुखमा निर्वाचित भएका छन् । यस्तै साविकमा जसपाकै अध्यक्ष र उपाध्यक्ष रहेको बलानबिहुल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा यसपटक जनमत पार्टीले जितेको छ । जनमत पार्टीले जिल्लाका ७ वटा वडाध्यक्षसमेत जितेको छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा जिल्लामा एउटा पनि पालिकाको प्रमुख र उपप्रमुखमा जित्न नसकी वडा तहमा मात्र सीमित भएको नेकपा माओवादी केन्द्रले यसपटक एक नगरपालिकाको प्रमुख र एक गाउँपालिका उपाध्यक्ष पदमा जितेको छ । उसले नेकपा (एकीकृत समाजवादी)सितको गठबन्धनमा खडग नगरपालिकाको प्रमुख जितेको छ । माओवादीले छिन्नमस्ता गाउँपालिकाको उपाध्यक्ष पदमा समेत जित निकालेको छ । उसले जिल्लाको २० वटा वडासमेत जितेको छ ।

एमालेबाट फुटेर निर्माण भएको एकीकृत समाजवादीले माओवादी केन्द्रसितको गठबन्धनमा जिल्लाको शम्भुनाथ नगरपालिकाको नगरप्रमुख र उपप्रमुख जितेको छ । उसले जिल्लाका १३ वटा वडाध्यक्षसमेत जितेको छ ।

जिल्लामा राजविराज नगरपालिकाको वडा नम्बर १३ मा एकमात्र वडाध्यक्ष राप्रपाका त्रिलोकीनाथ चौधरीले जितेको छ ।

२५ वर्षीय पालिका प्रमुख

राजनैतिक दिग्गजहरुकाबीच प्रतिस्पर्धामा उत्रेका २५ वर्षीय युवा विद्यानन्द चौधरी सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट उम्मेदवार बनेका चौधरी पालिकाका पाका उम्मेदवारहरुलाई पछाडी पार्दै आगामी ५ वर्षका लागि निर्वाचित भएका हुन् । अध्यक्ष चौधरीले २ हजार ८ सय ९५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका सत्यनारायण यादवले १ हजार ७ सय ६६ मत पाए । यहाँ निवर्तमान पालिका अध्यक्ष सूर्यनारायण मण्डल र जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादवीसमेत चुनावी मैदानमा थिए ।

नयाँ शक्तिबाट गत स्थानीय चुनावमा अध्यक्ष जितेका सूर्यनारायण मण्डल पछि पार्टी समायोजन हुँदा जसपामै आएका थिए । जसपाले उनलाई टिकट नदिएपछि यस पटकको निर्वाचनमा नेपाल सद्‌भावना पार्टीबाट अध्यक्ष पदमा उम्मेदवार भएका थिए । निवर्तमान अध्यक्ष मण्डलले ८ सय मतमा सीमित हुँदै सातौं स्थानमा झरेका छन् । यस्तै तत्कालीन राजपाबाट जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका प्रभाकर यादव यसपटक लोसपाबाट पालिका अध्यक्षको दाबेदार थिए । उनलाई लोसपाले टिकट नदिएपछि हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीबाट उनी पालिका अध्यक्ष पदमा उम्मेदवार भएका थिए । उनले ८ सय ९८ मत प्राप्त गर्दैं छैठौं स्थानमा झरेका छन् ।

दोहोर्‍याउनेमा एक–एक प्रमुख र उपप्रमुख मात्र ०७४ सालको स्थानीय तह निर्वाचनमा सप्तरीमा जितेकाहरु एक प्रमुख र एक उपप्रमुखबाहेक सबै यसपटक पराजित भएका छन् । जसपाका तर्फबाट उम्मेदवार रहेका बोदे वरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादव र हनुमाननगर कंकालिनी नगरपालिकाकी उपप्रमुखकी उम्मेदवार सरितादेवी सिपलिया यादवले मात्र यसपटक जितेका हुन् । अन्य सबै निवर्तमान प्रमुख र उपप्रमुखहरु यसपटक पराजित भएका छन् । केही निकटतम प्रतिद्वन्द्वी रहेका छन् भने केही तेस्रोदेखि सातौं वरीयतासम्म पुगेका छन् ।

प्रकाशित : जेष्ठ ८, २०७९ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?