कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

धनुषाका १८ मध्ये १७ पालिकाको मत परिणाम घोषणा : कांग्रेस १० स्थानमा विजयी, लोसपा शून्य

श्यामसुन्दर शशि

जनकपुर — धनुषाको १८ मध्ये १७ पालिकाको मत परिणाम घोषणा भएको छ । आइतबार बिहानसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारहरूले १० पालिकामा मेयर जितेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले कुनै स्थान जित्न सकेको छैन ।

धनुषाका १८ मध्ये १७ पालिकाको मत परिणाम घोषणा : कांग्रेस १० स्थानमा विजयी, लोसपा शून्य

नेकपा एमाले र जनता समाजवादी पार्टीले ३/३ तथा माओवादी केन्द्रले १ पालिकामा मेयर पद जितेका छन् । जनकपुरधाम उपमहानगरपालिकाको मतगणना जारी छ । जहाँ कांग्रेसका बागी उम्मेदवार मनोज साहले अग्रता लिइरहेका छन् ।

जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकामा एमालेका सुखदेव यादवले कांग्रेसका जिल्ला सभापति योगेन्द्र पंजियारलाई पराजित गरी प्रमुख निर्वाचित भएका छन् ।

यादव ७ हजार ९ सय १३ मत प्राप्त गरेका थिए भने पंजियारले ७ हजार ३ सय मत प्राप्त गरेका छन् । उपप्रमुखमा भने नेपाली कांग्रेसकी रचना श्रेष्ठ ७ हजार ५ सय ५० मत प्राप्त गरी विजयी भएकी छन् ।

कांग्रेसका उम्मेदवारहरुले नगराइन, मिथिला, कमला, धनुषाधाम, गणेशमान चारनाथ, मिथिला विहारी र हंसपुर गरी ७ नगरपालिका तथा बटेश्वर, लक्ष्मिनिया र धनौजी ३ गाउँपालिका गरी कुल १० पालिकामा मेयर निर्वाचित भएका छन् । यसैगरी नेकपा एमालेका उम्मेदवारहरूले विदेह, क्षीरेश्वरनाथ नगरपालिका र औरही गाउँपालिका गरी ३ पालिकामा प्रमुख निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टीका उम्मेदवारहरूले शहीदनगर नगरपालिका र मुखियापटी मुसरनिया तथा जनकनन्दनी गाउँपालिका गरी ३ पालिका जितेको छ । नेकपा माओवादी केन्द्रका कारीराम यादव सबैला नगरपालिकाका मेयर निर्वाचित भएका छन् ।

कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको गृहनगर नगराइन नगरपालिकामा नेकाका विनयकुमार यादव ४२ मतको अन्तरले विजयी भएका छन् । यादव ५ हजार ५ सय ५६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामबाबु पंजियारले ५ हजार ५ सय १४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा भने एमालेका राधादेवी यादव ५ हजार ७ सय ३० मत प्राप्त गरी विजयी भएकी छन् ।

यसैगरी कडा प्रतिस्पर्धाबीच सम्पन्न मिथिला नगरपालिकाको निर्वाचनमा नेपाली कांग्रेसका महेन्द्र महतो ९१ मतान्तरले विजयी भएका छन् । नेकाका महतो ७ हजार ३१ मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका राजाराम महतोले ६ हजार ९ सय ४० मत प्राप्त गरेका थिए । उपप्रमुखमा भने एमालेकै सुनिता सिंह बुढाथोकी ७ हजार ४ सय १४ मत प्राप्त गरी विजयी भएकी छन् ।

यसअघि नेपाली कांग्रेसका बालेश्वर मण्डल धनुषाधाम नगरपालिकाका मेयर निर्वाचित भएका थिए । मण्डल ४ हजार ७ सय १८ मत प्राप्त गरेका थिए भन्ने निजका निकटम प्रतिद्वन्द्वी एमालेका योगकुमार यादवले ४ हजार १ सय ७९ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा पनि नेकाकी विद्यादेवी भुजेल ४ हजार १ सय २५ मत प्राप्त गरी विजयी भएकी थिइन् । कमला नगरपालिकामा कांग्रेसका विशेश्वर यादव ३ हजार ८ सय ८७ मत प्राप्त गरी प्रमुख तथा सोही पार्टीकी शिलादेवी मण्डलले त्यति नै मत प्राप्त गरी उपप्रमुख निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसका रामअशीष महतो ४ हजार १८ मत प्राप्त गरी बटेश्वर गाउँपालिकाका प्रमुख तथा फूलकुमारी सिंह दुनुवार ३ हजार ६ सय १ मत प्राप्त गरी उपप्रमुख निर्वाचित भएका थिए । लक्ष्मिनिया गाउँपालिकामा कांग्रेसका भोगेन्द्र झा ३ हजार ७ सय ६५ मत प्राप्त गरी प्रमुख तथा ३ हजार ६ सय २८ मत प्राप्त गरी फूलकुमारी यादव उपप्रमुख निर्वाचित भएका थिए भने धनौजी गाउँपालिका कांग्रेसका राजकुमार साह २ हजार २ सय ६२ मत प्राप्त गरी प्रमुखमा तथा सोही पार्टीकी रामवतीदेवी मण्डल २ हजार ४ सय ३० मत प्राप्त गरी उपप्रमुख निर्वाचित भएका थिए ।

त्यस्तै विदेह नगरपालिका र औरही गाउँपालिकामा नेकपा एमालेका क्रमश: बेचनदास र उमाशंकरप्रसाद साह प्रमुख निर्वाचित भएका थिए भने शहीदनगर नगर पालिका तथा मुखिया पट्टी मुसरनिया र जनकनन्दनी गाउँपालिकामा जनता समाजवादी पार्टीका क्रमश: दिनेशप्रसाद यादव, जयकुमार यादव र दीपीनदेव यादव विजयी भएका थिए ।

२०७४ को स्थानीय तह निर्वाचनमा समाजवादी फोरम ( हाल जसपा ) र राष्ट्रिय जनता पार्टी ( हाल लोकतान्त्रिक समाजवादी पार्टी )ले २/२ पालिकामा मेयर जितेको थियो । ०७९ को स्थानीय तह निर्वाचनमा जसपाका उम्मेदवारहरू ३ पालिकामा मेयर निर्वाचित भएपनि गत निर्वाचनमा जनकपुरधाम उपमहानगर पालिका जितेको लोसपा भन्ने एउटै पालिकामा जित्न सकेको छैन । ७४ को निर्वाचनमा नेपाली कांग्रेसले ८, नेकपा एमालेले ५, माओवादी केन्द्रले १ तथा जसपा र लोसपाले २/२ पालिकामा मेयर जितेको थियो ।

चारै दलका जिल्ला अध्यक्ष पराजित

स्थानीय तह निर्वाचनको क्रममा विभिन्न पालिकाहरुको प्रमुख पदमा उम्मेदवारी दिएका चारवटै राष्ट्रिय दलका जिल्ला अध्यक्षहरू पराजित भएका छन् ।

नेपाली कांग्रेसका सभापति योगेन्द्र पंजियार , एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादव र माओवादी केन्द्रका जिल्ला अध्यक्ष दीपक भन्ने देवेन्द्र यादव अ-आफ्ना पालिकामा पराजित भएका छन् ।

क्षीरेश्वरनाथ नगरपालिकाका निवर्तमान प्रमुखसमेत रहेका पंजियारलाई एमालेका सुखदेव यादवले ६१३ मत अन्तरले पराजित गरेका छन् भने एमाले धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव सबैला नगरपालिकामा प्रमुख पदका लागि भएको प्रतिस्पर्धामा तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । सबैला नगरमा माओवादी केन्द्रका कारीराम यादव ४ हजार २ सय १२ मत ल्याएर निर्वाचित हुँदा राजकिशोर यादव तेस्रो नम्बरमा रहँदै ३ हजार ५ सय ८१ मतमात्र प्राप्त गर्न सकेका थिए ।

यसैगरी कमला नगरपालिका प्रमुखको उम्मेदवार जसपाका जिल्ला अध्यक्ष पशुपति यादवलाई नेपाली कांग्रेसका विशेश्वर यादवले १ हजार २८ मतान्तरले पराजित गरेका थिए । नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष दीपक भन्ने दीपक यादव धनुषाधाम नगरपालिकाको प्रमुख पदमा पराजित भएका छन् । नेपाली कांग्रेसका बालेश्वर मण्डलले ४ हजार ७ सय१८ मत ल्याई विजयी हुँदा दीपक तेस्रो स्थानमा रहँदै ३ हजार २ सय ५९ मत मात्र प्राप्त गर्न सकेका थिए ।

जनकपुरको इतिहास दोहोरिने छनक
जनकपुरधाम उपमहानगरपालिकाको २५ मध्ये १८ वडाको मतगणना सम्पन्न हुँदै गर्दा मेयर पदका स्वतन्त्र उम्मेदवार मनोज साह अन्य उम्मेदवारहरूभन्दा झन्डै २ हजार मतको अग्रता बनाइराखेको छ । साह १० हजार १ सय २५ मत प्राप्त गरेका छन् भने निजका निकटम प्रतिद्वन्द्वी एमालेका शिवशंकर साह हिरा ८ हजार ३ सय ६२ मत प्राप्त गरेका छन् । गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार लालकिशोर साह तेस्रो स्थानमा उक्लेका छन् । साह ४ हजार ४३ मत प्राप्त गरेका छन् ।

सहरी क्षेत्रको १ देखि ११ तथा ग्रामीण क्षेत्र १७ देखि २५ सम्मको मतगणना सम्पन्न भइसकेको छ । उपमेयर पदका गठबन्धनका उम्मेदवार किशोरी साहले लगभग निर्णायक अग्रता बनाइसकेका छन् ।

रामनारायण मिश्र, महेन्द्रनारायण निधी र सरोजप्रसाद कोइरालाजस्ता हस्तीहरूको कर्मस्थल जनकपुरधामलाई नेपाली कांग्रेसको गढ मानिए पनि यहाँबाट नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार नगरप्रमुख निर्वाचित हुन सकेका छैनन् । कांग्रेसका बागीहरू भने पटक पटक निर्वाचित भएको इतिहास छ ।

प्रकाशित : जेष्ठ ८, २०७९ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?