सप्तरीको डाक्नेश्वरीमा एमाले विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

सप्तरीको डाक्नेश्वरीमा एमाले विजयी

अवधेशकुमार झा

राजविराज — सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका रामलखन मलाह निर्वाचित भएका छन् । यस्तै नगर उपप्रमुखमा पनि एमालेकी मिराकुमारी यादव निर्वाचित भएकी छन् । 

अन्तिम मत परिणामअनुसार नगर प्रमुखमा निर्वाचित एमालेका मलाहले ५ हजार ८ सय ५४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण यादवले ५ हजार ३ सय ९६ मत प्राप्त गरे ।

यस्तै नगर उपप्रमुखमा निर्वाचित एमालेकी मिराकुमारी यादवले ६ हजार १ सय ९७ मत प्राप्त गरेकी छन् । निकटतम प्रतिद्वन्द्वी जसपाकी इन्दुदेवी यादवले ५ हजार २ सय ९ मत प्राप्त गरेकी छन् ।

डाक्नेश्वरीको नतिजासमेत सप्तरीमा कुल १८ मध्ये १७ स्थानीय तहको मतगणना सकिएको छ । रुपनी गाउँपालिकाको मतगणनासमेत अन्तिम चरणमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७९ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्

छिन्नमस्ताको अध्यक्षमा २५ वर्षीय विद्यानन्द विजयी, उपाध्यक्षमा माओवादीकी यादव

निवर्तमान अध्यक्ष सातौं र निवर्तमान जिल्ला समन्वय समिति प्रमुख छैठौं स्थानमा
अवधेशकुमार झा

राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा २५ वर्षीय विद्यानन्द चौधरी निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट उम्मेदवार रहेका चौधरी पालिकाका पाका उम्मेदवारहरुलाई पछाडि पार्दै आगामी ५ वर्षका लागि पालिकाको नेतृत्व गर्ने जनमत पाएका हुन् ।

निर्वाचित अध्यक्ष चौधरीले २ हजार ८ सय ९५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सत्यनारायण यादवले १ हजार ७ सय ६६ मत पाए । यहाँ निवर्तमान पालिका अध्यक्ष सूर्यनारायण मण्डल र निवर्तमान जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादवसमेत चुनावी मैदानमा थिए ।

नयाँ शक्तिबाट गत स्थानीय चुनावमा अध्यक्ष जितेका सूर्यनारायण मण्डल पछि पार्टी समायोजन हुँदा जसपामै प्रवेश गरेका थिए । जसपाले उनलाई टिकट नदिएपछि उनी यस पटकको निर्वाचनमा नेपाल सदभावना पार्टीबाट अध्यक्ष पदमा उम्मेदवार भएका थिए ।

निवर्तमान अध्यक्ष मण्डल ७ सय ४८ मतमा सिमित हुँदै सातौं स्थानमा झरेका छन् । यस्तै तात्कालीन राजपाबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका प्रभाकर यादव यसपटक लोसपाबाट पालिका अध्यक्षको टिकटका दावेदार थिए ।

उनलाई लोसपाले टिकट नदिएपछि हृदयेश त्रिपाठीको जनता प्रगतीशिल पार्टीबाट उनी पालिका अध्यक्ष पदमा उम्मेदवार भएका थिए । उनी छैठौं स्थानमा झरेका छन् ।

छिन्नमस्ता गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी राजोदेवी यादव निर्वाचित भएकी छन् । उनले २ हजार ४ सय ७२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसकी प्रमिलादेवी साहले १ हजार ५सय ९५ मत प्राप्त गरिन् ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०९:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×