१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लमजुङका ७५ वडामा एक्लो दलित वडाध्यक्ष

खुला सदस्यमा ५ जना निर्वाचित
आश गुरुङ

लमजुङ — लमजुङका ८ वटा स्थानीय तहमा ७५ वडा छन् । यी वडामा १ जनामात्रै दलित उम्मेदवारले वडाअध्यक्ष जितेका छन् । विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका ९ जना दलित नेताहरू भने वडाअध्यक्षबाट पराजित भए ।

लमजुङका ७५ वडामा एक्लो दलित वडाध्यक्ष

राइनास नगरपालिका ५ मा नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्षमा शंखबहादुर सार्की निर्वाचित भएका हुन्। कांग्रेस–माओवादी केन्द्रको सत्ता गठबन्धनबाट उम्मेदवार बनेका उनलाई कांग्रेसले सघाएको हो ।

शंखबहादुरले ५ सय ९९ मत ल्याएर वडाअध्यक्ष जिते । निकटम प्रतिस्पर्धी नेकपा एमालेका रञ्जित कुमालले ३ सय ८५ मत ल्याए । राप्रपाका शिवराज पोख्रेलले १० मत प्राप्त गरे । कांग्रेसबाट उठेका सन्दीप पाण्डेले उम्मेदवारी फिर्ता लिएका थिए । उनको चिन्हमा ३ मत मात्रै परेको छ । स्वतन्त्रका शंकरराज पोख्रेलको नाममा एउटा पनि मत परेन ।

वडाअध्यमा उठेका ७ जना दलित समुदायका उम्मेदवार भने वडाअध्यक्ष पराजित भएका छन् । बेंसीसहर नगरपालिका ३ मा एमाले उम्मेदवार श्रीनाथ सार्की, मध्यनेपाल नगरपालिका ४ मा एमाले उम्मेदवार सिंद्धबहादुर नेपाली, बेंसीसहर नगरपालिका १ मा जसपा उम्मेदवार सेसे कार्की, मध्यनेपाल ४ मा एकीकृत समाजवादी उम्मेदवार सन्तुमाया खत्री (विक), क्व्होलासोंथर गाउँपालिका १ मा मंगोल नेश्नल अर्गनाइजेसनका उम्मेदवार अनिताकुमारी विक, सुन्दरबजार नगरपालिका २ मा मंगोलकै रामजी दर्जी र मध्यनेपाल नगरपालिका ४ मा स्वतन्त्र उम्मेदवार राजेश बिक वडाअध्यक्षमा पराजित भएका हुन् । सुन्दरबजार नगरपालिकामा उपप्रमुखका उम्मेदवार मंगोल नेश्नल अर्गनाइजेसनका बालकुमारी कार्मी पनि पराजित भएकी छन् ।

वडाको खुला सदस्यमा ५ जना निर्वाचित भएका छन् । दोर्दी गाउँपालिका ८ मा एमालेबाट पञ्चबहादुर बिक, वडा नं. ९ मा एमालेबाटै सुकदेव कामी, मध्यनेपाल नगरपालिका १० मा कांग्रेसबाट बुधमाया बिक, राइनास नगरपालिका ७ मा माओवादी केन्द्रबाट वीरबहादुर सार्की र सुन्दरबजार नगरपालिका ८ मा कांग्रेसबाट शेरसिंह कार्की वडा सदस्यमा निर्वाचित भएका छन् ।

राइनास नगरपालिका ५ बाट वडाध्यक्षमा निर्वाचित ५७ वर्षीय शंखबहादुर सार्की १५ वर्षसम्म खाडी मुलुकमा बसेर ९ वर्षअघि नेपाल फर्केका थिए । राइनास ५ को माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले दलित समुदायले शीर उठाउन सक्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । ‘धेरै ठूला सपना छैनन् । आफ्नो भूगोलमा सक्ने आयआर्जन, कृषि, पशुपालन साथै कृषिमा आधुनीकिकरणमा जोड दिन्छु’ उनले भने ।

उनले अति विपन्न विद्यार्थीलाई स्टेशनरी सामग्रीको व्यवस्था गर्ने, सरसफाई तथा फोहर व्यवस्थापन गरी सफा वडा बनाइने पनि बताएका थिए । घरेलु हिंसा, महिला हिंसाको न्यूनीकरण गरी यसविरुद्धको शून्य सहनशीलता अपनाइने, सबैको स्वास्थ्य बिमा गराउनेलगायत योजना रहेको उनले बताए ।

प्रकाशित : जेष्ठ ८, २०७९ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?