कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कांग्रेसले एकीकृत समाजवादीलाई ताप्लेजुङ जिल्ला समन्वयको उपप्रमुख नदिने

आनन्द गौतम

ताप्लेजुङ — पूर्वसहमति विपरीत नेपाली कांग्रेसले ताप्लेजुङ जिल्ला समन्वय समितिको उपप्रमुख नेकपा (एकीकृत समाजवादी) लाई नदिने भएको छ । स्थानीय तह निर्वाचन पहिले सरकारमा रहेका दलहरूबीच ताप्लेजुङमा जिल्ला समन्वय समिति संयोजक माओवादी केन्द्र र उपप्रमुख एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । 

कांग्रेसले एकीकृत समाजवादीलाई ताप्लेजुङ जिल्ला समन्वयको उपप्रमुख नदिने

एकीकृत समाजवादीले गठबन्धनमा निर्वाचनका क्रममा सहमति पालना नगरेको निष्कर्ष निकालिएको र सोहीअनुसार जिल्ला समन्वय समितिको उपप्रमुख नदिने भइएको कांग्रेसका एक जिल्ला पदाधिकारीले जानकारी दिए । कांग्रेस ताप्लेजुङका एक पदाधिकारीले भने, 'जिसस प्रमुख माओवादी केन्द्रकै हुन्छ । तर उहाँहरूलाई पार्टीको कार्यकर्ता मात्रै होइन कम्तीमा ठिकै मान्छे ल्याए भन्ने सम्मको हुनुपर्‍यो । उपप्रमुख कांग्रेसकै बनाउने गरी छलफल सुरु गरेका छौं ।’

पद बाँडफाँटपछिको सार्वजनिकीकरण कार्यक्रममा जिल्ला समन्वयको प्रमुख माओवादी र उपप्रमुख एकीकृत समाजवादीले पाउने सहमति बनेको घोषणा गरिएको थियो । समन्वय समितिमा बहुमत सदस्य भने कांग्रेसले लिने सहमति सार्वजनिक गरिएको थियो । उक्त पत्रकार सम्मेलनमा एकीकृत समाजवादीको भने उपस्थिति थिएन ।

विशेषगरी फुङलिङ नगरपालिका ४ को वडाध्यक्षमा एकीकृत समाजवादीले आफ्नै उम्मेद्वार उठाएर कांग्रेस उम्मेद्वार टिका गुरुङ पराजित भएपछि कांग्रेस असन्तुष्ट बनेको कांग्रेसका नेताहरूको आरोप छ । समन्वय समितिमा आउन वैशाख ३० को निर्वाचनमा निर्वाचित भएको हुनुपर्ने वा दलित वा अल्पसंख्यकबाट नगरपालिका वा गाउँपालिकाको कार्यपालिका सदस्य रहेको हुनुपर्ने प्रावधान छ । जिसस प्रमुखका लागि पार्टीले तयार गरेका सागर गौतम वडा सदस्यमै पराजित भएपछि माओवादी अर्को व्यत्तिको खोजीमा छ । माओवादीमा वाईसिएल, नेपालका केन्द्रीय सदस्य मिङमाडण्डु शेर्पाको चर्चा सुरु भएको छ । गठबन्धन दलका नेताले पार्टी कार्यकर्ता मात्रै नभएर जनताले गुनासो गर्न नमिल्ने सुहाउँदो व्यक्ति पठाउन दबाब बढाएपछि उनको नाम चर्चामा आएको हो । उनलाई अल्पसंख्यकबाट फक्ताङलुङ गाउँपालिकाको कार्यपालिका सदस्य बनाउने र उम्मेदवार बनाउने चर्चा सुरु भएको हो ।

नगरपालिका प्रमुख, उपप्रमुख एवं गाउँपालिका अध्यक्ष, उपाध्यक्षले जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यहरूको चयन गर्छन् । ९ वटा स्थानीय तह रहेको जिल्लामा कांग्रेसका ४ प्रमुख र २ उपप्रमुखसहित ६, एमालेको ३ प्रमुख र ३ उपप्रमुख सहित ६, माओवादी केन्द्रको २ प्रमुख र ३ उपप्रमुख सहित ५ र एकीकृत समाजवादीको १ उपप्रमुख रहेका छन् । कांग्रेस र माओवादी मिले एकीकृत समाजवादी बिना पनि समन्वय समिति बन्ने अंक छ ।

प्रकाशित : जेष्ठ ८, २०७९ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?