१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पाल्पाको रम्भा गाउँपालिकाको मतगणना कडा सुरक्षा घेराभित्र 

गणना भएको सूचना पाउनै कठिन 
माधव अर्याल

पाल्पा — अन्यत्र पालिकामा मतगणना भएको स्थलबाहिर सैयौं कुन उम्मेदवारले के कति मत पाएका छन् भन्ने जिज्ञासुहरू हुन्छन् । कुन पार्टीका कसले धेरै मत ल्याउँछ त्यही पार्टीका लागि हुटिङ गर्नेको भीड देखिन्छ । वडाले जित्दा नारा जुलुस पनि हुन्छ । तर,पाल्पाको रम्भा गाउँपालिकाको मतगणनामा भने त्यस्तो केही देखिँदैन । 

पाल्पाको रम्भा गाउँपालिकाको मतगणना कडा सुरक्षा घेराभित्र 

मतगणना भएको स्थल रम्भा गाउँपालिकासँगै रहेको विद्यालय क्षेत्रदेखि झण्डै एक किलोमिटर टाढा देखि नै सुनसान छ । सुनसान र चकमन्न विद्यालयमा तानसेनबाट गएको १० कर्मचारी गणनामा खटिएका छन् । सूचना प्रविधि विज्ञ पनि सदरमुकामबाटै पुगेका छन् । बिजुली बत्ती नभएपछि यहाँ फोन सम्पर्क पनि हुँदैन । फोन नलाग्दा भित्रको सूचना पनि सजिलोसँग बाहिर आउन सकेको छैन । माइकमा बोलेको पनि एक किलोमिटर टाढा राम्रोसँग सुनिने कुरै भएन । भूगोलका हिसाबले वरपरका डाँडाले गर्दा मोबाइल सम्पर्क पनि कमैमात्र भएको छ ।

‘हामी पनि टाढै बसेर सूचना लिएका छौं, त्यो पनि भरपर्दो छैन,’ कांग्रेसबाट उपाध्यक्षका उम्मेदवार विष्णुकुमार थापाले भने, ‘तपाईंलाई पनि सूचना दिन सक्ने अवस्थामा छैनौं ।’ खोक खोला गाउँ वरपर सुरक्षाकर्मीले माथिल्लो भागमा कोही कसैलाई जान दिएको छैन । पत्रकारलाई समेत ५ सय मिटर टाढैबाट सशस्त्रले फर्काएको छ । सञ्चारकर्मीलाई सूचना लिनसमेत धौधौ परेको छ । गेटमा पुगेर फोन गर्दा निर्वाचन अधिकृत भण्डारीले उठाउदैनन् । सुरक्षाकर्मीले भित्र जान निषेध छ भनेर फर्काउने गरेको छ ।

प्रहरी र सेनाले छाडे पनि सशस्त्रले भित्र जान नसक्ने जनाएपछि कोही पनि त्यहाँबाट भित्र जान पाएको छैन । सशस्त्र, नेपाली सेना, नेपाल प्रहरी, म्यादी प्रहरीको मात्र उपस्थिति देखिएको छ । स्थानीय बासिन्दा पनि नजिक पुग्न सक्दैनन् । माथिल्लो र तल्लो गाउँकालाई खेतबारीमा जान पनि समस्या छ ।

सोझै बाटो हिँड्न पाएका छैनन् । घुमेर हिँड्नु परेको छ । ‘हामीलाई खेतबारीमा जान पनि सकस भएको छ,’ बाटो हिँड्दै गरेकी ४५ वर्षीया टिकिसरा थापाले भनिन्, ‘अस्ति भएको लडाइँले गर्दा त यस्तो भएको होला नि ?’ उनका अनुसार धेरै ठूलो हुलहुज्जत भएको थियो । सोही कारण अहिले मतगणना हुँदा रोकेको होला ।

वैशाख ३१ गते मतगणनामा विवाद भएपछि स्थगित भएको थियो । पुन: मतदानको माग गर्दै चार दल (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र मंगोल अर्गनाइजेशन नेपाल) ले विज्ञप्ति जारी गरेपछि एकत्रित भीड र सुरक्षाकर्मीबीच जेठ १ गते आइतबार झडप भएको थियो । निर्वाचन अधिकृतको कार्यालय नजिकै प्रहरी र पुन: मतदानको माग गर्दै आन्दोलनमा उत्रेका युवाबीच भएको झडपमा कम्तीमा १० जना घाइते भएका थिए । त्यसपछि बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । झडपमा आन्दोलनकारीतर्फ सात र प्रहरीतर्फ प्रहरी निरीक्षकसहित तीन जना घाइते भएका थिए ।

प्रहरी उपरीक्षक जनकबहादुर शाहीले भीड बढ्दै गएपछि नियन्त्रणका लागि ८ सेल अश्रुग्यास प्रहार गर्नु परेको बताएका थिए । उनले भीडलाई तितरवितर गर्न लाठी चार्ज गर्नुपर्ने अवस्था आएको स्वीकारे । भीडमा रहेका रम्भा गाउँपालिका–१, हुँगीका बासुदेव गाहा लगायत सात युवा घाइते भएका थिए । रम्भा गाउँपालिका–५, ताहुँको मतगणनामा ७४ मत जोडमा बढी देखिएको थियो । चार दलले मतगणना बहिष्कार गरेपछि आन्दोलित थिए । गठबन्धन समर्थकको भीड अत्यधिक भएपछि सुरक्षाकर्मीसँग झडप भएको हो ।

स्थगित भएको मतगणना गर्न ४ गते निर्वाचन आयोगले निर्देशन दिएको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकारीले जिल्लास्तरमा सर्वदलीय वैठक राखेर मतगणना अघि बढाउन सहमति गरेका थिए । सोही अनुसार ६ गते शुक्रबार बिहान ७ बजेदेखि मतगणना गर्ने भनिएको थियो । तर विभिन्न कारणले गर्दा अपराह्न ४ बजेपछि मात्र मतगणना सुरु भएको थियो । ‘बढी मत खसेको होइन रहेछ,’ लामो समयको प्रतिक्षापछि फोन उठाएका निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले भने, ‘१९२२ भनेकामा २३ भएको छ । तर त्यो मतको हिसाब मुचुल्का अनुसार मिलेको छ ।’

रम्भामा भएको घटनापछि राजनीतिक दल, उम्मेदवार पनि भित्र गएका छैनन् । दलहरुको प्रतिनिधि पनि कडा सुरक्षाकाबीच गएका छन् । प्रतिनिधिको भीडभाड पनि छैन । ‘जतिजना जानुपर्ने हो त्यो बाहेक भित्र कोही छैन,’ एमाले गाउँपालिका सचिव विजय रानाभाटले भने, ‘हामी पनि कार्ड (पास) नभएकाहरु सबै टाढै बसेका छौं । अर्को कुरा फोन नै नलागेर पनि समस्या भएको छ ।’ निर्वाचन अधिकृतको कार्यालयका अनुसार रम्भा–५, ताँहुको मतगणना शनिबार बिहान ६ बजे सकिएको थियो । त्यसपछि रम्भा–१, हुँगी र रम्भा–४, हुमीनको मतगणना जारी छ ।

दुई वडाको मतगणना सकिनासाथ रम्भा–२, फोक्सिङकोट र रम्भा–३, पिपलडाँडाको मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शनिबार राति साढे ९ बजेसम्म हुँगीको १३६२ मत गनिएको छ । यस्तै, हुमीनको १ हजार २ सय मत गनिएको छ । राती साढे ९ बजेसम्मका प्राप्त जानकारी अनुसार अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारहरु अगाडि छन् । एमाले अध्यक्ष विष्णुप्रसाद भण्डारीले २ हजार २ सय १० र उपाध्यक्ष राधाकुमारी श्रेष्ठले २ हजार ३ सय ७६ मतका साथ अगाडि छन् । गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीका दुर्गा प्रसाद अधिकारीले १ हजार ८ सय १ र उपाध्यक्षमा विष्णुकुमार श्रेष्ठले १ हजार ८ सय १४ मतसहित पछ्याइरहेका छन् ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?