कांग्रेसमा जताततै अन्तरघात

कलेन्द्र सेजुवाल

काठमाडौँ — गत स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो दल बन्दा त्यसको जस लिने एक प्रमुख नेता हुन्, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का । यस पटक उनकै नेतृत्वमा कांग्रेसको चुनावी रणनीति निर्माण तथा केन्द्रीय परिचालनको काम भएको थियो । तर खड्काकै गृहजिल्ला सुर्खेतमा पार्टीभित्र अन्तरघात हुँदा कांग्रेसले महत्त्वपूर्ण स्थानीय तह गुमाएको छ ।

कांग्रेसमा जताततै अन्तरघात

कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका र खड्काको निर्वाचन क्षेत्रमा पर्ने भेरीगंगा नगरपालिकामा कांग्रेसले माओवादी केन्द्रलाई उपप्रमुख दिएर गठबन्धन गरेको थियो । ०७४ को निर्वाचनमा जितेका दुवै नगरपालिकामा कांग्रेस एमालेसँग पराजित भयो । ‘चुनावमा खुलेआम अन्तरघातमात्र होइन, गम्भीर राजनीतिक अपराध भएको छ,’ कांग्रेसका वीरेन्द्रनगर कार्यसमिति सचिव रमेश सापकोटाले भने, ‘अन्तरघातकै कारण सजिलै जितेको चुनाव पनि हार्नुपरेको छ ।’ वडास्तरबाट अन्तरघात गरेको पुष्टि हुने भिडियो, अडियोहरू संकलन भइरहेका र छानबिन गरी कारबाहीका लागि सिफारिस गरिने उनले बताए ।

सुर्खेतमा पूर्वकेन्द्रीय सदस्य हृदयराम थानी समूहमाथि अन्तरघातको आरोप लागेको छ । उम्मेदवारीमा ४० प्रतिशत हिस्सा मागेको उक्त समूहले माग सम्बोधन नभएपछि आफ्नोतर्फबाट उम्मेदवारी दिएको थिएन । मनोनयन दर्ताको दिन वैशाख १२ मा महामन्त्री गगन थापाले फोन गरेर वीरेन्द्रनगरको नगर प्रमुखमा थानी समूहका युवा नेता नारायण कोइरालालाई उम्मेदवारी दर्ता गर्न भनेका थिए । तर कोइरालाले थापाको अनुरोध अस्वीकार गरेका थिए । नगर सचिव सापकोटाले असन्तुष्ट पक्षले उम्मेदवारी बहिष्कार गर्दै राप्रपा र एमालेलाई मतदान गरेको आरोप लगाए । ०७४ को निर्वाचनमा वीरेन्द्रनगर नगरप्रमुखमा ५ सय ५७ मत ल्याएको राप्रपाले यस पटक १० हजार मत कटाएको छ । ‘राप्रपाको जनमत बढेको वा उम्मेदवार लोकप्रिय भएको कारणमात्र यति मत आएको होइन,’ सापकोटाले भने, ‘अधिकांश मत आफ्नै पार्टीको उम्मेदवारलाई हराउन कांग्रेसीले दिएका हुन् ।’

थानी समूहका नेता पूर्वजिल्ला सभापति कमलराज रेग्मीले आफूहरूले पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन इमानदारीपूर्वक मिहिनेत गरे पनि हारेपछि गलत आरोप लागेको बताए । पार्टीको चौधौं महाधिवेशनमा देखिएको क्रियाशील सदस्यताको विवादले पनि असर पारेको उनको भनाइ छ । ‘अन्तरघातको आरोपमा केही क्रियाशील सदस्यलाई कारबाही गर्ने भन्ने कुरा मैले पनि सुनेको छु,’ उनले कान्तिपुरसँग भने, ‘पार्टीका लागि राम्रो गर्दागर्दै कारबाही भयो भने त्यतिबेलै बोलौंला ।’ वीरेन्द्रनगर–१० कांग्रेस कार्यसमितिले अन्तरघात गरेको भन्दै रेग्मीलगायत ६ जनालाई कारबाही गर्न केन्द्रीय समितिलाई सिफारिस गरको छ । रेग्मीलगायतलाई फोन गरी कांग्रेस उम्मेदवारलाई मत नदिन भनेको अडियो भेटिएपछि कारबाही सिफारिस गरिएको वडासभापति रवीन्द्रजंग शाहीले बताए ।

कांग्रेसमा अन्तरघातको रोग नौलो होइन । हरेक चुनावमा पराजयपछि हार्ने उम्मेदवारले पार्टीभित्रकै इतर समूहमाथि अन्तरघातको आरोप लगाउने गरेका छन् । यस पटक पनि सुर्खेतमा झैं अन्यत्र अन्तरघातको आरोप–प्रत्यारोप सतहमा आउन थालेको छ । धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल कांग्रेसका तर्फबाट नगर प्रमुखको उम्मेदवार रहेका नृप वडभन्दा दोब्बर मतले अगाडि छन् । पार्टीका केन्द्रीय सदस्य र निवर्तमान नगर प्रमुखसमेत रहेका वडलाई सिधै केन्द्रबाट टिकट दिइएको भन्दै सभापति शेरबहादुर देउवा समूहकै नेताहरू असन्तुष्ट थिए । पार्टीका कैलाली जिल्ला सभापति नारायणदत्त भट्टले क्रियाशील सदस्यमात्र साढे ७ हजार रहेको धनगढीमा सोचेअनुसार मत नआउँदा स्वाभाविक रूपमा अन्तरघातको आशंका उब्जिएको बताए । ‘अन्तरघात भएको स्पष्टै देखिएको छ, यसले पार्टीलाई दीर्घकालीन रूपमा नोक्सानी गर्छ,’ उनले भने, ‘हामीले जिल्ला र केन्द्रका नेताहरूसँग छलफल गरेर समीक्षा गरी आवश्यक कदम चाल्नेछौं ।’

काठमाडौंको टोखा नगरपालिकामा पनि कांग्रेसभित्र अन्तरघातको चर्चा चलेको छ । उपप्रमुखमा कांग्रेसका मुरारी तामाङ निर्वाचित हुँदा प्रमुखमा रजनी थापा एमालेका प्रकाश अधिकारीसँग १ सय ७४ मतको अन्तरले पराजित भएकी छन् । ‘टोखाका स्थानीय नेतामात्र होइनन्, केन्द्रमा पहुँच राख्ने ठूलै नेताको भूमिका पनि राम्रो देखिएन,’ टोखा नगरपालिकाका एक स्थानीय नेताले भने, ‘अन्तरघात भएको खुलमखुला देखिएको छ, बाहिर बोल्दा उल्टै कारबाहीमा परिएला भन्ने डर छ ।’

मतगणना जारी रहेको झापाको मेचीनगर नगरपालिकामा पनि अन्तरघातको शंका गर्न थालिएको छ । मेचीनगरको नगर प्रमुख उम्मेदवारमा पार्टीको जिल्ला र प्रदेश कार्यसमितिले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका केशव पाण्डेलाई अघि सारेका थिए । तर महामन्त्री विश्वप्रकाश शर्माको दबाबमा सभापति देउवाले इन्द्रबहादुर बुढाथोकीलाई उम्मेदवार तोकेर चिठी पठाएका थिए । माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरेको कांग्रेसका उम्मेदवार बुढाथोकी शुक्रबार रातिसम्म करिब २ हजार ५ सय मतले पछाडि छन् । ‘माओवादीसँग गठबन्धन भएकाले जितिन्छ कि भन्ने आस छँदै छ तर पार्टीभित्रै यति ठूलो अन्तरघात हुँदा आश्चर्य लागेको छ,’ मेचीनगरका एक नेताले भने ।

राजनीतिक विश्लेषकहरू पार्टीले उम्मेदवारी छनोटदेखि पार्टीभित्र थिग्रिएका समस्या समयमै समाधान नगर्दा निर्वाचनमा अन्तरघात हुने गरेको बताउँछन् । मध्यपश्चिम विश्वविद्यालयका राजनीतिशास्त्रका उपप्राध्यापक दुर्गाप्रसाद सापकोटाले पार्टीभित्र मौलाएको गुटगत राजनीतिको असर र असन्तुष्टिहरू चुनावमा प्रकट भएको बताए । ‘पार्टीको नेतृत्वमा रहेका नेताहरूले विविध विचारलाई बेलैमा व्यवस्थापन गरेर एकताबद्ध गर्नुपर्थ्यो, तर त्यसमा नेतृत्व चुक्दा निर्वाचनमा नोक्सानी हुने गरेको छ,’ उनले भने ।

स्थानीय तह निर्वाचनमा कांग्रेसमा आधिकारिक उम्मेदवारलाई हराउन अन्तरघातमात्र होइन, बागी उम्मेदवारसमेत उठेका छन् । राजनीतिक दलले मतदाताको चाहना, स्थानीय वस्तुस्थितिको सही आकलन र उम्मेदवारको लोकप्रियता सही रूपमा मापन गर्न नसक्दा स्वतन्त्र उम्मेदवार बनेका उनीहरूको भनाइ छ । जुम्लाको चन्दननाथ नगरपालिकामा बागी उठेका राजुसिंह कठायतले आधिकारिक उम्मेदवार पदमबहादुर शाहीलाई पराजित गर्दै नगरप्रमुखमा विजयी भएका छन् । टिकट पाएर पनि खोसिएपछि बागी उम्मेदवार बनेका बर्दिबासका प्रह्लादकुमार क्षत्रीले पनि नगर प्रमुखमा जित हात पारे । उनले खडा गरेको स्वतन्त्र समूहबाट उपप्रमुखमा तारादेवी महतोसहित ४ जना वडाध्यक्ष निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?