कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

एसको पहिलो ठूलो जित हेटौंडा

एकीकृत समाजवादीबाट मीनाकुमारी लामा प्रमुख र कांग्रेसबाट राजेश बानियाँ उपप्रमुख निर्वाचित
प्रताप विष्ट

हेटौंडा — तीन दशकदेखि एमालेको लालकिल्ला हेटौंडा उपमहानगरपालिकामा पार्टी विभाजनकै अर्को पार्टीले जित हासिल गरेको छ । सत्तारूढ गठबन्धनका कांग्रेस र माओवादी केन्द्रको सहयोगमा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामा प्रमुख र कांग्रेसका राजेश बानियाँ उपप्रमुख पदमा निर्वाचित भएका छन् ।

एसको पहिलो ठूलो जित हेटौंडा

लामा ०७४ को निर्वाचनमा एमालेबाट हेटौंडाको उपप्रमुखमा निर्वाचित भएकी थिइन् । त्यतिबेला उनले कांग्रेस र माओवादी गठबन्धनका उम्मेदवारलाई पराजित गरेकी थिइन् । पार्टी विभाजनपछि एकीकृत समाजवादीमा पुगेकी उनले सत्ता गठबन्धनको बलमा प्रमुख पद हात पारिन् । लामाले २३ हजार ७५ मत प्राप्त गरेकी छन् । उनको प्रतिद्वन्द्वी एमालेका अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत पाए । उपप्रमुखमा बानियाँले ३२ हजार ५ सय ९३ मत पाए । प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले भन्दा ८ हजार ६ सय ८४ बढी मत उनले पाएका हुन् ।

०४९ सालदेखि एमालेले हेटौंडामा जित हासिल गर्दै आएको थियो । साविकका चुरियामाई, पदमपोखरी, हटिया, हर्नामाडी र बसामाडी गाउँ विकास समितिलाई समेटेर ०७१ मंसिर १८ मा उपमहानगरपालिका घोषणा गरिएको थियो । यसअघिदेखि नै यहाँको अधिकांश क्षेत्रमा एमालेको बलियो प्रभाव थियो । १९ वडा रहेको यस उपमहानगरमा ०७४ को स्थानीय तह निर्वाचनमा एमालेले हेटौंडाको प्रमुख, उपप्रमुखसहित १२ वडामा जित हात पारेको थियो । तर यसपाला ९ वटा वडामा सीमित हुन पुग्यो । अघिल्लो निर्वाचनमा ५ वटा वडा जितेको कांग्रेसले यस पटक उपप्रमुखसहित ८ वडामा जित हासिल गरेको छ । एस र माओवादी केन्द्रले एक/एक वडा जितेका छन् ।

निर्वाचनअघि सत्तारूढ दलको गठबन्धनमध्ये धेरै मतदाता भएको कांग्रेसभित्र चर्को विवाद र एकीकृत समाजवादीको कमजोर संगठनका कारण एमालेका नेताहरू जित हासिल पार्नेमा ढुक्क देखिन्थे । राप्रपाबाट पनि दीपकबहादुर सिंहले प्रमुखको उम्मेदवारी दिएपछि एमाले अझै हौसिएको थियो । एमालेवृत्तको बुझाइ थियो, राप्रपा उम्मेदवारलाई कांग्रेसभित्रका असन्तुष्टहरूले मत हाल्नेछन् र गठबन्धन उम्मेदवारको मत घट्नेछ । तर नतिजा उनीहरूले सोचेभन्दा फरक आइदियो ।

सत्ता गठबन्धनबाट उम्मेदवार दिएकी लामालाई कमजोर देखाउनका लागि एमालेले सार्वजनिक रूपमै हाम्रो प्रतिस्पर्धा लामासँग होइन, राप्रपा उम्मेदवार सिंहसँग हो भन्दै आएका थिए । एमालेको यस्तो भनाइबाट राप्रपा उम्मेदवार हौसिएका मात्रै थिएनन्, उनले असन्तुष्ट मत आफूतिर तान्न अनेकन गतिविधिहरू चालिरहेका थिए । विवादित पृष्ठभूमिका सिंहविरुद्ध एमालेको मौनताका कारण नयाँ मतदाता र तल्लो पिँधमा रहेका कार्यकर्ताहरूको मत राप्रपाले लिन सफल भयो । एमालेका १५ देखि १७ प्रतिशत मतदाताले ६ वटा सूर्य र मेयरमा हलो चिह्नमा मतदान गरेको देखिन्छ ।

मकवानपुरको एमाले नेतृत्वले कार्यकर्ताको भावना नबुझ्दा, व्यक्तिवादी एवं गुटगत चिन्तन र पुस्तान्तरणको अभावले जिल्लाभर पराजय भोग्नुपरेको वाम बुद्धिजीवी देवप्रसाद श्रेष्ठले टिप्पणी गरे । उनले भने, ‘पार्टीभित्र अलोकतान्त्रिक पद्धति अपनाउने कुनै पनि दलले लोकतन्त्रमा विजय हासिल गर्न सक्तैन ।’ नगरप्रमुखमा निर्वाचित लामा ०४६ सालदेखि विद्यार्थी जीवनबाट राजनीतिमा छिन् । समाजशास्त्रमा एमए र एलएलबी गरेकी उनले नगरभित्रका लोपोन्मुख र सीमान्तकृत समुदायको स्वास्थ्य बिमा गर्नेदेखि हेटौंडाको समग्र विकास गर्न अधिकारसम्पन्न हेटौंडा विकास प्राधिकरण गठन गर्ने योजना अघि सारेकी छन् ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?