कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

विजेताको मतभन्दा बदर मत बढी

विनोद भण्डारी

विराटनगर — विराटनगर महानगरपालिकाको नेतृत्व छान्न भएको चुनावमा प्रमुखमा २४ र उपप्रमुखमा ३८ प्रतिशत मत बदर भएको छ । उपप्रमुख पदमा भने विजयी उम्मेदवारले पाएकोभन्दा बढी मत बदर भएको छ । उपप्रमुखमा २५ हजार ६ सय ८० मत ल्याएर एमालेकी शिल्पा निराला कार्की विजयी भएकी छन् भने उक्त पदमा बदर मतको संख्या ३४ हजार १ सय ७६ छ ।

विजेताको मतभन्दा बदर मत बढी

जिल्ला निर्वाचन कार्यालयका अनुसार विराटनगरमा ८९ हजार ६ सय ७८ मत खसेको थियो । महानगर प्रमुखमा कांग्रेसका नागेश कोइराला ३० हजार १ सय ७० मत ल्याएर विजयी भएका छन् । उक्त पदमा २१ हजार ३ सय ५८ मत बदर भएको छ । सबैभन्दा बढी वडा ६ मा प्रमुखमा १ हजार ९ सय ६५ र उपप्रमुखमा ३ हजार ८ सय ७ मत बदर भएको छ । २०७४ को निर्वाचनमा २४ दशमलव ६ प्रतिशत मत बदर भएको थियो ।

विराटनगरमा यस पटक सत्ता गठबन्धनबाट प्रमुखमा कांग्रेसका कोइराला र उपप्रमुखमा जसपाका अमरेन्द्र यादव उम्मेदवार थिए । यादवले १४ हजार २ सय १९ मत पाए । माओवादी केन्द्रबाट प्रमुख र उपप्रमुखमा उम्मेदवार थिएनन् । निर्वाचन कार्यालयका अनुसार उपप्रमुखमा उम्मेदवार नै नभएका कांग्रेस र माओवादी केन्द्रको चुनाव चिह्नमा मत पर्दा अत्यधिक मत भएको हो । जसपाले उम्मेदवारी नदिएको पदमा पनि मत परेको छ । ‘बदर मतमध्ये उम्मेदवार नै नभएको चिह्नमा मत हाल्दा ९० प्रतिशत र थप १० प्रतिशत अन्य प्रकारका बदर मत छन्,’ मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकृत हेमबहादुर बुढाथोकीले भने ।

दलहरूले प्रमुख र उपप्रमुखमा गठबन्धन गरेका थिए । वडा तहमा भने गठबन्धन थिएन । दलहरूले चुनाव प्रचारप्रसारमा मतदातालाई गठबन्धन भएको र नभएको पदबारे बुझाउन नसक्दा बदर बढी भएको दलका नेताहरूको भनाइ छ । तर गठबन्धनको एक घटक जसपा मोरङका अध्यक्ष राजकुमार यादवले उमेदवार नै नभएको चुनाव चिह्नमा कांग्रेसले भोट हालेको आरोप लगाए । उनले भने, ‘कांग्रेसले विराटनगरमा गठबन्धनका नाममा गद्दार गर्‍यो । योभन्दा ठूलो अपराध हुने ठाउँ नै छैन ।’ विराटनगरमा जसपाका जनपरिषद् सदस्य उमेश यादवले प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । गठबन्धनको अर्को घटक माओवादी केन्द्र विराटनगरका सहइन्चार्ज भोगेन्द्र यादवले निर्वाचन आयोगको कमजोरी र मतपत्रका कारण बढी मत बदर भएको बताए । ‘उम्मेदवारले आ–आफ्नो दलका चुनाव चिह्नमा प्यानल नै मत माग्दा पनि बदर बढी भयो,’ उनले भने । माओवादी केन्द्रकी नगर सचिव नमिता न्यौपानेले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?