१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

अर्जुन सुवेदी

सुनसरी — इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एमालेकी संगीता कुमारी चौधरी निर्वाचित भएका छन् । 

इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पौडेलले निकटम प्रतिस्पर्धी नेकपा एमालेका याम कुमार सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गरेका हुन् । जम्मा ७३ हजार ८ सय ३२ मत खसेको इटहरीमा पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी हुँदा सुब्बाले २८ हजार ३१ मत मात्र ल्याउन सके ।

उपमेयरमा सत्ता गठबन्धन बाहिरको एमालेकी उम्मेदवार चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याएर विजयी भइन् । उनले नेकपा एकीकृत समाजवादीका केशव कुमार विष्टलाई १४ हजार ४ सय ५ मतको फराकिलो अन्तरले पराजित गरिन् । विष्टले १८ हजार ३१ मत मात्र ल्याउन सके ।

२० वडा रहेको इटहरीमा मेयर पद हात पारे पनि नेपाली कांग्रेसले बहुमत वडाहरु गुमाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा १२ वटा वडा जितेको कांग्रेस यसपटक ५ वटामा खुम्चिएको छ । एमालेले १४ वटा वडा जितेको छ । एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

बहुदलीय व्यवस्था सुरु भएपछि हालसम्म इटहरीमा कांग्रेसले जित निकाल्न सकेको थिएन । २०४९ सालमा गाउँ विकास समिति हुँदा र २०५३ सालमा इटहरी नगरपालिका भएपछि २०५४ सालमा भएको निर्वाचन एमालले नै जित निकाल्दै आएको थियो । यस्तै २०७१ सालमा उपमहानगरपालिका घोषणा भएपछि २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि एमाले नेतृत्वले विजय हासिल गरेको थियो ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?