तीव्र प्रतिस्पर्धा दल र गुटभित्र

पोखरा, रूपन्देही, धनगढी, जनकपुरधाम र काठमाडौं — अघिल्लो निर्वाचनमा ६ महानगरमध्ये दुई र ११ उपमहानगरमध्ये आठवटा जितेको एमालेले यसपालि दुईवटा उपमहानगर मात्रै जित हासिल गरेको छ, सबै महानगरमा पछाडि छ । हेटौंडा, बुटवल, जितपुर सिमरा एमालेले गुमाएको छ भने काठमाडौं, पोखरा, धरान र इटहरीमा पछाडि छ ।

तीव्र प्रतिस्पर्धा दल र गुटभित्र

कांग्रेसले पनि धनगढी उपमहानगर गुमाउने निश्चित भएको छ । जनकपुरमा गठबन्धनका उम्मेदवार चौथो स्थानमा छन्, कांग्रेसका बागी जितनजिक छन् । अघिल्लो निर्वाचनमा मधेसका २१ पालिका जितेको माओवादीले यसपटक ९ पालिका मात्रै हात पारेको छ, एकमा मात्र अग्रता लिएको छ । मुख्य दलका यी हारमा अन्तरपार्टी प्रतिस्पर्धा मात्र होइन, अन्तरसंघर्ष पनि निर्णायक देखिएको छ ।

काठमाडौं, पोखरा, वीरगन्ज र बुटवलमा उम्मेदवार छनोट गर्दा नै एमालेभित्र असन्तुष्टि बढी देखिएको थियो । काठमाडौंमा अध्यक्ष केपी शर्मा ओलीको विशेष रुचिमा केशव स्थापितलाई मेयरका उम्मेदवार बनाइएको, पोखरामा दीपक पौडेलको अन्तिम समयमा टिकट खोसेर कृष्ण थापालाई अघि सारिएको र वीरगन्जमा नवप्रवेशी विजय सराबगीलाई टिकट दिइएकाले आन्तरिक विवाद बढेको थियो । त्यस्तै बुटवलमा तत्कालीन नेकपाका महासचिव विष्णु पौडेल र एमाले महासचिव शंकर पोखरेल आमनेसामने हुँदा हारेको कार्यकर्ताको भनाइ छ ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र अन्तरघात भएको संकेत गर्दै भने, ‘मत परिणाम आउने क्रम जारी नै छ, अहिलेसम्मको अवस्था हेर्दा कतिपय ठाउँमा वडा–वडामा जित्ने तर टाउको–टाउको नआउने जस्तो भएको छ । के भएको हो, सबै पाटोबाट विश्लेषण गर्छौं ।’

पोखरा महानगरमा एमालेका मेयर प्रत्याशी कृष्णबहादुर थापा हरेकजसो चुनावी सभामा भन्ने गर्थे, ‘२५ हजार मतान्तरले जित्छौं ।’ तर सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादीका प्रत्याशी धनराज आचार्य शनिबार साँझसम्म झन्डै ४ हजार मतले अगाडि छन् । ०७४ मा झन्डै १४ हजार मतान्तरले मेयर, १२ हजार मतान्तरले उपमेयर र ३३ मध्ये २२ वडाध्यक्ष जितेको एमाले यसपल्ट किन कमजोर भयो ? जवाफ पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीसँग माग्नुपर्ने कार्यकर्ताको भनाइ छ ।

एमालेको महानगर कमिटी बैठकमा १२ जनाले मेयरमा आकांक्षा प्रस्तुत गरेका थिए । आन्तरिक चुनावबाट ३ जनाको नाम सिफारिस गर्ने प्रयास सफल नभएपछि १२ जनाकै नाम केन्द्रीय समितिमा पुग्यो । अध्यक्ष ओलीकै नेतृत्वमा बसेको सचिवालय बैठकले मनोनयनको अघिल्लो दिन अबेर गरी मेयरमा प्रदेश कमिटी सदस्य दीपक पौडेललाई टिकट दिने निर्णय गर्‍यो भने उपमेयरमा मञ्जुदेवी गुरुङलाई दोहोर्‍यायो ।

एमाले उपमहासचिव गुरुङले मेयरको प्रतिस्पर्धामा प्रदेश सांसद कृष्णबहादुर थापा र राजीव पहारीको ‘च्याप्टर क्लोज’ भएको अभिव्यक्ति दिएका थिए । गुरुङको अभिव्यक्तिपछि थापाले आफूलाई रोक्नमात्रै प्रदेश सांसदलाई टिकट नदिने मापदण्ड बनाइएको आरोप लगाए ।

त्यतिबेलै पौडेलले पोखराको एक पसलबाट सुन चोर्दै गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भयो । झन्डै आठ वर्षअघि छोरीको बिहेका लागि सुन किन्ने क्रममा औंठी लुकाएको आरोप पौडेलमाथि थियो । सीसीटीभी फुटेज जाँच गर्ने क्रममा पौडेलले सुन लुकाएको देखिएपछि उनले भूलवश आफ्नो खल्तीमा परेको भन्दै उक्त सुनबराबरको पैसा बुझाएका थिए । त्यतिबेलै उक्त भिडियो सार्वजनिक भए पनि अहिलेजस्तो भाइरल भएको थिएन । टिकटकै कारण यो भिडियो भाइरल बनाइएको भन्दै पौडेलले उक्त भिडियोमा आफू नभएको दाबी गर्दै आएका छन् । भिडियो सर्वत्र फैलिएपछि एमालेले पुनर्विचार गर्‍यो । मनोनयन दर्ता गर्ने दिन गुरुङ समूहका पौडेलको टिकट खोसियो र अधिकारी समूहका थापा उम्मेदवार बने । तर पार्टीभित्र प्रतिस्पर्धा झन् चर्कियो ।

उता गठबन्धनबाट धनराज र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाट चुनावका लागि तम्तयार भए । पोखराको मेयर आफ्नो भागमा पार्न कास्की कांग्रेसले अन्तिमसम्म गरेको प्रयास, पोखराका कांग्रेस कार्यकर्ताको असन्तुष्टि, अमिल्दो गठबन्धन र एकीकृत समाजवादीको कमजोर संगठन देखेरै हुनुपर्छ, एमालेको आकलन २० देखि २५ हजारको मतान्तरले चुनाव जित्ने थियो तर मतगणनाको मध्यतिर पुग्दा एमाले पंक्ति चुनाव हारिने निष्कर्षमा पुगेको छ ।

‘पोखरामा अरू सबै पार्टी एकातिर भए पनि एमाले नै बलियो हो, उम्मेदवारबारे पहिला सचिवालयले औपचारिक रूपमा एउटा निर्णय गरेको थियो तर पछि परिवर्तन भयो, त्यसले अन्तरविरोध बढायो, त्यो अहिले छताछुल्ल भएको छ,’ एमालेका एक केन्द्रीय नेता भन्छन्, ‘पहिला एउटा भिडियो सार्वजनिक भयो । मतदानपछि आफ्नै उम्मेदवार हराउन लागेको अडियो नै सार्वजनिक भएको छ । गठबन्धनबाट निकै कमजोर उम्मेदवार थिए तर अन्तर्घात भएको मत परिणामले देखाएको छ ।’

आफ्ना पक्षका पौडेलको टिकट फिर्ता भएपछि एकीकृत समाजवादीका आचार्यलाई जिताउन उपमहासचिव सुब्बाले भूमिका खेलेको आरोप पार्टीभित्रै छ । थापालाई हराउन एमाले कार्यकर्ताले गरेको फोन संवादका दुई अडियो पनि मतगणना सुरु भएपछि सार्वजनिक भएको छ । ६ मिनेटको क्लिपमा पोखरा–३३ भरतपोखरीका एमाले कार्यकर्ता प्रशान्त आचार्यले आफूसँग युवा क्लबको डेढ–दुई सय भोट रहेकाले धनराजसँग ‘बार्गेनिङ’ गरिदिन राजीव पहारीनिकटका एमाले कार्यकर्ता मनोज पहारीसँग आग्रह गरेका छन् । पहारीले सहमति जनाउँदै जुनसुकै हालतमा थापालाई हराउने अभियानमा आफू रहेको बताएका छन् । वडा २१ र २४ मा आफूले थापाको भोट काट्ने र पौडेलको वडा १९ बाट कुनै हालतमा मेयरमा भोट नआउने दाबी गरेका छन् । उनले थापा हार्ने आधारहरू पनि प्रस्तुत गरेका छन् । अडियोमा मनोजले कृष्ण थापाविरुद्ध लाग्दा आफूलाई पृथ्वीसुब्बा, पद्मा अर्याल, एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ र इन्चार्ज भीम कार्कीले कारबाही नगर्ने स्पष्ट पारेका छन् ।

१९ मिनेट लामो अर्को क्लिपमा भने एमालेनिकट युवा संघका केन्द्रीय सदस्य महेश अर्याल र ३३ नम्बर वडाका कांग्रेस नेता दीपक मल्लबीचको संवाद सुन्न पाइन्छ । अर्यालले वडामा एमालेको सट्टा कांग्रेसका उम्मेदवारलाई सघाउने बचन मल्ललाई दिएका छन् । उनले थापालाई हराउन पृथ्वीसुब्बा पक्षधरले योजना बनाइरहेको चर्चा पनि गर्छन् । अडियोमा अर्यालले थापालाई हराउने कि जिताउने भन्ने विषयमा पृथ्वीसुब्बा पक्षधर नेताको बैठक बसिरहेको सुनाएका छन् । एमालेको एउटा पंक्ति थापालाई हराउन हिँडेको, त्यही क्रममा पृथ्वीसुब्बा गुरुङ र राजीव पहारीको टोली काठमाडौं पुगेको उनले बताएका छन् ।

थापा ०५४ मा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । त्यसपछि उनी ०७० मा संविधानसभा चुनावमा टिकट पाए पनि निर्वाचित हुन सकेनन् । ०७४ मा प्रदेश निर्वाचन क्षेत्र २ (क) बाट चुनाव लडेर विजयी भए । कार्यकाल ६ महिना बाँकी छँदै राजीनामा दिएर फेरि पोखरा महानगरको मेयरमा भिडे । एकै व्यक्तिलाई पटक–पटक अवसर दिँदा बाँकी नेता–कार्यकर्तामा नैराश्य छाएको प्रदेश कमिटीका एक नेताले बताए । ‘भलै मनोज पहारी एमालेको मामुली कार्यकर्ता हो तर उसले अडियो क्लिपमा भनेका कतिपय कुरा सत्य छन्,’ उनले भने ।

एमाले महानगर कमिटी अध्यक्ष दिलीप न्यौपाने नेतृत्वमा व्यक्तिवादी, आत्मकेन्द्रित चिन्तन र ससाना कुरालाई गुट, उपगुटका रूपमा लिने प्रवृत्ति कास्कीमा बढ्दै गइरहेको स्विकार्छन् । ‘गठबन्धनको मत जुन हिसाबले बिग्रेला भन्ने थियो, त्यसरी बिग्रिएन । एमालेमा आउने मत अनपेक्षित ढंगले घट्यो, यो निकै गम्भीर छ,’ उनले भने, ‘एमालेभित्र जसरी संगठनात्मक अराजकताको विकास हुँदै गइरहेको छ, त्यसैको अभिव्यक्ति हो ।’

बुटवल उपमहानगरपालिकाको स्थानीय सरकारको नेतृत्वबाट नेकपा एमाले २५ वर्षपछि बाहिरिएको छ । उपमहानगर प्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका खेलराज पाण्डे ७ हजार ५ सय ३३ मतान्तरले विजयी भएका छन् । २०५४ मा झन्डै ४ हजार र ०७४ मा झन्डै २४ सय मतान्तरले कांग्रेसलाई पराजित गरेको एमाले अहिले त्यसको दोब्बरभन्दा बढी मतान्तरले पराजित भएको छ ।

एमालेको ‘किल्ला’ भनिएको बुटवलमा कांग्रेस विजयी बनेपछि बुटवलको निर्वाचन परिणामबारे दुईवटा विषय चर्चाको केन्द्रमा छन्– लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउन नसक्नु र रूपन्देहीका विष्णु पौडेल तथा दाङका शंकर पोखरेलको आन्तरिक प्रतिस्पर्धाको असर पर्नु । एमालेका एक नेताले टिकट वितरणमा उपाध्यक्षसमेत रहेका पौडेलभन्दा महासचिव पोखरेल हाबी भएपछि रूपन्देहीको जनमत भड्किएको बताए । ‘दुई नेताबीच चलेको लडाइँ पराजयको मुख्य कारण भएको सत्य नै हो,’ उनले भने, ‘विष्णु पौडेलले ल्याउन चाहेका उम्मेदवार अर्कै थिए, आए बाबुराम । त्यसैको परिणाम अहिले बुटवलले भोग्दै छ ।’ अर्काको क्षेत्रमा आएर ‘खेल्न खोज्नु’ महासचिवको गम्भीर गल्ती भएको र त्यसले बुटवलको राजनीति र शंकरको छविमा रूपन्देहीमा पछिसम्म राजनीतिक अर्थ राख्ने उनको दाबी छ । एमालेले पूर्वपश्चिम राजमार्गको धेरै क्षेत्र ओगटेको बुटवलदेखि सालझन्डीसम्मको सैनामैना नगरपालिका पनि गुमाएको छ । सैनामैना नगरपालिका उपप्रमुख जितेको एमालेले प्रमुख भने गुमाएको छ । बुटवल, सैनामैना, तिलोत्तमामा उम्मेदवार छनोटमा पोखरेल हाबी भएको एमाले वृत्तमै चर्चा छ ।

बुटवलका एमाले नेता देवराज पोखरेलले पनि बुटवलको अहिलेको परिणाम हेर्दा समग्रमा एमालेको मतसंख्या नघटेको र गठबन्धनकै कारण एमाले पराजय भोग्न बाध्य भएको बताए । ‘नेतृत्वले उम्मेदवार चयनमा सही निर्णय गर्न नसकेको पनि होला,’ उनले भने, ‘समग्रमा अहिलेको पराजय मुख्यत: गठबन्धन नै हो ।’ एमाले नेता भोजप्रसाद श्रेष्ठले भने दुई नेताको बीचमा जोडिएको आन्तरिक प्रतिस्पर्धा निर्वाचनसँग नजोडिने बताए । ‘कांग्रेसले घोषणा गरेको अस्थायी राजधानी एमालेले जोगाउन नसक्नु र निर्वाचितले विकाससँग जनतालाई जोड्न नसक्नु नै पराजयको मुख्य कारण हो,’ उनले भने, ‘हामीले अघिल्लो पटक राजधानी यहीं राख्छौं भनेर भोट मागेकै हो, राख्न नसकेपछि जनताले पत्याएनन् ।’

एमालेका एक नेताका अनुसार वीरगन्ज महानगर जित्नेमा सबैभन्दा ढुक्क ओली थिए । ओली आफैंले विजय सराबगीसहित धेरै कार्यकर्तालाई पार्टी प्रवेश गराएका थिए । पहिला नै एमाले बलियो रहेको र सराबगी बलिया उम्मेदवार भएकाले सहज जित हासिल गर्ने आकलन उनको थियो । तर नवप्रवेशी सराबगीले टिकट पाएपछि एमालेका पुराना कार्यकर्ताले अन्तै भोट दिएकोले गठबन्धन बलियो भएको ती नेताको भनाइ छ । ‘सराबगीसँग ठूलो संख्यामा मान्छे प्रवेश गरेको साँचो हो, उनीसँग भएको मत र एमालेको शक्ति जोड्दा जितिन्छ भन्ने रिपोर्टिङ थियो,’ उनले भने, ‘अध्यक्षलाई पनि वीरगन्ज सुनिश्चित भन्ने थियो तर प्रवेश गरेका मान्छे कहाँ गए, खोइ ? त्यहाँ पनि अचम्म भयो ।’ जारी मतगणनामा सराबगी गठबन्धनका उम्मेदवारभन्दा निकै पछाडि छन् ।

एमालेले जित्ने आकलन गरेको काठमाडौं महानगरमा पनि हो । ‘साँच्चै भन्ने हो भने उम्मेदवार नभएरै केशव स्थापितलाई उठाइएको हो, भइराखेको (विद्यासुन्दर शाक्य) पनि त्यति प्रभावकारी देखिएनन्, अरू पनि खासै बलिया भएनन्,’ एमालेका अर्का एक नेताले भने, ‘बरु ०५४ सालमा जितेको र केही न केही काम गरेको भनेर केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो । उहाँलाई उम्मेदवार बनाउँदा पार्टीभित्र असन्तुष्टि देखिएको थियो तर उहाँ आफैं विवादित हुनुभयो ।’ स्थापितलाई निवर्तमान मेयर शाक्यले सहयोग गरेनन् भने एमाले सांसद रामवीर मानन्धरले खुला रूपमा विरोध गरे । यी दुवै नाम महानगरमा मेयर उम्मेदवारका लागि सिफारिस भएका थिए ।

गठबन्धन र एमाले दुवैले प्रतिष्ठाको विषय बनाएको भरतपुर महानगरमा एमालेले प्रदेश सांसदबाट राजीनामा गर्न लगाएर विजय सुवेदीलाई मेयर उम्मेदवार बनाएको थियो । कांग्रेसभित्र अन्तरविरोध र बागी उम्मेदवारी परेका कारण सुवेदी रेनु दाहालभन्दा बलिया उम्मेदवार रहेको विश्लेषण एमालेको थियो । अर्कोतिर तत्कालीन माओवादी नेता रामबहादुर थापासहित केही नेता–कार्यकर्ता पार्टीमा आएकाले यसपटक भरतपुर महानगरमा जित हासिल गर्न सहज हुने विश्वास नेताहरूमा थियो । त्यसमाथि एमालेले राप्रपासँग तालमेल पनि गरेको थियो । तर, जारी मतगणनामा सुवेदी दाहालभन्दा करिब ६ हजार मतान्तरले पछि छन् ।

एमाले बलियो भएका वडाबाटै ६ पदमा सूर्य र मेयरमा मात्रै हँसिया हतौडामा छाप लगाइएका मत भेटिएको प्रतिनिधिहरूले बताएका छन् । आफ्नो बलियो पकड क्षेत्र मानिएका वडामै सुवेदीले कम मत पाएका छन् । भरतपुरमा खासगरी तत्कालीन माधवकुमार नेपाल समूहनिकट मानिने र पार्टी विभाजनका बेला १० बुँदे सहमतिमार्फत एमालेमा रहेका नेताहरूबाट अपेक्षाकृत सहयोग नपाएको ओलीपक्षीय नेताहरूको दाबी छ । ‘हामीले लिड गर्छौं भनिएका वडामा पनि रेनुले नै लिड गर्नुमा अन्तर्घात कारण हो,’ ओलीनिकट एक नेताले भने, ‘कोबाट र कसरी भयो भन्नेचाहिँ समीक्षा गर्दै छौं ।’ अर्कोतर्फ राप्रपासँग तालमेल गरे पनि भोट नआएको एमालेको बुझाइ छ ।

धनगढीमा केन्द्रको हस्तक्षेपलाई चुनौती

गुटबन्दी, अन्तरद्वन्द्व, टिकट वितरणमा पार्टीका तल्ला निकायको उपेक्षा र विशेष गरी प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु देउवाको हस्तक्षेपकारी भूमिकाका कारण कांग्रेसले सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढीको नेतृत्व गुमाउने पक्कापक्की भएको छ ।

गत निर्वाचनमा बहुमत वडासहित जित हासिल गरेको कांग्रेस यसपटक प्रदेश राजधानी रहेको उपमहानगरमा वडामै सीमित हुने देखिएको छ । शनिबार साँझसम्मको मतगणनाअनुसार स्वतन्त्र उम्मेदवार गोपाल हमाल दोब्बर मतले अगाडि छन् । हमालले २४ हजार ५ सय २९ मत ल्याउँदा गठबन्धनका कांग्रेस उम्मेदवार नृप वडले १२ हजार ७ सय ७१ मत ल्याएका छन् ।

प्रदेशका अन्य जिल्लामा गठबन्धन हुन नसके पनि प्रधानमन्त्रीपत्नी आरजुको चुनावी क्षेत्र भएका कारण शीर्ष नेताहरूले केन्द्रमै सहमति गरेर कैलालीमा गठबन्धन गर्ने निर्णय गरेका थिए । आरजु गत निर्वाचनमा कैलाली–५ बाट संघीय सांसदमा पराजित भएकी थिइन् । आउँदो संसदीय निर्वाचनलाई लक्षित गरी कांग्रेसले कैलालीमा गठबन्धन गरे पनि कार्यकर्ताले नरुचाएको देखिएको छ । ‘यो सबै ठाउँमा पद, शक्ति र सत्ताको दुरुपयोग गर्नु हुँदैन भन्ने तथ्यलाई बुझ्न नसकेको अवस्था हो,’ कांग्रेस नेता सुरत रावल भन्छन्, ‘पार्टीभित्रका आन्तरिक प्रतिस्पर्धादेखि सत्ता सञ्चालनमा शक्ति र सत्ताको दुरुपयोग भयो भने कार्यकर्तामा वितृष्णा फैलिन्छ भन्ने तथ्य बुझ्न आवश्यक छ ।’ पार्टीको गत अधिवेशनमा नेतृत्व तहबाट भएको हस्तक्षेप र लगत्तै भएको स्थानीय तहमा टिकट वितरणमा गरिएको मनपरी पनि कांग्रेसले आफ्नो वर्चस्व गुमाउने कारणमध्ये प्रमुख कारण ठान्ने नेता/कार्यकर्ता धेरै छन् ।

प्रधानमन्त्रीपत्नी आरजु देउवाका प्रिय पात्र हुन्, नृप वड । जिल्लास्तरमा व्यापक छलफल र सहमति नखोजेरै केन्द्रबाट सिधै टिकट लिएर आउनु, आरजुको निर्वाचन क्षेत्र भएकाले कार्यकर्ताको चाहनाभन्दा पनि उनको चाहनाले टिकट दिइनु, निर्वाचनभन्दा अघि भएको कांग्रेसको अधिवेशनमा पनि केन्द्रबाटै नेतृत्व जिताउने, हराउने खेल हुनुले पनि सत्ता गठबन्धनलाई कांग्रेसभित्रै चुनौती थपिएको हो । कांग्रेसको गत अधिवेशनमा सभापतिका उम्मेदवार रहेका प्रकाश बम र नारायण भट्टबीच स्वस्थ प्रतिस्पर्धा हुन नदिइएको आरोप कांग्रेस कार्यकर्ताको छ । कैलालीको कांग्रेस राजनीतिमा आरजुको हस्तक्षेपलाई धेरैले अहिलेको चुनावी स्थितिसँग जोडेर हेरेका छन् । ‘नेताको गलत कार्यशैलीप्रति कार्यकर्ताले आलोचना गर्दा राजनीति नै समाप्त गरिदिने परिपाटीविरुद्धको निर्वाचन हो यो,’ युवा पुस्ताका एक कांग्रेस नेता भन्छन्, ‘यो निर्वाचनलाई आरजु देउवाको कार्यशैलीविरुद्धको जनमतका रूपमा अर्थ्याउन सकिन्छ ।’

गत निर्वाचनमा नृप वडका लागि घरदैलोमा संलग्न पुराना नेता पुष्करनाथ ओझा यसपटक कांग्रेसमा छैनन् । उनलाई गत संसदीय निर्वाचनमा असहयोग गरेको भन्दै पार्टीले कारबाही गरेको थियो । प्रदेश महामन्त्री र दुई/दुई पटक जिल्ला सभापति भएका नरनारायण शाह (मनु) ले पनि प्रचारप्रसार गर्नैपर्ने दायित्व निर्वाह मात्र गरेको अनुभूति कार्यकर्ताले गरेका छन् । यी दुई नेतामात्र होइन कांग्रेसको गत अधिवेशनमा पराजित भएको समूह पनि यसपटक खुलेर लागेन । जसको परिणाम अधिकांश वडामा कांग्रेस जित्ने तर प्रमुखमा लज्जास्पद हार बेहोर्नुपर्ने देखिएको हो ।

कैलाली कांग्रेसका सचिव नृप सुनार पनि पार्टीभित्रको द्वन्द्व, निर्णय गर्ने परिपाटी केन्द्रमुखी हुनु, पार्टीभित्र सबैलाई मिलाएर लैजाने भावनाको विकास हुन नसक्नु र गठबन्धनभित्र पनि विश्वासको वातावरण बन्न नसक्नुले कांग्रेसले आफ्नो विरासत गुमाउन थालेको बताउँछन् । ‘५ वर्षमा काम नै नभएको होइन तर पार्टी र स्थानीय निकायबीचको समन्वयको अभाव, गत अधिवेशनमा भएको गुटबन्दी र हस्तक्षेपका कारण पनि अहिलेको यो स्थिति आएको भन्न सकिन्छ,’ उनले भने ।

जनकपुरमा निधि फ्याक्टर हाबी

जनकपुर उपमहानगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले मतगणनाको पहिलो दिनदेखि नै अग्रता लिइरहेका वैशाख ९ मा कांग्रेस परित्याग गर्दै भनेका थिए, ‘मेरो उम्मेदवारी जनकपुरमा कांग्रेस र रूख जोगाउनका लागि हो ।’ ०७४ को स्थानीय तह चुनावमा जनकपुरको प्रमुखमा कांग्रेसबाटै उम्मेदवार बनेर दोस्रो धेरै मत ल्याएका साहले त्यसयता आफ्ना गतिविधि निर्वाचनकै पूर्वतयारीमा खर्चिएका थिए ।

जनकपुरको प्रमुख कांग्रेस आफैंले राख्ने कि जसपालाई दिनेमा कांग्रेसभित्र मतभेद थियो । तर, कांग्रेस सभापतिमा चुनौती दिए विमलेन्द्र निधिका मान्छेले टिकट पाउने भएपछि देउवाले जनकपुरमा जोडबलै गरेनन् । बरु, उपप्रमुख लिएर जसपालाई जनकपुरको कमान्ड सुम्पिए । गठबन्धनको निर्णयले यहाँका कांग्रेसी आक्रोशित बने र २५ वटै वडासभापतिले ‘निर्णय नसच्याए राजीनामा गर्ने’ धम्की दिए । बागी उम्मेदवार बनेका साह कांग्रेसको जनकपुर नगर सभापति थिए । गत माघमा निधिले उनलाई सर्वसम्मत रूपमा नगर सभापति बनाएका थिए ।

गठबन्धनबाट जसपाका लालकिशोर साह प्रमुख र कांग्रेसका किशोरी साह उपप्रमुखको उम्मेदवार टुंगो लागेपछि मनोज साह भने विचलित भए । गठबन्धनले उम्मेदवारी टुंग्याउन अघिदेखि नै घरदैलो थालिसकेका मनोजको चुनावी अभियानमा अचानक ब्रेक लाग्यो । तर, मनोनयनको दुई दिनअघि उनी फेरि सक्रिय भए, स्वतन्त्र उम्मेदवार बनेर । उनको गाडीमा टाँगिएको चारतारे झन्डा र रूख चिह्न हटाइए । वैशाख ९ को पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘मलाई उम्मेदवारी नदिन उपल्ला नेताबाट धम्की आइरहेको छ तर जनकपुरमा कांग्रेस बचाउन अघि बढ्नेछु ।’

मनोजको यो हिम्मत र हौसलाका पछाडि कांग्रेस नेता निधिको धाप रहेको चर्चा छ । मनोजको उम्मेदवारी फिर्ता गराउन केन्द्रीय दबाबमा निधि जनकपुर आए पनि केही घण्टा यहाँ बिताएर त्यही दिन काठमाडौं फर्किए । निधिले बागी उम्मेदवार साहसित आफ्ना विश्वासपात्र प्रदेश मन्त्री रामसरोज यादवको निवासमा उम्मेदवारी फिर्ताको मामिलामा छलफल गरेका थिए । तर, मनोजले भने आफू अगाडि बढिसकेकाले फिर्ता नहुने अडान लिएपछि निधि काठमाडौं फर्किए । ती नेताका अनुसार निधिले पनि मनोजलाई आफ्नोतर्फबाट उम्मेदवारी फिर्ता लिन ‘फोर्स’ गरेनन् ।

साहले कांग्रेसकै मतले आफूले लिड गरिरहेको बताए । ‘कांग्रेसको मत मतिर डाइभर्ट हुनु स्वाभाविकै हो,’ उनले कान्तिपुरसँग भने, ‘मैले कांग्रेसकै लागि काम गरेको हुँ । संगठन त्यही पार्टीका लागि बनाएँ । अनि उनीहरूले मलाई मत दिनु अस्वाभाविक होइन । मेरो हक लाग्छ ।’ गठबन्धनबाट जनकपुरको प्रमुख पाएको दल जसपाले भने कांग्रेस नेता निधिले बागी उम्मेदवार मनोजलाई सघाएको मात्र होइन, मत माग्न भेलासमेत गरेको आरोप लगाएको छ । ‘निधिले चुनावी सभामा उपमेयर र वडाका कांग्रेस उम्मेदवारको मात्रै मत मागे,’ जसपाका नेता जितेन्द्र यादवले भने, ‘मनोजलाई जिताउन निधिजीले पर्दा पछाडि बसेर सबै काम गरेका छन् । गठबन्धनलाई पूर्ण असहयोग गरे ।’ शनिबार जनकपुर आइपुगेका निधिलाई विमानस्थलमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर जितेकाहरू पनि स्वागत गर्न पुगेका थिए । निधिले टिकट वितरणमा समस्या भएकाले स्वतन्त्र उम्मेदवार धेरै ठाउँमा अगाडि रहेको बताए ।

मधेसमा यादव–पोखरेल टकराव

०७४ को स्थानीय निर्वाचनमा अन्य प्रदेशको तुलनामा राम्रो नतिजा ल्याएको मधेसमा माओवादी केन्द्रले यसपटक अपेक्षाकृत जित हासिल गर्न सकेन । आंशिक रूपमा पाँचदलीय गठबन्धन रहेको भए पनि बहुपक्षीय प्रतिस्पर्धा भएको मधेस प्रदेशमा अहिलेसम्मको परिणामअनुसार माओवादी कांग्रेस, एमाले र जसपापछि चौथो शक्तिका रूपमा माओवादी देखिएको छ । नेताहरूबीचको अन्तरद्वन्द्व र अन्तर्घात पनि मधेसको स्थानीय निर्वाचनमा खराब परिणामका लागि जिम्मेवार देखिएको माओवादीकै नेताको बुझाइ छ ।

मधेस प्रदेशमा गिरिराजमणि पोखरेल र मातृका यादवबीच निर्वाचनमा उपयुक्त समन्वय भएन । यसबाहेक जिल्ला–जिल्लामा पनि नेताहरूबीच चर्को अन्तरविरोध देखिएको मधेस प्रदेशका एक सदस्यले बताए । ‘मधेस प्रदेशमा माओवादीको संगठन नै भएन, खासगरी गिरिराजमणि र मातृकाबीच अन्तरविरोधका कारण निर्वाचनमा घात–अन्तर्घात भयो, त्यसकारण माओवादी कमजोर भयो,’ माओवादीका एक नेताले भने । यी दुई नेताबीच द्वन्द्वका कारण महोत्तरीमा एक पालिका पनि जित्न सकेको छैन । २०७४ मा चार पालिका जितेको थियो । माओवादीले शनिबार साँझसम्म मधेसमा ९ पालिका मात्रै जितेको छ जबकि २०७४ मा २१ पालिका जितेको थियो । माओवादी मधेस इन्चार्ज गणेश साहले मधेसमा पार्टीभित्र अन्तरविरोधले पराजय भोग्नुपरेको बताए ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?