स्थानीय तह निर्वाचन

गुजरा नगरपालिकामा पुन: मतगणना सुरु  

शिव पुरी

रौतहट — मतगणनामा खटिएका कर्मचारीले परिणाम त्रुटि सच्याएपछि रौतहटको गुजरा नगरपालिकाको मतगणना पुन: सुरु भएको छ । घटनापछि गणनामा खटेका केही कर्मचारीहरुलाई हटाइएको छ । उक्त नगरपालिकाको ९ वडामध्ये ५ र ६ नम्बरको मात्र परिणाम आउन बाँकी छ ।

गुजरा नगरपालिकामा पुन: मतगणना सुरु  

दुबै वडाको मतगणना चलिरहेका बेला शनिबार बिहान ५ नम्बर वडामा नगर प्रमुख जनता समाजवादी पार्टीका उम्मेदवार एवम् निवर्तमान नगर प्रमुख शन्तलाल चौधरीको छाता र वडाध्यक्षका स्वतन्त्र उम्मेदवार शेख जमालुद्धिनले पाएको मत परिणाममा तलमाथि भएपछि विवाद भएको हो ।

मतगणनामा खटिएका ईलाका प्रशासन गरुडाका कर्मचारी उपेन्द्र साहले निर्वाचन अधिकृत बद्रिनारायण शर्मा खाना खान गएको बेला आफूखुशी मतपरिणाम सुनाउन लगाएका थिए । स्वतन्त्र उम्मेदवार जमालुद्धिनले पाएको मत २०२ हुनु पर्नेमा कर्मचारीले १८५ मात्र लेखेर सुनाए । त्यस्तै नगर प्रमुखको उम्मेदवार चौधरीले छाता छापमा पाएको १०७ मतलाई बढाएर १८७ बनाएका थिए ।

परिणाम तलमाथि गरेको सार्वजनिक भएलगत्तै स्थानीयले मतगणनास्थल बाहिर दिनभर नाराबाजी, धर्ना र ढुंगामुढा गरे । मतगणनास्थलको स्कुलको गेटसमेत फुटाउने प्रयास गरेका थिए । सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन दुई राउन्ड अश्रुग्यास हानेको थियो । स्थानीयले प्रहार गरेको ढुंगा लागी केही सुरक्षाकर्मी घाइते भए । निर्वाचन अधिकृतले गलत लेखिएको मतपरिणाम सच्याएपछि शनिबार रातिबाट गणना सुरु भएको हो । तर, कांग्रेस, एमाले, एकीकृत समाजवादीले सुरुदेखि सबै मत गन्नु पर्ने माग अघि सारेर निर्वाचन अधिकृतको कार्यालयमा निवेदनसमेत दिएका छन् ।

निर्वाचन आयोगले हालको अवस्थामा सुरुबाट मतगणना गर्न नसकिने भनेपछि बाँकी रहेका वडाको मत गन्न थालेको निर्वाचन अधिकृत शर्माले बताए । दलहरुले अधिकृत शर्माकै कारण विवाद हुने गरेको र मतपरिणाम फरक सुनाउने गरेको आरोप लगाएका छन् । कांग्रेस नेता पवन गिरीले मतगणनामै शंका गर्ने प्रशस्त आधार भएको बताए । निर्वाचन अधिकृतले मतपरिणाम रुजु गरेर हस्ताक्षर गरेपछि मात्र सुनाउनु पर्छ । तर यी सब कुरामा निर्वाचन अधिकृतको लापरबाही देखिएको मतगणनामा खटिएका एक कर्मचारीले सुनाए ।

प्रकाशित : जेष्ठ ७, २०७९ २२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?