कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१
स्थानीय तह निर्वाचन

रुपन्देहीका पालिका उपप्रमुखमा एमालेको वर्चस्व

अमृता अनमोल

बुटवल — रुपन्देहीका स्थानीय तहमा एमालेले आफ्नो साख बचाउन सकेन । अघिल्लो चुनावमा जितेका स्थानमा पनि यसपटक एमालेले पराजय भोग्नु पर्‍यो । प्रमुखमा एमालेले हारेकै स्थानमा पनि उपप्रमुख महिलाले भने जित हात पारेका छन् ।

रुपन्देहीका पालिका उपप्रमुखमा एमालेको वर्चस्व

उपप्रमुखमा तीनवटै नगरमा महिलाले साख जोगाएका छन् । रुपन्देहीमा एक उपमहानगरपालिकासहित ६ नगरपालिका छन् । ती सबैमा अबको ५ वर्ष महिलाहरू उपप्रमुखको रुपमा रहने छन् ।

उनीहरुले स्थानीय सरकार संचालन ऐनको निर्देशनअनुसार भौतिक विकासमात्र होइन मानवीय विकासका लागि पनि व्यवहारिक योजना बनाएर लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘पार्टीले प्रमुख पद गुमाए पनि त्यसको अनुभूति नहुनेगरी काम गर्ने छौं,’ सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले भनिन्, ‘नमुना काम गरेर देखाउने छौं ।’

बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिकामा एमालेबाट उमेदवारी दिएका महिला उपप्रमुखहरु विजयी भइसकेका छन् । जित हासिल गरेको लुम्बिनी सांस्कृतिक नगरपालिकामा घोषणा गर्न बाँकी छ भने मतगणता भइरहेको तिलोत्तमामा जित्ने निश्चितप्राय: छ ।

एमालेले यसपटक ६ नगरमध्ये ४ वटामा प्रमुख पद बचाउन सकेन । गठबन्धन बनाएर चुनावमा उत्रेको कांग्रेसले ती नगरका प्रमुख पद जितेको छ । प्रमुखले हारेका स्थानमा पनि एमालेका महिला उम्मेदवारले उपप्रमुख पद भने जितेका छन् ।

एमालेको प्रभाव क्षेत्र मानिने बुटवल उपमहानगरपालिकाको प्रमुखमा एमालेका बाबुराम भट्टराईले ७ हजार ५ सय ३३ मतले हारे । यही नगरमा उपप्रमुखमा सावित्रादेवी अर्यालले भने एकीकृत समाजवादीका चीनबहादुर गुरुङलाई ७ हजार ९ सय २४ मतले पछाडि पारिन् । ‘महिला भएका कारण महिला मतदाताहरु त पक्षधर हुनुहुन्थ्यो नै । मैले राजनीतिक क्षेत्र मात्र होइन शिक्षा, सामाजिक र संचार क्षेत्रमा गरेको योगदानको पनि कदर भयो भन्ने लाग्छ,’ अर्यालले भनिन् ।

सिद्धार्थनगर नगरपालिकामा प्रमुख पद एमालेले गुमायो । तर उपप्रमुखमा उमा अधिकारीले करिब २ हजार ३ सय मतसहित जित हासिल गरिन् । एमालेको प्रभाव क्षेत्र मानिने सैनामैना नगरपालिकामा प्रमुख पद जोडिएन । उपप्रमुखमा विना रानाले भने दोस्रो कार्यकालका लागि समेत आफूलाई अब्बल सावित गरिन् ।

देवदह नगरपालिकाकी विद्यालक्ष्मी गुरुङ दोस्रो कार्यकालका लागिसमेत जित हासिल गरिन् । प्रमुखका लागि दाबी गरे पनि नपाएपछि उनी उपप्रमुखमै उठेकी थिइन् । यद्यपि यस नगरपालिकामा प्रमुख पद पनि एमालेले जितेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा प्रमुखमा कांग्रेसले जित्दा उपप्रमुखमा एमालेकी कल्पना हरिजन विजयी भइन् । २८ वर्षीया दलित महिला युवाको प्रतिनिधित्व गर्दै चुनावमा होमिएकी थिइन् ।

मतगणना भइरहेको तिलोत्तमा नगरपालिकामा एमालेका तर्फबाट उपप्रमुख उम्मेदवार जगेश्वरी चौधरी निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमलाल पाण्डेभन्दा करिब ४ हजार मतले अघि छिन् । दोस्रो कार्यकालका लागि उपप्रमुखमा उम्मेदवारी दिएको उनको जित्ने आधार तय भइसकेको छ ।

प्रकाशित : जेष्ठ ७, २०७९ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?